काठमाडौं, ३ मंसिर । आम निर्वाचन पर्यवक्षेण समिति (जियोक) ले आज र भोलि दुई दिन मतदातालाई आफ्नो पक्षमा प्रभावित पार्न आर्थिक चलखेलको तयारी भएको सूचना पाएको जनाएको छ ।
जियोकले आज (सोमबार) काठमाडौंमा पत्रकार सम्मेलन गरेर निर्वाचन आचारसंहिता विपरित उम्मेदवारहरुले नगद र बहुमूल्य सामान वितरण गर्न लागेको सूचना पाएको जनाएको हो । ‘आज र भोलि विहानसम्म दलहरुले मतदातालाई आर्थिक प्रभावमा पार्न नगद र सामान बाँड्ने तयारी गरिरहेको पाइएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘मानसिक दबाब दिन सुरु गरिसकेको जानकारी पनि प्राप्त भएको छ ।’
जियोकका अध्यक्ष हिमालय शम्शेर राणाले विशेष उद्देश्य बोकेका साना दल र तिनका सीमित नेताहरुले मतदातालाई आर्थिक प्रलोभन देखाउने गरेको बताए । ‘साना दलहरुका सीमित नेताहरु आफ्नो पक्षमा मत पाउन आर्थिक चलखेल सुरु गरेका छन्,’ उनले भने ।
जियोकका सदस्य एवं खोज पत्रकारिता केन्द्रका हस्त गुरुङले एमाओवादी, एमालेलगायतका दलका उम्मेदवारले पनि आर्थिक चलखेल गरेको दाबी गरे । ‘पहिला किलोमा भोजभतेर हुन्थ्यो,’ गुरुङले भने, ‘अहिले क्विन्टलमा हुने गरेको छ ।’ उनले मतदाता आफ्नो पक्षमा प्रभावित बनाउन कात्तिक–२६ गते देखि भोजभतेर व्यापक भएको बताए ।
गुरुङले तराईका मतदाताले यस पटक मधेसका मुद्दा र मधेसवादको उच्चारण पनि सुन्न नचाहेको बताए । ‘अहिले जातीय कुराले तराईका मतदातालाई छोएको छैन,’ उनले भने, ‘यस पटक सबै दललाई मतदाताले स्वागत गरेका छन् ।’ अघिल्लो संविधानसभा निर्वाचनमा जातीय मुद्दाले गर्दा अन्य दलहरुलाई मधेसमा प्रचार प्रसार गर्न अप्ठेरो भएको थियो ।
अध्यक्ष राणाले मतदाता परिचयपत्र छपाई, वितरणमा हदैसम्मको त्रुटी रहेको बताए । ‘फोटोसहितको परिचयपत्र पनि सबै स्थानमा पुग्न सकेको छैन,’ उनले भने, ‘पुगेको परिचय पत्रमा पनि केहीमा फोटो नआएको र पूरा विवरण नरहेको देखिएको छ ।’ राणाले परिचय पत्र र आयोगको लापरवाहीले मतदातामा त्रास फैलिएको बताए ।
फोटोसहितको परिचयपत्रका कारण केही स्थानमा झडप समेत भईसकेका छन् । आयोगको लापरवाही र मतदाता शिक्षा गराउन नसक्दा समस्या आएको जियोकको आरोप छ ।
धनुषा, सिराहा, महोत्तरी, सर्लाही, सप्तरी, मोरङ, सुनसरी, झापा, बाग्लुङ, गोरखा, कास्की, रोल्पा, दोलखा, चितवन, संखुवासभा, सिन्धुली, कमपानुपर, प्युठान, दाङलगायतका जिल्लामा उम्मेदवारले विद्यालयमा ल्यापटप, खेलकुद सामान आदि वितरण गर्ने गरेको जियोकले जनाएको छ । ‘केही स्थानमा निर्वाचन पछि प्रतिमहिना दुई हजार दिन्छु भन्ने आश्वासन पनि दिएका छन्,’ अध्यक्ष राणाले भने ।
जियोकले आयोगले तत्काल मतदाता परिचयपत्र र मतपत्रको व्यवस्थापनलगायत सुरक्षाको अनुभूति नदिने हो भने मतदान गर्नेहरुको संख्या घट्ने चेतावनी पनि दिएको छ । ‘सुरक्षाको वातावरण र यातायातको सहजता बनाउनु पर्छ,’ विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया