कतारमा कामदारलाई भेडाबाख्राको व्यवहार

amnestyकाठमाडौं, ६ मंसिर । सन् २०२२ को विश्वकप फुटबल आयोजक कतारमा विदेशी कामदारलाई भेडाबाख्राको व्यवहार गरिएको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ । एम्नेस्टीले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा कतारमा आप्रवासी कामदारको मृत्यु, रोग र शोषण बढिरहेको उल्लेख गरिएको छ ।

फिफाका अध्यक्ष स्टेप ब्लाटेरले कतार भ्रमण गर्नुभन्दा एकसाता अगाडि आएको प्रतिवेदनमा कतारमा ‘विदेशी कामदारलाई बधुवा मजदुर बनाइएको’ उल्लेख छ । ‘कतारको निर्माण क्षेत्रमा सह–करारको जंजालले आधुनिक युगमा दास प्रथा मौलाइरहेको छ,’ एम्नेस्टीले भनेको छ ।
विश्व कप फुटवलका लागि कतारमा पूर्वाधारका ठूला आयोजना निर्माणाधिन छन् । ती ठूला आयोजनामा काम गर्ने कामदार अझ बढी शोषित भएका छन् । हालैका दुई छानबिन र विदेशी कामदारसँग गरिएको अन्तर्वार्तामा आधारित प्रतिवेदनमा सानो स्थानमा धेरै कामदार राखिएको, पानी र शौचालयको व्यवस्था नभएको उल्लेख छ । ‘देशमा ऋण लिएर विदेश गएका कामदार मानसिक तनाबमा बधुवा मजदुर जस्तो काम गरिरहेका छन्,’ एम्नेस्टीले भनेको छ, ‘तनावका कारण आत्महत्या समेत बढेको छ ।’
कतारी कम्पनीका एक व्यवस्थापकलाई उद्धृत गर्दै प्रतिवेदनमा लेखिएको छ, ‘कामदारलाई भेडाबाख्राजस्तो व्यवहार गरिन्छ ।’ फिफा सम्बद्ध आयोजनामा काम गर्ने नेपाली कामदारले यसलाई पुष्टि गरेका छन् । नेपाली कामदारलाई जनावरको व्यवहार छ, कामदार ४५ डिग्री सेल्सियसको गर्मीमा हप्तामा सातै दिन १२ घन्टासम्म काम गर्न बाध्य छन् ।
कतारमा करिब छ लाख नेपाली काम गर्ने अनुमान गरिन्छ । मलेसियापछि नेपाली कामदारमाझ कतार दोस्रो ठूलो गन्तव्य हो । विगत चारपाँच वर्षमा कतार नेपालीका लागि ‘मृत्यु शैय्या भएको समाचार प्रकाशित हुँदै आएको थियो । कतारमा प्रत्येक वर्ष दुई सयभन्दा नेपाली कामदारको मृत्यु भइरहेको छ । त्यसमा आत्महत्या र राति सुतेपछि रहस्यमय मृत्यु हुने क्रम निकै बढी छ ।
कतारको श्रम कानुनअनुसार, कामदारलाई दिनमा बढीमा १० घन्टासम्म काममा लगाउन सकिन्छ । गर्मीयाममा दिउँसो ११:३० देखि ३ बजेसम्म कसैलाई काममा लगाउन सकिँदैन । गत महिना गार्जियनले गरेको एक अनुसन्धानमा नेपाली कामदारको मृत्यु शोषण र तनावबाट भएको उल्लेख थियो । उक्त अनुसन्धानले कतारमा कामदारको स्थिति यथावत रहे विश्व कप फुटबल सुरु हुदाँसम्म चार हजार कामदारको मृत्यु हुनसक्नेप्रति सचेत गराएको थियो ।
गार्जियनको अनुसन्धानमुलक समाचार सार्वजनिक भएपछि फिफाका अध्यक्ष ब्लाटरले आफू दोहा गएर अमिर शेख तामिम बिन हमादसँग भेटी विदेशी कामदारको मुद्दा उठाउने बाचा गरेका थिए । आफ्नो दोहा भ्रमणमा कामदारको सुरक्षा र अधिकारको क्षेत्रमा प्रगति भए नभएको निरीक्षण गर्नेछन् ।
एम्नेस्टीको प्रतिवेदनमा कतारमा विद्यमान काफला प्रणालीले विदेशी कामदारलाई ‘शोषण गर्न र फन्दामा पार्ने’ काम गरेको भन्दै ध्यानाकर्षण गराएको छ । नोभेम्बर २०११ मा फिफाका महासचिव जेरोम भाल्केले कतारी उच्च अधिकारीसँग भेट गरी कामदारको अवस्थामा सुधार गर्न अनुरोध गरेका थिए ।
एम्नेस्टीको प्रतिवेदन ‘डार्क साइड अफ माइग्रेसन : स्पोटलाइट अन कतार्रस कन्सट्रक्सन सेक्टर अहेड अफ दि वल्र्ड कप’ अक्टोबर २०१२ र मार्च २०१३ बीचको अवधिमा गरिएका अध्ययन, अवलोकन समेटिएका छन् । कतारको सर्वोच्च समितिले तयार गरेको सुधार कार्यक्रमले स्टेडियमबाहेकका अन्य निर्माणलाई नसमेटेको भन्दै त्यसको सुधार गर्न अनुरोध गरेको छ ।
निर्माण क्षेत्रमा काम गर्ने विदेशी कामदारलाई हेलमेटसम्म नदिइएको अवस्था फेला परेको एम्नेस्टीले जनाएको छ । दोहास्थित ट्रमा अस्पतालका अधिकारीलाई उदधृत गर्दै प्रतिवेदनमा भनिएको छ, ‘सन् २०१२पछि उचाईंबाट खसेर घाइते भएका एक हजारभन्दा बढी कामदार उक्त अस्पतालमा भर्ना भएका थिए । त्यसमा १० प्रतिशत शारिरिक रूपमै असक्त भए ।’
एम्नेस्टीका अनुसन्धानकर्ताले विदेशी कामदार फोहरको डुंगुरमा बस्नु परेको, खानेपानी नभएको, सुत्ने ठाउँ नभएको जस्ता समस्या आफ्नै आँखाले देखेका थिए । केही कामदारलाई रोजगारदाताले ब्ल्याकमेल गरेको कुरा पनि उल्लेख छ, ‘११ जना कामदारले घर फर्कन पासपोर्ट मागेपछि उनीहरूलाई बलपूर्वक तलब पाइसकेको कागज गराइयो ।’
‘वश्वको एउटा धनी राष्ट्र, धेरै विदेशी कामदार राख्ने राष्ट्रले बलपूर्वक कामदारको शोषण गर्छ, तलब दिँदैन र बाच्नका लागि प्रत्येक पल संघर्ष गर्नुपर्ने स्थिति स्वीकार्य हुन सक्दैन,’ एम्नेस्टीका महासचिव शलिल सेठीले भने, ‘हामी निस्कर्षमा कामदारको शोषण चिन्तजनकस्थितिमा पुगिसकेको छ । हामीलाई विश्व कप फुटबलको निर्माण आयोजनामा कामदारको शोषण सहन हुन सक्दैन ।’
प्रतिवेदन तयार गर्ने क्रममा एम्नेस्टीले दुई सय १० विदेशी कामदारसँग अन्तर्वार्ताका साथै कतारी अधिकारीसँग १४ पटक बैठक गरेको थियो । विश्व कप फुटबलका कारण निर्माण क्षेत्रमा आएको बहारबाट करिब बहुराष्ट्रिय कम्पनीले दुई सय २० अर्ब अमेरिकी डलर फाइदा गर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया