मास्टर विधान

Bidhanयुएइमा जारी ट्वान्टी २० क्रिकेट प्रतियोगितामा नेपाली टोलीको प्रदर्शन गर्विलो बन्दै गएको छ । गरिबी, अशान्ति, भोकमरी र भ्रष्टाचारको कारण चर्चामा रहने नेपालका प्राय: समाचारका विषय पनि दु:खद हुने गरेका छन् । यस खाले दु:खद समाचारको सेरोफेरोमा जीवन बिताइरहेका नेपालीको माझ यदाकदा सान्त्वना दिने काम भने खेल क्षेत्रले नै गर्‍यो । यसै मध्यका वर्तमान समाचारको विषय बनेको छ, क्रिकेट ।

विश्व परिवेशमा हेर्ने हो भने नेपालीले पाएको उपलब्धी सामान्य लाग्न सक्छ । त्यत्ति गर्व गर्ने विषय पनि छैनन् । सानो महादेश ग्रेनाडाले एथलेटिक्समा पाएको सफलता, ट्रिनिडाडा एन्ड टोबागोको सनसनी र अमेरिकी स्प्रिन्ट राजलाई क्षतविक्षत गर्ने जमैकाली कीर्तिमानको बीचमा नेपालका यस खाले उपलब्धी त्यत्ति सारो चर्चाको विषय नहुन सक्छ । तथापि नेपालको समाजको समग्र परिबेशलाई आधार मान्दा खेल क्षेत्रले दिलाएको सफलता सन्तोषजनक भने पक्कै हो ।
नेपाली खेल क्षेत्रले दिलाएको यावत सफलताको विचमा सबैभन्दा धेरै सफलताका कथा मार्सल आर्टमा बुनीए । त्यसमा पनि तक्वान्दाले दिलाएको सफलताले नै नेपाली खेल क्षेत्र लगभग दुइ दशक गर्विलो बन्यो । यो गर्विलो इतिहासमा थुप्रै नाम देखिए । महत्वपूर्ण खेलमा एसियाली च्याम्पियन बन्ने एक्लो नेपाली संगीना वैद्य, ओलम्पिक खेलकुदमा पदक जित्ने विधान लामा, एसियाडमा रजत पदक जित्ने सविता राजभण्डारी, महिला विश्व च्याम्पियनसिपमा पदक जित्ने सिता राई नेपाली खेलकुद सदा स्मरणीय नामहरू हुन् । पछिल्लो समय लगातार चार साग खेलमा स्वर्ण जित्दै यिनै ऐतिहासिक खेलाडीको सूचीमा सूचीकृत भए, दिपक विष्ट । यसपटकको प्रसंग ओलम्पिक खेलकुदमा पदक जित्न सफल एक्लो नेपाली खेलाडी विधान लामाको बारेमा ।
दोलखा सैलुङ उनको पुख्यौली घर । तर, उनी जन्मिए काठमाडौंमा । काठमाडौंमा सुरुमा रहँदा उनले कराते खेल्न सुरु गरेका थिए । पछि जेक सिनमार्फत नेपालमा तेक्वान्दो फैलियो । पहिलोपटक नै उनी तेक्वान्दो खेल्दा दुई बेल्ट प्रमोसन पाउन सफल भए । त्यसपछि सुरु भयो यी स्टारका सफलताका कथा । श्याम लामाका तीन भाइ छोरामा जेठा विधान । घरमा कडा अनुशासन भएका कारण लजालु स्वभाबका उनी । ती नै विधान एकैपटक सन् १९८६ मा सानदार फर्ममा देखिए । त्यस पछि नै उनको सानदार फर्म सुरु भयो । यो चार वर्षको अबधिमा उनले नेपाली खेलकुदमा थुप्रै अनुपम सफलताहरू पाए । एसियाडमा उनले कास्य पदक जिते । सोलमा भएको त्यो एसियाडमा विधानले कास्य पदक जितेपछि उनको फर्म अझ चुलियो । त्यसै बर्ष भएको सोल ओलम्पिकमा नेपालले कास्य पदक जित्यो । त्यो कास्य पदक विधानले नै पाएका थिए । यसअघि उनले एसियाली च्याम्पियनसिपमा रजत पदक जितेका थिए । फाइनलभन्दा अघि डिसलकेटको समस्या भएका कारण उनले फाइनल खेल गुमाएका थिए । विश्व च्याम्पियनसिपमा उनले कास्य पदक जिते ।
विधानको चर्चा गर्दा सन् १९८८ कै ओलम्पिक खेलको चर्चा गर्नुपर्ने हुन्छ । शीत युद्धको अन्तिम आलम्पिक थियो, सोल ओलम्पिक । यसअघिका दुई ओलम्पिक दुइ शक्ति केन्द्रले बहिष्कार गरेका थिए । सन् १९८० को मस्को ओलम्पिक अमेरिकालगायत नेटो समर्थक राष्ट्रले बहिष्कार गरे । त्यसको चार वर्षपछि लस एन्जल आलम्पिक आयोजना भएको थियो । त्यो ओलम्पिक साम्यवादीहरुले बहिष्कार गरे । सोल ओलम्पिकमा दुवै शक्ति केन्द्र सहभागी भएका कारण संसारका सबैको ध्यान ओलम्पिकमा केन्द्रित थियो । ओलम्पिकमा बेन जोनसन एक सय मिटर दौडमा स्वर्ण पदक जिते पनि डोपिङका असफल भएका कारण त्यो पदक खोसिएको थियो, कार्ल लुइसले त्यो पदक पाएका थिए । सोभियत संघ कुल पदक तालिकामा पहिलो भएको थियो । अन्तिम स्वर्ण पदक फुटबलमा टुंगो लागेको थियो । रोमारियो सनसनीपूर्ण प्रदर्शनलाइ छायामा पार्दै फुटबलको स्वर्ण पदक पनि सोभियत संघले जित्यो । तर, दक्षिण एसियाका लागि चर्चाका पात्र भने विधान लामा नै बने । यसै ओलम्पिकपछि नेपालको परिचय फेरियो र चिनिन थालियो ‘राम्रो तेक्वान्दो खेलाडी भएको देश’ का रूपमा । त्यसै पदकले नेपाल ओलम्पिकमा ५२औँ स्थानमा रहेको थियो ।
सन् १९९० मा एक जना विदेशीसँगै अमेरिका पुगेका विधान त्यतै रहे । अहिले तेक्वान्दो स्कुल चलाइरहेका छन्, उनले पोर्टल्यान्डमा । ‘खेलाडीका रूपमा त्यत्ति लामो समय योगदान दिन नसकेको महशुस भएको छ । तर पनि तेक्वान्दोप्रतिको मेरो समपर्णमा कमी रहेको छैन ।’ नयाँ बानेश्वर तेक्वान्दो डोजाङको आयोजनामा सञ्चालित सम्मान कार्यक्रममा भेट भएका विधानले भने, ‘पछिल्लो पुस्ताका तेक्वान्दोकर्मीले साख जोगाए, म अझै खुसी रहने छु ।’
डोजाङका मुख्य प्रशिक्षक अर्जुनभक्त राई, प्रशिक्षक मिनु कार्की र राजु थापाको एउटै स्वर रह्यो, ‘नेपाली इतिहासका एक शीर्ष पुरुषलाई सम्मान गर्न पाउँदा ज्यादै खुसी छौँ ।’ आफूलाई विधानको फ्यान बताउने तीनै प्रशिक्षक आगामी दिनमा तेक्कन्दो विकासमा अझ धेरै सक्रिय रहने प्रण गर्दै भन्छन्, ‘तेक्वान्दोले देखाएको अनुशासित समाजको परिकल्पनामा समर्पित हुनु नै उहाँप्रतिको साँचो सम्मान हो ।’
नेपाली तेक्वान्दो अहिले विगत जस्तो गर्विलो छैन । अन्य दक्षिण एसियाली राष्ट्रले विकास गदै जाँदा नेपालले साख जोगाउन सकेको छैन । अमेरिकामा बसको विधानले धेरै त के नै गर्न सक्थे र । तर, स्रोतसाधनमा सहयोग गर्न भने उनी प्रतिबद्ध छन् । ‘नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण अबको महत्वपूर्ण कुरा हो ।’ विधान अगाडि बताउँछन् । ‘खेल भनेको पदक जित्ने र नजित्ने मात्र होइन । हामी खेलकर्मीको चाहना अनुशासित समाज नै हो । यसका साथै सबल तेक्वान्दो पुस्ताको स्थापनामा हामी दत्तचित्त छौँ ।’ मास्टर विधानका फ्यान रहेका अर्जुन अघि बताउँछन् ।
२६ बर्ष अघिको त्यौ गौरवशाली दिन सायद नेपाली खेलकुदमा फेरि फर्कन्छ या फर्कदैन, त्यो त यकिन छैन । तर, उनी त्यो दिनसम्म पुग्न सहयोग गर्ने पहिलो पुस्ताका खेलाडी राजेन्द्र प्याकुरेल, सबुप्रताप केसी, रमेश डंगोल, शेरबहादुर थापा, युक्त गुरुङ र मानबहादुर तामाङको याद सधैँ रहने बताउँछन् मास्टर विधान । ‘नेपालको सान अन्तर्राष्ट्रिय क्षेत्रमा राख्न र नेपाललाई तेक्वान्दो मुलुकको रूपमा चिनाउन यो पुस्ताका हरेकको उत्तिको योगदान छ ।’ उनले सबैप्रति सम्मान व्यक्त गर्दै उनले भने ।

प्रतिक्रिया