कार्टर काठमाडौंमा

काठमाडौं, २ मङ्सिर । अमेरिकाका पूर्वराष्ट्रपति एवम् कार्टर सेन्टरका संस्थापक जिम्मी कार्टर शनिवार बिहान काठमाडौं आइपुगेका छन् । आगामी मंगलबार हुने संविधानसभा निर्वाचन पर्यवेक्षणका लागि उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी काठमाण्डौ आएका हुन् । पूर्वराष्ट्रपति कार्टर नेतृत्वको प्रतिनिधिमण्डलमा थाइल्यान्डका पूर्व उपप्रधानमन्त्री डा सुराकियार्ट लगायत कार्टर सेन्टरका उच्च अधिकारी छन् । राष्ट्रपति डा रामवरण यादवसग पूर्वराष्ट्रपति कार्टरले सोमबार राष्ट्रपति कार्यालय र अध्यक्ष रेग्मीसग आइतबार बिहान प्रधामन्त्री निवास बालुवाटारमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कार्टर सेन्टरका अनुसार प्रतिनिधिमण्डलले निर्वाचनसग सरोकार राख्ने प्रमुख राजनीतिक दल, स्वतन्त्र उम्मेदवार, नागरिक समाजका सङ्घसंस्था, सरकारी अधिकारी, अन्तर्राष्ट्रिय समुदायसग भेटवार्ता गर्नाका साथै मतदान एवम् मतगणनाको पर्यवेक्षण गर्नेछ । पहिलो संविधानसभा निर्वाचनको पर्यवेक्षणका लागि पनि उनको नेतृत्वको टोली नेपाल आएको थियो । तेर्‍ह उच्च सुरक्षाकर्मी लिएर काठमाडौ आएका कार्टरको भ्रमण तालिकालगायत अन्य विवरण सुरक्षा संवेदनशीलता भन्दै सेन्टरले सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया