शासकीय स्वरूपमा फ्रेन्च मोडल उपयुक्त : कार्टर

काठमाडौं, ३ मंसिर । अमेरिकी पूर्वराष्ट्रपति तथा कार्टर सेन्टर प्रमुख जिमी कार्टरले शासकीय स्वरुपका विषयमा फ्रेन्च मोडल उपयुक्त हुने सुझाव दिएका छन् ।

दोस्रो संविधानसभा चुनावको पर्यवेक्षण गर्न आएका कार्टरले आइतबार राष्ट्रपति डा. रामबरण यादवसंगको भेटमा सबै शक्तिबिच समझदारी कायम गर्ने मिलनबिन्दु फ्रेन्च मोडल नै भएको धारणा व्यक्त गरेका हुन् । फ्रेन्च मोडल भन्नाले राष्ट्रपति र प्रधानमन्त्रीमा समान अधिकार शासकीय स्वरुप हो । राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले कार्टरको भेट शिष्टाचार मात्र भएको उल्लेख गर्दै उनले सर्वपक्षिय सहमती भए फ्रेन्च मोडल पनि उत्तम विकल्प हुने सुझाव दिएको जानकारी दिए ।
‘वेष्ट मिनिष्टर प्रणाली र फ्रेन्च मोडलबारे प्रसङगवस कुरा निस्केको हो,’ राष्ट्रपतिका सल्लाहकार दाहालले भने, ‘यसमा उहाँले यही गर्नुपर्छ भनेको होईन ।’
दाहालका अनुसार भेटमा राष्ट्रपति डा. यादवले शासकीय स्वरुप र संघियताजस्तो महत्वपुर्ण विषयमा संविधानसभा चुनावपछि बन्ने सार्वभौम सभाले निर्णय लिने जवाफ दिएका । राष्ट्रपतिसगको भेटका लागि राष्ट्रपति कार्यालय शीतल निवास पुगेका कार्टरले समसामयिक राजनीतिक अवस्था, मंगलबार हुने दोस्रो संविधानसभा चुनाव र संविधानका मूलभूत विषयबारे चासो राखेका थिए ।
भेटमा राष्ट्रपतिले नया बन्ने संविधानसभाको प्रमुख विषय नै शासकीय स्वरुप र संघीयता हुने उल्लेख गर्दै संविधान तोकिएको समयमै बन्ने विश्वास व्यक्त गरेका थिए । संविधानसभा चुनावमा अन्र्तराष्ट्रिय समुदायको महत्वपुर्ण सहयोग रहेको भन्दै राष्ट्रपतिले चुनाव शान्तीपूर्ण सम्पन्न हुने विश्वासमा आफू रहेको बताएका थिए । उनले चुनावका साथै नेपालको सामाजिक आर्थिक विकासमा अन्र्तराष्ट्रिय समुदायको सहयोग रहेको जानकारीसमेत गराएका थिए ।
शितल निवासमा करिव आधा घण्टा भएको भेटमा राष्ट्रपतिले चुनावको अवलोकन गर्न पनि कार्टरलाई आग्रह गरेका थिए । कार्टरले संसारका विभिन्न मुलुकमा भएका चुनावको कार्टर सेन्टरले पर्यवेक्षण गर्दै आएको जानकारी जानकारी गराएका थिए । उनले युरोपेली सङघको पर्यवेक्षण ‘मिसन’सँग मिलेर आफू नेतृत्वको टोलीले काठमाडौं उपत्यकाका विभिन्न मतदान केन्द्र र मतगणनास्थलको पर्यवेक्षण गर्ने जानकारीसमेत राष्ट्रपतिलाई दिएका थिए ।
कार्टरले आइतवारै अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई पनि भेट गरेका थिए ।

प्रतिक्रिया