चुनावका दिनका केही घटना

काठमाडौं : दोस्रो संविधानसभा छिटपुट घटनाबाहेक ऐतिहासिक सफल भएको दावी निर्वाचन आयोगले गरेको छ । संविधानसभाको निर्वाचनमा सहभागी हुने क्रममा मंगलबार केही रोचक र केही नमिठा घटनाअगाडि आए ।
निर्वाचनकै दिन बिहान काठमाडौंको भोटेबहालमा बम विष्फोट भयो जसमा तीन बालक घाइते भए । त्यस्तै वीरगन्जमा एक वृद्धको मतदान सक्नेवित्तिकै मृत्यु भयो । विभिन्न अवस्थामा रहेका मतदाताले पनि संविधानसभाको निर्वाचन प्रक्रियामा सहभागीता जनाए ।
पर्वतमा दश घन्टाको सुत्केरीले पनि मतदान गरिन्् । लिमिठानाकी पवित्रा रेग्मीले सुत्केरी भएको १० घन्टामा मतदान गरेकी छन् । सुत्केरी भएको १० घन्टामा लिमिठाना मावि ‘ख’ मतदान केन्द्रबाट गाविसको वडा नम्बर ७ की रेग्मीले मतदान गरेकी हुन् । पर्वतकै शंकरपोखरीका शिवप्रसाद भुसालले कोराबाट निस्केर मतदानमा सहभागिता जनाएका छन् ।
शंकरपोखरी गाविसमा सञ्चालित त्रिभुवन उच्च मावि मतदान केन्द्रमा किरियापुत्री भुसालले मतदान गरे । यता बैतडीमा एक सय वर्ष नाघेका ४ मतदाताहरूले मत खसालेका छन् । सिगासका १ सय १५ वर्षीय हरूवा धामीले सिगास उमावि रक्सौल ‘क’ केन्द्रमा मत खसाले । शिखरपुरमा ११० वर्षीया पशुपति साउदले पनि मतदान गरे । भुमेश्वर मावि ठाड मतदान केन्द्रमा १०४ वर्षीया मानमती भट्टले पनि मतदान गरेका जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । बैतडीकै दशरथचन्द नगरपालिका ६ निवासी १ सय १ वषीर्या द्रौपदी साउदले थाचौर मतदान केन्द्रमा मतदान गरेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
कञ्चनपुरको क्षेत्र १ मा पर्ने त्रिभुवन बस्ती गाविसको ३ जीवनज्योतीमा १०१ वर्षीया पवित्रा उपाध्यायले मतदान गरेकी छन् । दैलेख नारायण नगरपालिका ६ का ७२ वर्षीय राजाराम न्यौपानेको पनि मतदान गरेर फर्कने क्रममा मृत्यु भएको छ । सर्लाहीको क्षेत्र नम्बर १ मा पर्ने भक्तिपुरमा भोट खसालेर फर्कंदै गरेका एक वृद्धको पनि अचानक मृत्यु भएको छ । वडा नम्बर ९ मा रहेको प्रावि मियाँखोर मतदान केन्द्रमा भोट हालेर अलि पर पुग्ने वित्तिकै ८० वर्षका सीताराम साह तेलीको मृत्यु भएको हो ।
सर्लाहीकै मुतिर्यामा एक जना किरियापुत्रीले पनि मतदान गरे । सोमबार राति आमाको मृत्यु भए पनि मुतिर्या ३ का पानबहादृुर लामा मतदानमा सहभागी भएका थिए । अछामको बाब्ला गाविसमा मतदान गर्न गएकी एक महिलाले बच्चा जन्माएकी छन् । गाविसको ‘ख’ मतदान केन्द्रको वडा नम्बर ६ कि हिरा विष्टले मतदान गरे लगत्तै बच्चालाई जन्म दिएकी थिइन् । यता रोल्पाको थवाङ मतदान केन्द्रमा भने केही पनि मतदान गर्न गएनन् ।

प्रतिक्रिया