थवाङमा शून्य मतदान

Rolpa-Ko-Thawangकाठमाडौं, ५ मंसिर । माओवादीले चलाएको १० वर्षे सशस्त्र युद्धको उद्गमस्थलका रुपमा अझै रोल्पाको नाम लिइन्छ । पहिलो संविधानसभा चुनावमा रोल्पाका बासिन्दाले माओवादी नेताहरुलाई जिताएर पनि पठाए । त्यही जिल्लाको थवाङमा भने यसपटक शून्य मतदान भएको छ ।

रोल्पा सदरमुकाम लिवाङबाट दुई दिनको पैदल दूरीमा रहेको थबाङ गाविसमा १८७८ मतदाता छन् । तर, ती सबै मतदाता कोही पनि यो चुनावमा सहभागी भएनन् । मंगलबार बिहानबाटै कर्मचारी तथा सुरक्षाकर्मी खटिए पनि कोही मतदाता भोट हाल्न नआएपछि मतदानमा खटिएका कर्मचारी रित्तो मतपेटिका लिएर फर्किनुपर्‍यो ।
थवाङ गाविसको बलभद्र उच्च माविमा ३ वटा मतदान केन्द्र तय गरिएको भए पनि मतदान समयावधिभर त्यहां मतदाताको उपस्थितिमा खडेरी नै पर्‍यो । प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले थवाङमा एक जना पनि मतदानमा सहभागी नहुनु अपवाद भएको प्रतिक्रिया दिए । ‘रोल्पा जिल्लाको थवाङ गाविसमा कुनै पनि मतदाताले मतदान गरेनन्,’ प्रमुख आयुक्त उप्रेतीले भने, ‘उक्त घटनालाई हामीले अपवादका रुपमा लिएका छौं ।’
गृहसचिव जनार्दन नेपालले भने थवाङमा शून्य मतदान नभएको दाबी गरे । सुरुमा कोही नआए पनि पछि स्थानीय प्रशासनको सहकार्यमा केही मत खसेको उनको दाबी छ ।
थवाङबासीले २०३८ सालमा भएको पञ्चायती चुनावमा खाली मतपेटिका फिर्ता पठाएका थिए । वाम विश्लेषकहरुका अनुसार थवाङका सबै बासिन्दा २०१५ सालमै कम्युनिस्ट पक्षमा थिए । जनमत संग्रहमा पनि उनीहरुले बहुदलमा मतदान गरे । पछिल्लो सशस्त्र द्धन्द्धकालमा थबाङमा सरकारी उपस्थिति कमै भयो । भीषण अप्रेसनका नाममा मात्र थवाङमा तत्कालिन राज्यका सेना र प्रहरी पुग्ने गर्थे । त्यस बेला सेनाको आक्रमणबाट ३३ जना मारिए । थबाङका १९ सर्वसाधारणको घर खरानीमा परिणत भएको थियो । धेरै महिला बलात्कृत भए । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, बाबुराम भट्टराई र मोहन वैद्यलाई हुर्काउने, लुकाउने, र पाखा पखेरीमा घुमाउने मुख्य जिम्मा थबाङले नै लिएको थियो । थवाङवासी हाल दाहाल नेतृत्वको माओवादीसंग भने सन्तुष्ट देखिएनन् । उनीहरुले पार्टी विभाजन नहुँदै दुई लाइन संघर्षकै बेला दाहाललाई बाससमेत दिएका थिएनन् ।

प्रतिक्रिया