‘एमाओवादीले जनतालाई अपमानित गरेको छ’

congress_officeकाठमाडौं, ६ मंसिर । कांग्रेसले मध्यराति एमाओवादीले हठात् र रहस्यमयढंगले आफ्नाप्रतिनिधिहरु फिर्ता बोलाई मतगणना बहिष्कार गरेर जनतालाई अपमानित गरेको टिप्पणी गरेको छ ।

उपसभापति रामचन्द्र पौडेलले आज (बिहीबार) सानेपामा पत्रकार सम्मेलन गरेर जनादेशलाई स्वीकार गरेर जिम्मेवारी र भूमिकानिर्वाह गर्नु पर्ने बताए । ‘निर्वाचनमा आफू धेरै पछि परेको प्रष्ट भएपछि गरिएको यो निर्णयले एमाओवादीको अलोकतान्त्रिक चरित्र एक पटक फेरि उदाङ्गो भएको छ,’ उनले भने ।

‘निर्वाचन प्रकृयामा सहभागी भएपछि त्यसको परिणाम अस्वीकार गर्नु राजनैतिक, नैतिक, विधि, परम्परा एवं लोकतान्त्रिक मूल्य र मान्यताको दृष्टिले समेत अनुचित हुन्छ,’ कांग्रेसले भनेको छ ।

कांग्रेसले आफू सहभागी भएको जनमत संग्रह होस् वा २०६४ सालको संविधानसभाको चुनाव होस्—आफ्नो प्रतिकूल आएको अप्रत्याशित नतिजालाई पनि स्वीकार गरेको जनाएको छ ।

नेताहरुले सधैं ‘पार्टी हारे पनि देश हार्नु हुँदैन’ भन्ने सन्देश दिनु पर्ने कांग्रेसले जनाएको छ । ‘कांग्रेसले जनताको अभिमतको सधै सम्मान र पालनागरी आएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘एमाओवादीलाई आफ्नो आवेशपूर्ण र अलोकतान्त्रिक निर्णयलाई सच्याई मतगणना कार्यमा सहभागी भई जनताको सार्वभौमसत्ता स्वीकार गर्न आग्रह गर्दछौं ।’

प्रतिक्रिया