दोस्रो संविधानसभा चुनाव आज

Elecatation Votting Pollingकाठमाडौं, ४ मंसिर । दोस्रो संविधानसभा गठनका लागि आज देशभर मतदान हुँदै छ । नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले चुनाव बिथोल्ने गरी गतिविधि सञ्चालन गरिरहेका कारण अन्तरिम चुनावी मन्त्रिपरिषद्ले एकीकृत सुरक्षा योजना लागू गरी चुनाव गराउन लागेको हो । मतदानस्थलको सुरक्षाका लागि पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा दिने व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ ।

मतदाताले पहिलोपटक फोटोसहितको अस्थायी मतदाता परिचयपत्रका आधारमा मतदान गर्दै छन् । २९ कात्तिकदेखि सोमबारसम्म आयोगले मतदाता परिचयपत्र वितरण गरेको थियो । मतदाता परिचयपत्र नपाएको अवस्थामा नागरिकता तथा तस्बिर रहेको कुनै परिचयका आधारमा मतदान गर्न सक्ने आयोगले जनाएको छ ।
आयोगका अनुसार हल्का नीलो रङको मतपत्रमा आफूले रोजेको उम्मेदवारलाई र हल्का रातो रङको मतपत्रमा राजनीतिक दललाई भोट हाल्नुपर्छ । मतदाताले आज बिहान ७ देखि साँझ ५ बजेसम्म भोट हाल्न पाउनेछन् । १ करोड २१ लाख ४७ हजार ८ सय ६५ मतदाता छन् । यसमा महिला ६१ लाख ६६ हजार ८२९, पुरुष ५९ लाख ८० हजार ८८१ पुरुष र तेस्रोलिंगी १५५ रहेको आयोगले जनाएको छ । यो चुनावबाट प्रत्यक्षबाट २४० र समानुपातिक प्रणालीमार्फत ३३५ जना संविधानसभा सदस्य चुनिनेछन् भने २६ जना मनोनीत गरी ६०१ सदस्यीय संविधानसभा गठन हुनेछ ।
२ सय ४० चुनाव क्षेत्रमध्ये सबैभन्दा बढी क्षेत्र र मतदाता काठमाडौंमा छन् । १० वटा क्षेत्रमा ५ लाख ३२ हजार १ सय १० मतदाता छन् । सबैभन्दा कम मतदाता मनाङ–१ मा ४ हजार ७ सय ९५ छन् । क्षेत्रगत रूपमा सबैभन्दा बढी मतदाता भक्तपुर–२ मा ८२ हजार २ सय १८ छन् ।
चुनावका लागि १० हजार १३ मतदानस्थल र १८ हजार ४ सय ५७ केन्द्र तोकिएका छन् । सुरक्षा निकाय, वृद्धाश्रम, कारागारमा रहेका कैदी, सरकारी कर्मचारीका लागि अस्थायी मतदान स्थल ३ सय वटा छ ।
मतदानकेन्द्रका मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, श्रेणीविहीन १ लाख २५ हजार ८ सय ५८ र स्वयंसेवक ८८ हजार ९ सय ४४ सहित २ लाख १४ हजार ८ सय २ खटदै छन् । नेपाली सेनाका ६२ हजार, नेपाल प्रहरी ४८ हजार, म्यादी ४५ हजार, सशस्त्र प्रहरी बल ३२ हजार र अनुसन्धानका चार हजार परिचालन हुँदै छन् ।
चुनावमा प्रत्यक्षतर्फ १३० र समानुपातिकतर्फ १२२ दल सहभागी छन् । ३ सय ३५ स्थान रहेको समानुपातिक चुनावका लागि १२२ दलका १० हजार ७ सय ९ उम्मेदवार बन्दसूचीमा छन् । प्रत्यक्षतर्फ ६ हजार १ सय २८ प्रतिस्पर्धी छन् ।
ढुक्क भई मतदान गर्न आयोगको आग्रह
निर्वाचन आयोगले सोमबार पत्रकार सम्मेलन गरी चुनावको सम्पूर्ण तयारी भएको जानकारी दिएको छ । आयोगको मिडिया सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले आयोगले सम्पूर्ण तयारी पूरा गरेको जानकारी दिँदै दोस्रो संविधानसभा चुनावमा ढुक्क भई मतदान गर्न सम्पूर्ण मतदातालाई हुन आग्रह गरे ।
‘निर्वाचन स्वच्छ, निष्पक्ष, विश्वसनीय र स्वतन्त्र हुनेमा विश्वस्त हुन सबैमा आग्रह गर्दछु,’ प्रमुख आयुक्त उप्रेतीले भने, ‘राजनीतिक दल, सुरक्षाकर्मी, मतदाता र पर्यवेक्षण तथा अनुमगनका लागि आउनुभएका सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायलाई पनि संविधानसभाको चुनाव सम्पन्न गर्न सकारात्मक भूमिका खेल्न आग्रह गर्छु ।’
उनले मतदान गर्ने अधिकार सबै मतदातामा रहेको उल्लेख गर्दै मतदान प्रक्रियामा सहभागी हुन रोक लगाउने अधिकार कसैलाई नभएको प्रस्ट पारे । ‘लोकतन्त्रमा जनताले मताधिकार प्रयोग गर्ने कुराको सबैले सम्मान गर्नुपर्छ,’ उनले चुनावविरोधी आन्दोलन गरिरहेको नेकपा–माओदीलगायत दलप्रति लक्ष्य गर्दै भने, ‘जनतालाई स्वतन्त्र र निर्भिक भएर मत हाल्ने अधिकारलाई कुण्ठित गर्ने कार्यको आयोग भत्र्सना गर्छ ।’
उनले संविधानमा सबैको स्वामित्व महसुस गर्न संविधानसभा आवश्यक रहेको भन्दै अन्यभन्दा यस चुनावको विशेष महत्व रहेको धारणा व्यक्त गरे । उनले चुनावलाई हरेक तरहले सफल बनाउन सबैलाई आग्रह गरे । ‘भोलि (मंगलबार) बिहान ७ बजेदेखि ५ बजेसम्म हुन गइरहेको संविधानसभा चुनावमा मतदाता नामावलीमा नाम रहेको आफ्नो मतदानकेन्द्रमा ढुक्कसाथ आफूलाई मन परेको उम्मेदवार र पार्टीलाई मत हाल्नुहोस्,’ उनले भने, ‘जनताका मौलिक हकअधिकार सुनिश्चित गर्न पनि यो चुनाव आवश्यक छ ।’
उनले चुनाव अनुगमनका लागि देशभर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षक खटिएको साथै आयोगबाट पनि प्रत्येक निर्वाचन क्षेत्रमा अधिकारी खटाइएको जानकारी दिए । चुनाव आचारसंहिता उल्लंघनको घटनामा आयोगले कारबाही गर्ने उल्लेख गर्दै उनले मौन अवधि र परिणामको घोषणासम्म आचारसंहिता पालनाका लागि आग्रह गरे । उनले मौन अवधिमा आचारसंहिता उल्लंघन गर्ने जो–कोही राजनीतिक दल वा सञ्चारमाध्ययमलाई कारबाही गर्न आयोग तयार रहेको दाबी गरेका थिए ।
उनले चुनावमा सहयोग पुर्‍याउने सबै राजनीतिक दल, सुरक्षाकर्मी र मतदातालाई पनि धन्यवाद दिए । उनले चुनावमा पर्यवेक्षक तथा अनुगमनको भूमिका निर्वाह गर्न आएका अन्तर्राष्ट्रिय समुदायलाई पनि धन्यवाद दिएका थिए ।

प्रतिक्रिया