काठमाडौं, ४ मंसिर । दोस्रो संविधानसभा चुनावको पूर्वसन्ध्यामा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको चुनावको विषयमा कार्यकर्तालाई दिएको प्रशिक्षणको सन्सनीपूर्ण अडियो सार्वजनिक भएको छ । अध्यक्ष दाहालले साम, दाम, दण्ड, भेद जे–जे गरेर भए पनि चुनाव जित्न कार्यकर्तालाई निर्देशन दिएको अडियोमा सुन्न सकिन्छ ।
दाहालले आºनो उम्मेदवारी परेको काठमाडौं क्षेत्र नम्बर १० का पार्टी कार्यकर्तालाई जसरी पनि चुनाव जित्न भन्दै दिएको प्रशिक्षणको अडियो टेप सोमबार सामाजिक सञ्जाल युटयुबमार्फत सार्वजनिक भएको हो । दाहालले अडियोमा कार्यकर्तासमक्ष आफूहरूलाई हार्ने छुटै नभएको स्पष्ट पार्दै आफूहरू हार्नु भनेको दुर्घटनातिर जानु भएको बताएका छन् । आफू हारे सारा चिज बर्बाद हुने स्थिति फेरि आउने भन्दै उनले हरहालतमा जित्नुपर्छ भनी निर्देशन दिएको अडियोमा सुन्न सकिन्छ ।
‘यहाँ अहिले यो उम्मेदवार त्यो उम्मेदवार छाडिदिनुस्, जोसुकै होस् हाम्रो पार्टीले जित्नै पर्छ, हामीले जिताउनै पर्छ । जितेनौँ भने बर्बाद हुन्छ,’ अडियोमा दाहालले भनेका छन्, ‘त्यसकारण अरू सबै कुरा छाडेर मैले भनेँ र म फेरि दोहोर्याएर भन्छु, ‘सबै कुरा छाडेर हामीले जित्नेमा मात्रै ध्यान दिनुपर्यो, ४ गतेसम्म ।’
उनले नेतृत्वमा रहेका कार्यकर्तालाई आºनो कुरामा विचार पुर्याउन निर्देशन दिँदै भनेका छन्, ‘साम, दाम, दण्ड, भेद जे–जे गरेर हुन्छ जित्नुपर्छ जे गरेर भए पनि जित्नुपर्छ । यसो भन्दा कतिपय आदर्शवादीले जे गरेर पनि जित्ने भनेपछि पैसा बाँडेर भए पनि जित्ने । पैसा भएदेखि बाँडेर पनि जित्ने हो ।’
उनले नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै भनेका छन् ‘सकिन्छ भने हामीले कब्जा गरेर जनतालाई यो तपाईंको हो यसको होइन भन्दिने हो ।’ उनले प्रशिक्षणका क्रममा पार्टी र नेतृत्वको लोकप्रियता पहिलेको भन्दा घटेको स्वीकार गर्दै काठमाडौं क्षेत्र नम्बर १० मा पहिलोको भन्दा मत घटे राम्रो नहुने धम्कीसमेत दिएका छन् । प्रशिक्षणको अन्तिममा पनि उनले साम, दाम, दण्ड, भेद जसरी भए पनि चुनाव जित्नू भनेर पुन: निर्देशन दिएका छन् ।
यसअघि दाहालले काठमाडौं–१० मा चुनाव जित्न बाधक बन्नेलाई सिध्याएरै अघि बढ्ने रणनीतिका साथ तीन जनालाई पेस्तोलसहित खटाएको र ४० जनाको युवा दस्तालाई हाइअलर्टमा राखेको खुलासा सौर्यमार्फत भएको थियो ।
प्रतिक्रिया