विराटनगर : मोरङ जिल्लाका एक कबाडी व्यापारी रकम बुझाएर भारतको पश्चिम बंगालबाट अपहरण मुक्त भएका छन् । विराटनगर–७ बस्ने २५ वर्षीय कवाडी व्यापारी गंगा सहनी कवाडी व्यापारको सिलसिलामा भारतको पश्चिम बंगाल माल्दह सुर्जापुरमा सोही स्थानका वक्कर मियाँ, अब्दुल हलिम र मोहम्मद हुसेनले कात्तिक ३ गते अपहरण गरी सोही ठाउँको एक घरमा बन्धक बनाइ राखेका थिए ।
अपहरणकारीलाई भारतीय रुपियाँ एक लाख ६० हजार बुझाएपश्चात मंसिर ३ गते आफू मुक्त भएको व्यापारी सहनीले बताएका छन् । अपहरणको क्रममा आफूमाथि कुटपिट गरिनुका साथै मानसिक यातनासमेत दिएको अपहरित व्यापारी सहनीले बताए । यस सम्बन्धका कवाडी व्यापार संघका साथै अपहरणमुक्त व्यापारी सहनीले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरीसमेत दिएका छन् । कवाडी व्यापारको सिलसिलामा भारत ओहोरदोहोर गरिरहनुपर्ने नेपाली व्यापारी त्यस क्षेत्रमा असुरक्षित हँुदै आएका छन् । (सौस)
प्रतिक्रिया