काठमाडौं, ३ मंसिर । अन्तरिम चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले नेपाली जनताले दोस्रोपटक संविधानसभा चुनावमा भाग लिने अवसर पाएको बताएका छन् ।
अध्यक्ष रेग्मीले आइतबार साँझ सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै रेग्मीले दोस्रोपटक इतिहासले दिएको विशेष अवसरको सदुपयोग गर्न सबैसँग आग्रह गरे । आगामी संविधानसभाले विद्यमान संक्रमणकाललाई अन्त्य गर्ने भन्दै रेग्मीले चुनावमा सबै नेपालीको सहभागिता हुने विश्वास व्यक्त गरे । उनले संविधानसभा चुनाव लोकतन्त्रको एक महत्वपूर्ण अभ्यास भएकाले नेपाली जनता सबैको सहभागिताबाट लोकतन्त्र थप सुदृढ भई यसको संस्थागत विकासमा नयां आयाम थपिने धारणा व्यक्त गरे ।
रेग्मीले सम्बोधनका क्रममा यो चुनाव विगतमा हासिल गरिएका राजनीकि उपलब्धिलाई संस्थागत गर्ने प्रक्रियाको निरन्तरता रहेको धारणा व्यक्त गरे । ‘यो चुनावमा हामीले गरेको मतदानबाट नेपाली जनताको आकांक्षा पूरा भई नयाँ पुस्ताको भविष्य निर्धारण हुने हुँदा चुनावमा भाग लिने प्रत्येक नेपालीको मतको ठूलो महत्व हुनेछ,’ उनले भने ।
उनले अघिल्लो पटक संविधान निर्माण कार्यले पूर्णता नपाउदै तत्कालिन संविधनसभा विघटन हुन पुगेको स्मरण गर्दै त्यही कारण संविधान लेखनको चाहना साकार हुन नसकेको धारणा व्यक्त गरे । संविधानसभा विघटनसंगै देशमा एकैपटक संवैधानिक तथा राजनीतिक जटिलताको स्थिति उत्पन्न भएको उनको भनाइ थियो ।
उनले दोस्रो संविधानसभा चुनाव बहिष्कारमा रहेको नेकपा–माओवादीलाई राजनीतिक व्यवहार गर्न चेतावनीसमेत दिए । चुनाव शान्तिपूर्ण बहिष्कार गर्ने भनी प्रचारबाजी गरेर आमजनसमुदायलाई लक्षित गरी विध्वंसात्मक र हिंसात्मक कार्य गरी विभिन्न ठाउँमा बम राखेर सर्वसाधरणलाई आतंकित पार्ने र ज्यान मार्नेसम्मको मानवताविरोधी कार्य भएको उनको भनाइ थियो ।
‘त्यस्ता अमानवीय, क्रुर र हिंसात्मक र कायरतापूर्ण कार्यको म घोर भत्र्सना गर्दछु,’ उनले भने, ‘त्यस्ता कार्यमा संलग्न जोसुैलाई पनि कानूनबमोजिम कारबाही चलाउन सरकार दृढ संकल्पित रहेको पुन: जानकारी गराउन चाहन्छु ।’
उनले माओवादी अध्यक्ष मोहन वैद्यको बन्द फिर्ता गर्नुपर्ने अदालतको आदेश पालना नगर्ने अभिव्यक्तिप्रति रोष प्रकट गर्दै त्यसलाई संविधान र कानूनविपरीतको कार्य र गैरजिम्मेवारीपनाको पराकाष्ठा भएको टिप्पणी गरे । उनले राज्यको प्रथम दायित्व शान्ति–सुरक्षा भएको स्पष्ट पार्दै शान्ति सुरक्षाको महत्वलाई आत्मसात गरी निर्विघ्नतापूवर्क चुनाव सम्पन्न गर्न सरकारले विशेष सुरक्षा रणनीति अबलम्बन गरेको जानकारी दिए ।
उनले नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले आहृवान गरेको यातायात बन्द जनस्तरबाट अवज्ञा भएको भन्दै त्यस कार्यको प्रशंसा गरे । लोकतन्त्र, विधिको शासन र मानवअधिकारको प्रत्याभूतिका लागि आमजनसमुदायको सहभागिता कति महत्वपूर्ण हुन्छ भन्ने कुरा यसपटकको आमहड्तालमा जनस्तरबाट भएको अवज्ञाबाट पुष्टि भएको उनको भनाइ थियो ।
‘केही दिनदेखि चुनाव बहिष्कार गर्ने प्रयोजनका लागि आव्हान गरेको भनिएको बन्द र हड्ताललाई तिरस्कार गर्दै आमजनसमुदाय, नागरिक समाज, सञ्चारमाध्यम, व्यवसायी, उद्यमीलगायत सबैले स्व:स्फूर्त रूपमा अवज्ञा गरी जनजीवन सामान्य भइरहेको अवस्थाबाट हामी थप उत्साहित भएका छौँ,’ उनले भने, ‘लोकतन्त्र, विधिको शासन र मानवअधिकारको प्रत्याभूतिका लागि आमजनसमुदायको सहभागिता कति महत्वपूर्ण हुन्छ भन्ने कुरा यसपटकको आमहड्तालमा जनस्तरबाट भएको अवज्ञाबाट पुष्टि भएको छ ।’
प्रतिक्रिया