मर्दहरू नामर्दको भर परेपछि …

Sanket Koiralaएउटा छुकछुके मुसा जाँडको घयाम्पोमा परेछ । भगीरथ पयास गर्दा पनि उम्कन सकेन । यो दृश्य टाढाबाट एउटा बिरालाले देखिरहेका थियो । बिरालो न परो घ्याम्पोको मुखमा गएर मुसालाई जिस्क्याउँदै टन्न जाँड धोकन सल्ला दियो । तर, मुसा परम् शत्रुसँग दोस्ती गरेर भए पनि त्यहाँबाट उम्कन चाहन्थ्यो । बिरालोलाई अनुनयविनय गर्दै भन्यो, दाई म स्वभावैले धानचरी । तिम्रो कसम धान उब्जाउने किसानको कसम म बरु तिम्रो आहरा बन्न तयार छु तर जाँडमा डुबेर अगति परी मर्न चाहन्न । बिन्ती छ,्र मलाई यहाँबाट मुक्त गरइदेउ ।
बसीबसी आहरा मुखैमा आउन लागेपछि बिरालो लोभियो । वाचा कसम गराएर आहराको स्वीकृतिपछि बाहिर निकालिदियो । मुसा बाहिर निस्किन सक्दै खुरुरुरु कुदेर दुलोमा पस्यो । बिरालोले वाचा सम्झाउँदा उत्तर दियो, तेरीमा फन्टुस् बिराला, जँँड खाका बेला के–के, त्यसको हिसाब हुन्छ मातेका बेला भनेका कुरा पत्याउने तिमी कस्ता मुर्ख, लौ तिमी आफ्नो बाटो लाग, म आफ्नो बाटो लागेँ बाइबाई । आखिर बिरालो आफ्नो मुर्खताप्रति पछुताउँदै हिस्स बूढी, हरिया दाँतको पात्र बन्न पुग्यो ।
सम्भावत: चुनाव पनि नेताहरूका लागि जाँडसरह हुँदो रहेछ । त्यसै पनि पँधेरे गफबाट माथि उठ्न नसकेका ती नेताको अवस्था अहिले जाँडमा चोबालिएको त्यही मुसाजस्तो भएको छ । न अध्ययन, न इमानदारी, मान्छेभित्र हुनुपर्ने कुनै गुणले तान्न नसकेपछि तिनीहरू तल्लोस्तरमा उत्रिएर एकअर्कालाई धारेहात लगाउन हानथाप गरिरहेका छन् । लाटाले बाउलाई घुक्र्याएजस्तो घुक्र्याएका छन् । माओवादी, कांग्रस र एमालेमध्ये एकलाई बहुमत दिएन भने संविधान बन्दैन रे त्यो घमण्डभित्र देशभक्ति नभएर जागिरको लोभ छ । सायद राजनीतिलाई जागिरमा करार गरिने मुलुक यही नै पहिलो र अन्तिम हो । होइन भने राजनीतिमा सबैभन्दा ठूलो संविधान इमानदार र निष्ठा हो । निष्ठा र लोभ नभएका शाहसी एउटा पुरुष उदय देशमा हुने हो भने अहिले पेचिला बनाइएका सबै विषय खोटो मोहोर सावित हुन्छन् । देशका जनतालाई बोतलको पानी रित्याउने सुकुटी माछा होइन, प्रत्येकका हातमा माछा मार्ने जाल थमाउने राजनीति चाहिएको छ ।
संघीयता, जातजाति, भाषाभाषिका नारा कृष्णलीलाले बाल श्रीकृष्णले चन्द्रमा झारेर ल्याइदिने हठ गरेपछि आमा यशोदाले थालमा पानी भरेर चन्द्रमाको छाया धर्तीमा झारी थुम्थुम्याएजस्तै भएको छ । बिरालो कुन रंगको छ भन्ने हो । उसको परिचय नै त्यही हो । अघिलो महिना यो देशबाट १३ हजार युवा विदेसिए । उतै रहेकाहरूको संख्या लाखौँ छ । युवा विदेसिँदा देशको भविष्य कता जाने हो, बहसको अर्को पाटो हो । तर, विदेशिएपछि तिनीहरूले सिकने सभ्यता, अनुशासन र प्रविधिसँगको तादात्मय साँच्चै अनुकरणीय छ । प्रविधिक ज्ञानका नाममा मोबाइल चलाउँदा हरियो थिचे बोल्छ, रातो थिचे काटिन्छ भन्ने फर्मुला बुझेका नेताहरूलाई कथाका रवाफी राजा अकबरलाई रेश्मी लुगा लगाइदिएको भ्रममा नांगो घुमाउने बीरबल क्षमता बोकेका थुप्रै बीरबल अहिले गाउँमा जन्मिसके भन्ने बुझ्न जरुरी छ । त्यसैले त भनिन्छ आशावादी मानिसले हवाइजाहज बनाउँछ, निराशावादीले प्यारासुट बनाउँछ भने दुवै नगर्नेले जमीनमा बसेर कुरा जोत्ने काम गर्छ । त्यसो त इतिहास साँक्षी छ, हाम्रो राजनीति धरातल कहिल्यै मजबुत भएन । राज्य सञ्चालनले आफू उभिने पाइलोबाहेक अरुतिर ध्यानै पुर्‍याएनन् । राजनीति शास्त्रले स्थापित गरेको जनता कहिल्यै गलत हुँदैन भन्ने मान्यता नबाँचेको भए हाम्रोमा हुर्किएको राजनीतिभित्रका दलालीले घर खरानी बनाएर त्यसको टीका लगाउनेबाहेक अरु सिर्जनशील सूत्र केही सिकाएन । फलस्वरुप सिक्ने तर नसिकाउने अपराधको अर्को कडी राजनीति बन्न पुग्यो । अझ रोबट राजनीति हाम्रो आदर्श बन्यो ।
नेपालको राजनीति विवेक कम, निर्देशन ज्यादाबाट चल्ने गरेको छ । अहिले मात्र होइन, उहिल्यैदेखि नेपालको राजनीतिमा तीर्थाटन गर्न आएको सामान्य मानिसदेखि हिमाल घुम्न आएको विदेशीले पनि खेल्ने गरेको तथ्य भेटिन्छ । जसको परिणाम गल्ती र कमजोरीको थाक यसरी लाग्दै गयो कि त्यो थाक राज्य सञ्चालनको अकाट्य नजिर बन्न पुग्यो । तीर्थाटनमा आएकी एउटी महिलासँग घरजम गर्न पदीय गरिमा र मर्यादासम्म दाउमा लाउनपछि नपर्ने रणबहादुर शाहले विरासतको रोलक्रम नै तहसनहस बनाइदिए । कमजोरीलाई सच्याउन होइन, तासको किट्टी खेलका कप्टी खेलाडी जस्तो एक्का ट्रायल फोडेर अन्त्यमा एक्काजुट देखाई अरुलाई बिगार्ने अभ्यासमा पूरै राजनीति अभ्यस्त भयो । हरेक राजनीतिक प्राणी सत्तामा हुन्जेल गोलचक्करमा फस्ने, त्यहाबाट झरेपछि जाँडको धङ्धङले नछोडेको जँड्याहाजस्तो भएर जीवन गुजार्नेहरू थुप्रै छन् । यसैको परिणाम चटकमा मुलुक सिंगापुर बनाउनेदेखि लिएर स्याटेलाईटबाट बिजुली बत्ती बाल्नेहरू समेत देखापरे । यिनीहरूलाई के थाहा ? घोडाको सुन्दर तस्बिर बनाउनु र तबेलामा घोडा पाल्नुबीच आकास पातालको अन्तर छ ।
कृष्णलाल अधिकारी मकैको खेती पुस्तक लेखेको अधियोगमा मारिए । आज पनि मकैमा खुम्ले लाग्छ । विज्ञले त्यसको ओखती बताउँछन् । तर सत्ता र शक्तिबाट अन्धो मानिस कत्ति भयभीत हुँदोरहेछ भने खुम्ले र आफूमा अन्तर देख्दो रहेनछ । कृष्णलाल मारिए प िनउनको लेखनी सत्यबाट डगमगाएको छैन । मकैको खेती पुस्तकको भूमिकामा भनिएको छ– …‘सरकारले आफ्ना देशका कुकुरभन्दा विदेशी कुकुरको बढ्ता मान गर्छ तर चोड–डाँडाबाट हाम्रो रक्षागर्ने बखत गद्दामा सुत्ने विदेशी कुकुर काम लाग्दैनन् । स्वदेशी कुकुर काम लाग्छन् ।’
पूरा विश्व ढुकुर मार्ने बन्दुकमा भर परिरहेका बेला मेसिनगन बनाउने गेहेन्द्रशमशेरको उत्साहकोनिरन्तरता भइरहेको भए चीनको इच्छाशक्ति जापानसम्म पुर्‍याएर युद्धविराम गराइदिएकोमा टंकप्रसाद आचार्यलाई बोबेल शान्ति पुरस्कार र लक्ष्मीप्रसाद देवकोटालाई नोबेल साहित्य पुरस्कार प्रदान गरिसकिएको हुने थियो। ती सुखद दिनको प्रारम्भ भइदिएको भए आज नेपाली शिष्ट, सभ्य, सुसंस्कृत नेपालका समृद्ध नागरिक बन्ने थिए । राज्य भनेको एउटा त्यस्तो अकाट्य शक्ति हो, जसले अहिले मात्र हैन, २० वर्षपछि जन्मिनेहरूको पनि भविष्य सुरक्षित गरिदिनु पर्छ ।
नेताहरू थुन्ने पनि अरु नै छुटाउने पनि अरु नै । शायद मर्दहरू नामर्दको सुरक्षामा बसेपछि यस्तै हुन्छ । कसैप्रतिको आग्रह, पूर्वाग्रह होइन । इतिहास साक्षी छ । २००४ सालमा नागरिक स्वतन्त्रताकोमाग गर्दै आन्दोलन चकिदो थियो। नजरबन्दमा रहेका बीपी कोइरालाको स्वास्थ्य स्थिति गम्भीर बन्दै गएको थियो । भारतीय नेताहरू महात्मा गान्धी, डा. राममनोहर लोहिया, डा. राजेन्द्रप्रसाद, डा. श्यामप्रसाद मुखर्जीहरूले मानवताको नाताले रिहाईको माग गर्दै नेपाल सरकारलाई चिठ्ठी लेखेका थिए । पद्मशम्शेरका नाममा लोहियाले लेखेका पत्रमा भनिएको छ– ‘श्रीकृष्णप्रसाद उपाध्याय महात्मा गान्धी र मेरो पत्र लिएर तपाईलाई भेट्न आउँदैछन् । श्री विश्वेश्वरप्रसाद कोइरालाको अवस्था मरणासन्न अवस्थामा पुगेको यहाँ सुन्नमा आएको छ । उनलाई बम्बई ल्याउन सके एकपटक बचाउने कोशिस गर्न सकिन्थ्यो । मलाई विश्वास छ यी युवकको मुत्यृबाट हामी सवैलाई ठूलो क्षति हुन्छ । यिनलाई जेलमुक्त गरेमात्र बचाउने थोरै आशा बाँकी रहन्छ । विश्वेश्वरको रिहाई नेपाल–भारत दुवैका लागि कल्याणकारी हुन्छ । आशा छ– तपाईको तर्फबाट मानवीय कर्म हुनेछ । यता पद्यशम्शेरलेपनि प्रजातन्त्रको माग गर्दै सत्याग्रहमा उत्रिएकाहरूको माग सम्बोधन गर्नकै लागि नेहरूसँग आग्रह गरेका थिए । सोही प्रयोजनका लागि नेहरूले आफ्ना अत्यन्तै निकट श्रीप्रकाशजीको नेतृत्वमा रधुनाथसिंह, रामउग्रसिंह जस्ता कानुनविद् नेपाल पठाइदिए । आन्दोलन भइरहेकै अवस्थामा मातृकाप्रसाद कोइराला र गणेशमानसिंह नेहरूलाई भेट्न गए । नेहरूले भनेका थिए– तपाईहरू के का आधारमा विवरण दिनुहुन्छ थाहा छैन मलाई । मैले पनि आफ्ना चारजना प्रतिनिधिहरू पठाएँ ।

प्रतिक्रिया