बर्दिवास, ४ मंसिर । नेकपा–माओवादीलगायत ३३ दलले गरको बन्दले बढी तराईमा असर परेको छ । लगातार एक सातादेखिको यातायात बन्दले महोत्तरी जिल्लामा लाखौँ मूल्यको तरकारी कुहिएको छ ।
खेतबारीको तरकारी टिपेर बजार पुर्याउने चाँजो यातायात बन्दले नमिलेपछि आफ्नो तरकारी फसल बोटमै र कुहिने क्रम बढेको जिल्लाका किसानले बताएका हुन् । गत २५ कात्तिकदेखि गरेको बन्द आह्वानले यातायात साधन नचल्दा तरकारी बजार पुर्याउन नपाएको किसानको गुनासो छ । अहिले जिल्लाका कृषि बजारमा हरियो तरकारीको माग निकै बढे पनि बन्दकै कारण आफूहरूको उत्पादन बजार पुग्न नसकेको पशुपतिनगर–२ का तरकारी उत्पादकहरू बताउछन् ।
हरेक दुई दिनको पालोमा टिप्नुपर्ने परबल, बोडी, घिरौँला, भन्टासहितका हरियो तरकारी बजार पुर्याउने अवस्था बन्दले नभएपछि बोटमै बुढिने (छिप्पिने) र कुहिने क्रम सुरु भएको जिल्लामै नमुना तरकारी किसान मानिएका भंगाहा–३ का सत्यनारायण यादवले बताए । गत कात्तिक २५ गते यता तीन पटकसम्म टिपिसक्नुपर्ने हरियो तरकारी अहिलेसम्म एकपटक पनि बन्दकै कारण नटिपिँदा आफूहरू निकै मर्कामा परेको तरकारी उत्पादक किसानको गुनासो छ ।
जिल्लाका तरकारी पकेट क्षेत्र मानिएका लक्ष्मीनियाँ, बेलगाछी, भरतपुर, पशुपतिनगर, बिजलपुरा, भंगाहा, माईस्थान र हतिसर्वासहितका गाविस बस्तीमा बन्दकै कारण हरियो तरकारी बाली बजार पुग्न नसक्दा किसानसँगै उपभोक्तासमेत मर्कामा परेका जिल्ला कृषि विकास कार्यालयले समेत स्वीकार गरेको छ ।
पछिल्लो एक सातादेखिको लगातार यातायात बन्दले जिल्लाको दक्षिणी भेगमा तरकारी बजारमा पर्याप्त पुग्न नसक्दा सर्वसाधारण महँगीको मारमा परेको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत शङ्करप्रसाद साहले बताए । जिल्लामा करिब १५ हेक्टर क्षेत्रफलमा तरकारी बाली यसपालि लगाइएको कार्यालयले जनाएको छ ।
तरकारीसँगै अरू कृषि उपज पनि बजार पुग्न नसक्दा किसानलाई परेको मारसँगै दैनिक मजदुरी गरेर गुजारा गर्नुपर्ने गरिब भोकभोकै परेका छन् । लगातारको यातायात बन्दले काम गर्न जान नपाइएको र खाने सर्दामको जोहोमा समेत समस्या भएपछि आफूसहित घरका ससाना छोराछोरीलाई बन्दभरि कसरी बचाउने भन्ने चिन्ताले पिरोलेको दैनिक ज्यालादारी गरेर गुजारा गर्ने गरेकी भङ्गाहा–८ को दलित बस्तीकी पानोबती सादाको भनाइ छ । यस अवधिमा आफ्नो व्यापार व्यवसाय चौपट भएको उद्यमी व्यापारीको गुनासो छ ।
प्रतिक्रिया