दुई वर्ष उत्तिकै सक्रिय भलिबलमा

Chuda-Khadka

चुडा खड्का

दुई वर्षअघि नेपालमा भलिबल प्रतियोगिता बिरलै हुन्थे । त्योभन्दा फरक रहयो, वर्ष २०६९ । नेपाली भलिबलको त्यो सक्रियता वर्ष ०७० मा पनि कायम रहयो । पछिल्ला १३ महिनामा पुरुष र महिलाका दुवैका आधा दर्जनभन्दा बढी प्रतियोगिता सम्पन्न भए । महिला र पुरुषमा अलिकति फरक देखियो । पुरुष स्पर्धा दुई टोलीबीच नै उपाधिको भिडन्त भयो भने महिलामा चार टोली बीच । पुरुषभन्दा महिला स्पर्धा बढी प्रतिस्पर्धात्मक पनि देखियो । पुरुष स्पर्धामा वर्षमा ६ वटा प्रतियोगिता भए । जसमा तीनमा पुलिस तथा तीनमा एपिएफको जित भयो । तर, महत्वपूर्ण मानिएको राष्ट्रिय च्याम्पियनसिप एपिएफले नै जोगाएर छाडयो । कञ्चनपुरमा पछिल्लो समय राष्ट्रिय च्याम्पियनसिपको फाइनलमा एपिएफ र नेपाल पुलिस क्लबको भिडन्त हुदा पुलिस उपाधिको दाबेदार मानिन्थ्यो । एपिएपको जितलाई धेरैले अस्वाभाविक पनि माने । तर, तेह्रथुममा आयोजना भएको राष्ट्रिय च्याम्पियनसिपसम्ममा स्थिति फरक भइसकेको थियो । एपिएफलाई नै उपाधिको दाबेदार मानिन्थ्यो र उपाधि जित्यो पनि ।

यी दुई टोलीबीचको कथाले पछिल्ला दुईवटा प्रतियोगितामा फरक मोड लिएको थियो । पुलिस क्लबले राष्ट्रि्रय लिगको उपाधि जितेको थियो । दशरथ रंगशालामा भएको सबैभन्दा महत्वपूर्ण र प्रतिक्षित खेलमा एपिएफलाई २५–१८, २५–२३, २८–२६ ले हराउदै पुलिस च्याम्पियन बनेको हो । प्रतियोगितामा एपिएफका कैलाशदत्त भट्ट उत्कृष्ट खेलाडी घोषित भए । पुलिसका चन्द्र कुँवर उत्कृष्ट स्पाइकर घोषित भए । यसैगरी, एपिएफका खुसी चौधरी बेस्ट सेटर, महेन्द्र श्रेष्ठ बेस्ट ब्लकर, पुष्पजंग मल्ल बेस्ट डिफेन्स र कुलबहादुर थापा बेस्ट सर्भर भए ।
यसअघि पुलिस क्लबले नै वर्कर्स कप भलिबलको उपाधि जितेको थियो । वर्कर्स कपको उपाधि जित्ने क्रममा पनि पुलिसले एपिएफलाई २५–१५, १५–२५, २१–२५, २५–१४ र १८–१६ ले पराजित गर्‍यो । यसअघि लगातार तीन प्रतियोगिताको फाइनलमा पुलिस एपिएफसाग पराजित भएको थियो । एपिएफले नवलपरासीमा भएको प्रतियोगितामा पनि पुलिसलाई फाइनलमा नै पराजित गरेको थियो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी नेपाल पुलिस क्लबका सञ्जय अर्याल भए । उत्कृष्ट स्पाइकर नेपाल पुलिसकै कुलबहादुर थापा, उत्कृष्ट ब्लकर एपिएफका दीपेन्द्र भट्ट, उत्कृष्ट सर्भर एपिएफकै कैलाशदत्त भट्ट, उत्कृष्ट सेटर नेपाल पुलिसकै इम रानामगर, उत्कृष्ट डिफेन्डर नेपाल पुलिसकै वीरेन्द्र चौधरी र उत्कृष्ट प्रशिक्षक नेपाल पुलिसकै सुदेश रिमाल भएका थिए ।
महिलातर्फ पछिल्ला एक वर्ष फरक रहयो । धनगढीमा भएको राष्ट्रिय प्रतियोगितामार्फत पहिलो शक्तिको रूपमा उदाएको नेपाल पुलिस क्लब एनभीए कपसम्म आयपुग्दा पहिलो शक्तिको रूपमा यथावत् रहेको थियो । त्यसपछि एपिएफ र न्यु डाइमन्ड पनि शक्तिको रूपमा उदाए । पश्चिमाञ्चलले पनि आफूलाई सुधारिएको रूपमा प्रस्तुत गर्‍यो । वर्तमान नेपाली भलिबलको महिला स्पर्धामा चार बराबर शक्तिको बीचमा नै प्रतिस्पर्धा भयो ।
बागलुङमा भएको राष्ट्रिय च्याम्पियनसिपको उपाधि पश्चिमाञ्चलले जित्यो । उपाधि भिडन्तमा न्यु डाइमन्डलाई हराएको पश्चिमाञ्चलले सेमिफाइनलमा नेपाल पुलिसलाई हराएको थियो । काठमाडौंमा भएको राष्ट्रिय लिगमा अत्यन्त कमजोर प्रदर्शन गरेको पुलिसले अलिकति सुधारिएको प्रदर्शन गर्दै तेस्रो भयो ।
यसअघि काठमाडौंमा भएको राष्ट्रिय लिगको उपाधि न्यु डाइमन्डले थियो । लिगको अन्तिम दिन भएको खेलमा पुलिस क्लबलाई हराउँदै एपिएफ दोस्रो भएको थियो । प्रतियोगितामा एपिएफकी नेबिका चौधरी उत्कृष्ट खेलाडी घोषित भइन् । यसैगरी, निमा श्रेष्ठ बेस्ट स्पाइकर र बिनिता बुढाथोकी बेस्ट सेटर भए । पश्चिमाञ्चलकी सरस्वती चौधरी बेस्ट ब्लकर तथा न्यु डाइमन्डकी सलिना श्रेष्ठ उत्कष्ट डिफेन्स तथा कृपा अधिकारी बेस्ट सर्भर घोषित भए ।
चार शक्तिमध्ये पुलिस क्लबले पछिल्लो उपाधिको रूपमा धरानमा भएको प्रथम इजिराइडर्स अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबलको उपाधि जितेको थियो । एक वर्षको अन्तरालमा तेस्रो उपाधि जित्ने क्रममा पुलिसले फाइनल खेलमा न्यु डाइमन्ड एकेडेमीलाई ३–१ सेटले पराजित गर्‍यो ।
पुलिसकी चुडा खड्का वुमन अफ दी टुर्नामेन्ट र कोपिला उप्रेतीले बेस्ट ब्लकरको पुरस्कार पाए । न्यु डाइमन्डका कृपा अधिकारी बेस्ट लिफ्टर, सलिना श्रेष्ठ बेस्ट डिफेन्स र रमिला तण्डुकार सर्वोत्कृष्ट स्पाइकर घोषित भए । न्यु डाइमन्ड पहिलो पटक ठूलो प्रतियोगिताको फाइनलमा प्रवेश गरेको थियो । प्रतियोगितामा एपिएफ तेस्रो भयो ।
यस बषृ भएका प्रतियोगिताका हकमा भने अन्तराष्टिय प्रतियोगिताको आयोजना नेपालका लागि सबैभन्दा महत्वपूर्ण रह्यो । थप महत्वपूर्ण योजनाको तयारीमा नेपाल भलिबल संघ रहेको छ । पछिल्ला दुई वर्षमा प्राप्त सफलताको पछि छिट्टै नै नया योजना बनाउन भलिबल अधिकारी तल्लीन रहेका छन् ।

जसले प्रतियोगितामा प्रभाव पार्न सक्छन्
भलिबलको पुरुष स्पर्धामा केही वर्ष एपिएफ र पुलिस क्लब नै उपाधिको भिडन्तमा रहे । यी दुई टोलीमा सबै खेलाडी एउटै स्तरका छन् । तथापि, एपिएफका कैलास दत्त र पुलिसका सञ्जय अर्यालको प्रदर्शनमा खेलको परिणाम निर्भर रहयो । श्रीलंकाको कोलम्बोमा सम्पन्न १०औँ सागमा सहभागी नेपाली टोलीका खेलाडीमध्ये आर्मीका दीप खड्का र एपिएफका कैलाश मात्र अहिले खेलाडीको रूपमा सक्रिय छन् । एपिएफको सफलातको पछि कैलाशको नेतृत्व र समझदारीपूर्ण खेलका साथै उनको पावरफुल स्पाइक मुख्य कारण बन्यो ।
उचाइ, पावरफुल स्पाइक र एथलेटिक व्यक्तित्वका धनी सञ्जयका कारण पुलिसले थुप्रै सफलता पायो । उनको उचाइका कारण नेपालको घरेलु प्रतियोगिता वाक्क हुने गरेका छन् । ब्लकर पनि उनको अघि वाक्क हुने गरेका छन् ।
महिला स्पर्धामा पश्चिमाञ्चलमा गुमेको साख फिर्ता गर्नमा पोखरानिवासी सुदूरपश्चिमकी खेलाडी सरस्वती चौधरीको भूमिका महत्वपूर्ण रहयो । सुरुमा फिस्टेल एकेडेमीबाट खेल्दा क्विक स्पाइकरको रूपमा खेल्ने गरेकी सरस्वतीले पछिल्लो समय ओपन खेल्न थालेकी छिन् । छैटौं राष्ट्रिय खेलकुदपछि एकदमै कमजोर रहेको पश्चिमाञ्चल क्षेत्रीय महिला भलिबलको पुनर्उत्थानमा सरस्वती नायिकाको रूपमा उदाएकी छन् ।
एपिएफले वर्ष २०६९ मा तीन उपाधि जित्यो । यो तीन उपाधिका प्रमुख नायिका नेबिका चौधरी भइन् । पावरफुल कठोर मेहनतका लागि परिचित नेबिकाको स्पाइक एपिएफको जितको मुख्य आधार बन्ने गरेको थियो । पुलिस राष्ट्रिय च्याम्पियन बनेदेखि यताका प्रतियोगितामा क्विक स्पाइकरको रूपमा खेल्ने कोपिला उप्रेती र चुडा खड्काको भूमिका महत्वपूर्ण रहयो । यी दुई खेलाडी जम्न नसक्दा पुलिस क्लबलाई फाइनलको यात्रा पनि कठिन हुने गरेको छ । न्यु डाइमन्डको विजय यात्रामा प्रमुख कारक बन्ने गरेकी रमिला तण्डुकार पावलफुल स्पाइकका लागि चर्चित छिन् । एक वर्षअघिसम्म पावरफुल स्पाइकका कारण दर्शकका माझ लोकप्रिय मात्र थिइन् । पछिल्लो एक वर्षमा उनको परिचय धेरै फेरिएको छ । उनमा देखिएको परिपक्वताले न्यु डाइमन्डलाई उपाधि यात्रासम्म लाने गरेको छ ।

प्रतिक्रिया