फोहोरबाट विद्युत् निकाल्न दुई कम्पनीलाई अनुमतिपत्र

काठमाडौं, ६ मंसिर । ‘फोहोरलाई मोहोर’ बनाउन सकिन्छ भन्ने मान्यताका आधारमा सरकारले दुई निजी कम्पनीलाई फोहोरबाट ऊर्जा उत्पादनको सम्भाव्यता अध्ययन गर्न अनुमति दिएको छ । सरकारले पछिल्लो पटक पोखरा उपमहानगरपालिकाबाट उत्पादन हुने फोहोरबाट ७.९ मेगावाट विद्युत् उत्पादन गर्न गोल्ड रस कम्पनी प्रालिलाई सर्वेक्षण अनुमति दिएको हो ।

विद्युत् विकास विभागका सूचना अधिकृत गोकर्णराज पन्थका अनुसार फोहोरलाई मोहोर बनाउने प्रविधि नेपालमा भित्रयाउन सकिन्छ भन्दै निजी क्षेत्रले चासो देखाएपछि सर्वेक्षण अनुमति दिइएको हो । सूचना अधिकृत पन्थका अनुसार गोल्ड रसलाई एक वर्षभित्र सम्भाव्यता र वातावरणीय अध्ययन सम्पन्न गर्ने गरी अनुमतिपत्र दिइएको छ । ‘एक वर्षभित्र गोल्ड रसले गर्ने अध्ययनलाई हेरेर उसले काम गर्नसक्ने नसक्ने पनि निक्र्यौल हुन्छ,’ सूचना अधिकृत पन्थले भने, ‘गोल्ड रसलाई केही दिन पहिले सम्भाव्यता अध्ययनका लागि अनुमतिपत्र दिइएको हो ।’
यसअघि सरकारले काठमाडौँ महानगरपालिकाबाट उत्पादन हुने फोहोरबाट ३.५ मेगावाट विद्युत् निकाल्ने कार्ययोजनाअनुसार बालाजी बायोमास एन्ड बिक्रेट पावर कम्पनीलाई सम्भाव्यता अध्ययनको अनुमतिपत्र दिएको थियो । एक वर्षअघि सो कम्पनीले अनुमतिपत्र लिए पनि प्रभावकारी रूपमा काम गर्न नसकेको बताइन्छ ।
सरकारले सो कम्पनीलाई दुई वर्षका लागि सम्भाव्यता अनुमतिपत्र दिएको छ । पोखरा उपमहानगरपालिकाबाट उत्पादन हुने फोहोरभन्दा काठमाडौँ महानगरपालिका उत्पादन हुने फोहोर बढी हुने भएकाले बढी विद्युत् उत्पादन हुने बताइन्छ । सूचना अधिकृत पन्थले भने, ‘काठमाडौँ महानगरपालिकाको फोहोर बढी भएकाले बढी नै विद्युत् उत्पादन हुनसक्छ भन्ने हाम्रो बुझाइ छ । सोहीअनुसार काम गर्न हामीले बालाजी बायोमास एन्ड बिक्रेट पावर कम्पनीलाई निर्देशन दिइएको छौँ ।’

प्रतिक्रिया