चितवन : तरकारीको भाउमा ५० प्रतिशत भन्दा बढीले वृद्धि भएपछि सर्वसाधारण मर्कामा परेका छन् । कात्तिकको सुरुदेखि बढ्न थालेको भाउ आकासिने क्रम बढेको उपभोक्ता बताउँछन् । सडकमा भएको अवरोध र चुनावको मौका छोपी व्यापारीले तरकारीको भाउ बढाएको उपभोक्ताले आरोप लगाएका छन् । जिल्लामा निर्वाचनको पूर्वसन्ध्या भएकाले प्रशासनको ध्यान जान नसकेकाले यसरी तरकारीको भाउ वृद्धि भएको हो ।
मौका छोपेर व्यवापारीले मनोमानी पैसा लिने गरेको चितवनका स्थानीय उपभोक्ता श्रीराम नेपालले बताए । भेंडे खुर्सानीको भाउ अहिले पाउकै ८० रुपिँयामा किनबेच भइरहेको छ । यो महिनाको सुरुवातदेखिनै बढेको भाउ नियन्त्रणको प्रयास हुन सकेको छैन । यस्तै गोलभेंडा अघिल्लो महिनामा ४० रुपिँया देखि ६० रुपिँयासम्म रहेकोमा अहिले एक सय रुपिँया बिक्री भइरहेको छ । हाटबजारमै अधिकांश तरकारीको भाउ एक सय भएपछि अन्य भित्री पसलमा झन् महँगो भएको छ ।
काउली प्रतिकिलो ८०, बोडी एक सय रुपिँया प्रतिकिलो पुगेको छ । भिन्डी, करेला पनि एक सयको हाराहारीमा रहेको तरकारी खरिद गर्न आएका विद्यार्थी रामकृष्ण शर्माले बताए । तरकारीको भाउ बढेकाले कोठामा बसेर आर्थिक जोहो गर्न गाह्रो भएको उनको भनाई छ । सुरक्षाकर्मी र प्रशासनको ध्यान निर्वाचनमा केन्द्रित भएकाले बजारभाउ अनियन्त्रित भएको भरतपुरका स्थानीय राजु सेढार्इंले बताए । पहाडबाट झरेको तरकारी सस्तोमा लिने अनि उपभोक्तालाई भने महँगोमा बेच्ने गरेको उपभोक्ताले गुनासो गरेका छन् । अहिले एक्कासि तरकारीको भाउ बढेकाले प्रसासनले नियन्त्रण गर्नुपर्ने उपभोक्ताको भनाइ छ । यता व्यापारी भने तरकारीको उत्पादन कम भएको र बजारमा आपूर्ती भन्दा माग बढेकाले भाउ बढेको तर मनोमानी नगरेको दाबी गर्दै आएका छन् । (सौस)
प्रतिक्रिया