दलहरू झन् व्यस्त

काठमाडौं : निर्वाचन आचारसंहिता लागू भएसँगै सबै दलको चुनावी प्रचार–प्रसार अभियान शनिबार रातिबाट समाप्त भएको छ ।
निर्वाचन आयोगले प्रचार–प्रसारका कार्यक्रम नगर्न सबै राजनीतिक दललाई आग्रह गरिसकेको छ । निर्वाचन प्रचार–प्रसारको अन्तिम दिन शनिबार काठमाडौंलगायत देशभरको चुनावी माहोल हेर्न लायक थियो । शनिबार विहानैबाट विभिन्न राजनीतिक दल र्‍याली, आमसभा, सांस्कृतिक कार्यक्रमलगायत चुनावी कार्यक्रम गर्नमा व्यस्त थिए । काठमाडौं क्षेत्र नम्बर १० बाट पनि उम्मेदवार बनेका एमाओवादी अध्यक्ष पुष्प कमल दाहाल पनि दिनभर चुनावी कार्यक्रममा व्यस्त रहे । दाहालले शनिबार फर्पिङ, छैमलेलगायत क्षेत्रमा पुगेर मतदातासग भोट मागे । अध्यक्ष दाहालले जनताले यसपटक आफ्नो पार्टीलाई बहुमत दिने आशा व्यक्त गरे । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि शनिबार विहान मत माग्दै काठमाडौं क्षेत्र नम्बर २ अन्तर्गत पर्ने गोठाटार पुगे ।
गोठाटारका केही क्षेत्रमा मत मागिसकेपछि नेपालले चुनावी सभालाई पनि सम्बोधन गरेका थिए । नेपालले एमाओवादीले मत किन्न खोजेको आरोप शनिबार पनि लगाए । शनिबार काठमाडौंका विभिन्न स्थानबाट राजनीतिक दलहरूले मोटरसाइकल र्‍याली पनि निकालेका थिए । शनिबारको र्‍यालीले काठमाडौंको ट्राफिक व्यवस्थापनमा पनि केही समस्या देखिएको थियो ।
काठमाडौं क्षेत्र नम्बर २ मा शनिबार नेपाली कांग्रेस र एमाले दुवै पार्टीले मोटरसाइकल र्‍याली निकालेका थिए । दुवै दलको मोटरसाइकल र्‍याली लप्सेफेदी गाविसको जर्सीङपौवामा आमनेसामने भएका थिए । शनिबार नै काठमाडौंका विभिन्न राजनीतिक दलका उम्मेदवारले आफ्नो अन्तिम चुनावी सभा गरे । आफ्नो पक्षमा चुनावी माहोल देखाउन विभिन्न राजनीतिक दलले बसमा कार्यकर्ता ओसारेका थिए । शनिबार राति अवेरसम्म पनि पर्चा, पम्प्लेटलगायत सामग्री टाँस्नमा विभिन्न राजनीतिक दलका कार्यकर्ता व्यस्त देखिन्थे । (सौस)

प्रतिक्रिया