शान्तिपूर्ण निर्वाचन सम्पन्न गरौँ

नेपालको राजनीतिक संकट समाधान गर्न संविधानसभाको दोस्रो निर्वाचन हुँदै छ । यो निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित भएमा लोकतान्त्रिक पद्धति दह्रो हुने अपेक्षा गर्न सकिन्छ । यो निर्वाचन संविधान निर्माणका लागि हुन गइरहेको छ । निर्वाचनमा हार–जित हुनु स्वाभाविक हो । सबैले जित्दैनन् । हार–जितलाई अतिरञ्जित नबनाई सामान्य रूपमा लिएर एकअर्काको अस्तित्व स्वीकार गर्न सक्नु नै लोकतान्त्रिक कर्म हो । यस कर्मलाई सबैले सम्मानपूर्वक पालना गर्नुपर्छ । निर्वाचनलाई नेपालमा व्याप्त समस्या समाधान गर्ने उपायका रूपमा लिएको वर्तमान अवस्थामा सबै सजग हुन जरुरी छ । अहिले निर्वाचन असफल बनाउन तयार ३३ दलीय मोर्चा मात्र होइन, निर्वाचन लडिरहेका दलहरूले पनि जनताको स्वतन्त्रपूर्वक मतदान गर्न पाउने अधिकारको सम्मान गर्ने समय हो । एउटा मोर्चाले विरोध गरिरहेको अवस्थमा सहभागी दलहरू बीचमै छिनाझप्टीको अवस्था आयो भने त्यो झन् गम्भीर आपत्तिको विषय बन्नेछ । यसतर्फ दलका नेताहरूले गम्भीर भएर आफ्ना कार्यकर्तालाई सहज रूपमा निर्वाचन सम्पन्न गर्न आजै निर्देशन दिनुपर्छ । सहज वातावरणमा जनताले मतदान गर्न पाएनन् भने त्यो निर्वाचन सार्थक नहुन सक्छ । यो गम्भीर विषयलाई सबैले मनन गरेर अगाडि बढ्नु आवश्यक छ ।
दोस्रोपटक नेपाली जनताले भोलि संविधानसभाका लागि मतदान गर्दै छन् । यो नै संविधानसभाको आन्तिम निर्वाचन हो । मतदाताले पनि आफ्नो मताधिकार सही पार्टी र व्यक्तिलाई दिनेछन् भन्ने अपेक्षा गर्न सकिन्छ । यदि, मतदाताले स्वतन्त्रतापूर्वक आफ्नो मत खसाल्न पाए भने सही दल र सही व्यक्ति प्रतिनिधि बन्न सक्छ । अन्यथा भएमा निर्वाचन स्वतन्त्र नभएको आरोप लाग्नेछ । अहिले कतिपय स्थानमा हिमपात भइरहेको छ, कतिपय स्थानमा जनतालाई भ्रमित पार्ने काम भएको हुन सक्छ । यस्तो अवस्थामा पनि निर्वाचन आयोगले खटाएका कर्मचारी मतदानकेन्द्रमा पुगिसकेका छन् । उनीहरूलाई सहज रूपमा आफ्नो काम गर्न दिने र मतदातालाई सजिलै आफ्नो मताधिकार प्रयोग गर्न दिने वातावरण दलहरूले निर्माण गरिदिनुपर्छ । वास्तवमा यो निर्वाचन संविधान बनाउनलाई भइरहेको छ । कसले जित्छ र कसले हार्छ भन्ने सवाललाई ठूलो बनाउनु हँुदैन । लोकतान्त्रिक संविधान बन्दै छ, गणतन्त्रको जग बसाल्ने एउटा दह्रो गोरेटो खनिँदै छ भनेर सबैले सोच्न सक्नुपर्छ । आफू विजयी भए ठीक अर्को विजयी भए बेठीक भन्ठानिनु हँुदैन । जो विजयी भए पनि संविधान बनोस् र नेपाल संकटमुक्त होस् भन्ने सोच बनाउनुपर्छ ।
निर्वाचन आयोगले निर्वाचनका लागि सबै तयारी पूरा गरेको छ भने भोलि ७ बजेदेखि मतदान हुँदै छ । सुरक्षा व्यवस्था निकै कडा बनाइएको देखिन्छ । यसले पनि मतदातालाई मतदानकेन्द्रसम्म पुगेर मतदान गर्न उत्साहित बनाएको छ । तर, निर्वाचनमा भाग लिइरहेका दलका कार्यकर्ताले भने संयमता अपनाउन जरुरी छ । सबैले आफ्ना मतदातालाई सहज रूपमा मतदान गर्ने वातावरण तयार गरिदिनुपर्छ । निर्भयतापूर्वक मतदान होस् र लोकतान्त्रिक पद्धतिको विकासको ढोका खुलोस् भन्ने सबैले सोच्नुपर्छ । त्यो सोच्ने दिन आजै हो । किनकि भोलि मतदान हुँदै छ । झैझगडा र दंगाफसाद गर्ने काम अपराध हो । यसखाले कर्म गर्दा कसैले जित्दैन राष्ट्रले हार्छ । अहिले राष्ट्र संकटमा छ । यो संकटबाट राष्ट्रलाई मुक्त गर्नु सबै नेपालीको कर्तव्य हो । यो कर्तव्य पूरा गर्ने मौका बारम्बार आउँदैन । त्यसैले निर्वाचनलाई शान्ति, सुव्यवस्था, सुशासन र संकटमुक्त राष्ट्रका लागि अनिवार्य सर्तका रूपमा लिएर कार्य गरिनुपर्छ । निर्वाचनलाई हल्ला र भ्रम छर्ने माध्यम बनाइनु हुँदैन । शान्त वातावरणमा पवित्र उद्देश्य पूरा गर्न र संविधान निर्माणमा सहयोग पुर्‍याउन सबैले सोच्नुपर्छ । राष्ट्र र जनताका लागि, शान्ति र संविधानका लागि, सुशासन र कानुनी राज्यका लागि सबै पक्षले यस निर्वाचनलाई सफल बनाउन जरुरी छ । विगतको कुरा कोट्याएर अथवा भविष्यप्रति नकारात्मक सोच बनाएर होइन, यसैबाट लक्ष्यमा पुग्ने विश्वास गरेर अगाडि बढ्नुपर्छ । यसर्थ भोलि हुन गइरहेको संविधानसभाको निर्वाचन स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न हामी सबै जुट्नुपर्छ । यसो भएमा हामी उद्देश्यमा सफल हुनेछौँ । हामी संयम र सजग बनेमा सबै ठीक हुनेछ । सबैले सोचौँ ।

प्रतिक्रिया