आफैँलाई भोट दिन नपाएका नेता

Puspakamal-Dahal-Tiharकाठमाडौं, ५ मंसिर । दोस्रो संविधानसभा चुनावमा मंगलबार कुन–कुन उम्मेदवार नेताले आफैंलाई भोट हाल्न पाएनन् ? एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललगायत केही नेताले आफू मतदाता रहेको क्षेत्रभन्दा फरक ठाउबाट उम्मेदवारी दिएकाले आफैंलाई भोट हाल्ने अवसर गुमाएका छन् ।

एमाओवादी अध्यक्ष दाहालले चितवन क्षेत्र नम्बर ३ मा पर्ने भरतपुरको लक्ष्मी उच्च माध्यमिक विद्यालय लंकु केन्द्रमा भोट हाले । दाहालको उम्मेदवारी भने भने काठमाडौं क्षेत्र नम्बार १० र सिराहा क्षेत्र नम्बर ५ मा परेको छ । एमाओवादीकै नेता डा. बाबुराम भट्टराई गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार रहेकोमा उनले क्षेत्र नम्बर १ मा भोट हाल्नुपर्‍यो । नेता भट्टराईले रुपन्देही ४ बाट समेत चुनाव लडेका छन् । उनले अघिल्लो संविधानसभा चुनावमा भने २ मै उम्मदेवार बनेर आफूलाई नै भोट खसाल्न पाएका थिए । एमाओवादीका अर्का नेता नारायणकाजी श्रेष्ठ पनि आफूलाई भोट हाल्न नपाउने अभागी नेता बनेका छन् । मकवानपुर २ बाट उम्मेदवारी दिएका श्रेष्ठले गोरखा क्षेत्र नम्बर २ मा भोट खसाले ।
झापा क्षेत्र नम्बर ७ मा उम्मेदवार रहेका एमाले नेता केपी शर्मा ओलीले भक्तपुर क्षेत्र नम्बर २ मा पर्ने बालकोट गाविसस्थित महेन्द्र शान्तिमाध्यमिक विद्यालयमा रहेको केन्द्र र इलाम क्षेत्र नम्बर २ का एमाले उम्मेदवार तथा पूर्वसभामुख सुवास नेम्वाङले क्षेत्र नम्बर ३ मा पर्ने इलाम नगरपालिका–२ स्थित बालमन्दिर प्राविको ‘ख’ केन्द्रमा मत खसाले ।
कसले कहाँ भोट हाले ?
बाँके ३ मा उम्मेदवारी दिएका कांग्रेस सभापति सुशिल कोइरालाले त्यही क्षेत्रमा पर्ने नेपालगन्जस्थित जिल्ला वन कार्यालय केन्द्रमा मत खसाले । कोइराला चितवन क्षेत्र नम्बर ४ बाट समेत उम्मदेवार बनेका छन् । कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले भने डडेल्धुराको असिग्राम उच्च माविस्थित मतदान केन्द्रमा मत खसाले । उनले कैलाली क्षेत्र नम्बर ६ बाट समेत उम्मेदवारी दिएका छन् । काग्रेस उपसभापति रामचन्द्र पौडेलले आफ्नै क्षेत्र तनहु २ को दमौलीस्थित सत्यवती उमावि ‘ख’ केन्द्रमा भोट हाले  ।
एमाले अध्यक्ष झलनाथ खनालले भने इलाम क्षेत्र नम्बर १ मा पर्ने फिक्कलस्थित केन्द्रमा भोट दिए । खनालको सर्लाही क्षेत्र नम्बर १ बाट समेत उम्मेदवारी परेको छ । काठमाडौं २ र रौतहट १ बाट उम्मेदवारी दिएका एमाले बरिष्ठ नेता माधवकुमार नेपालले रौतहटमा आफ्नै क्षेत्र गौर ३ स्थित रामजानकी कन्या मन्दिर प्रावि मतदान केन्द्रमा मत खसाले ।
त्यसैगरी, उपराष्ट्रपति परमानन्द झाले काठमाडौं क्षेत्र नम्बर ४ को गुह्येश्वरीस्थित सेतोसत्तल मतदान केन्द्रमा र अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले काठमाडौं क्षेत्र नम्बर १ मा पर्ने बानश्वेर हाइटस्थित सानोगौचरण मतदान केन्द्रमा मतदान गरेका थिए । राष्ट्रपति डा. रामवरण यादवले भने तटस्थता बस्ने भोट नहालेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया