काठमाडौ, २९ कात्तिक । एमालेले निर्वाचनको परिणाम आफ्नो पक्षमा बनाउने आफना नेता तथा कार्यकर्ता माथि सांघातिक आक्रमण सुरु गरेको आरोप लगाएको छ ।
एमालेले आज (बिहीबार) विज्ञप्ति जारी गरेर एमाओवादीका कार्यकर्ताले बैतडी, सिन्धुली, ओखलढुंगा, रुकुमलगायतका जिल्लामा आफ्ना नेता तथा कार्यकर्ता माथि सांघातिक आक्रमण गरेको आरोप लगाएको हो । एमालेले एमाओवादीको आक्रमणमा परेर उम्मेदवारसहित दर्जन बढी कार्यकर्ता घाईते भएको जारी विज्ञप्तिमा उल्लेख छ ।
एमालेले एमाओवादीको सांघातिक आक्रमण र आचार संहिता उल्लंघनका सम्बन्धमा आजै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको जनाएको छ । उसले एमाओवादीका हिंसात्मक घटना तुरुन्त रोक्न माग गरेको छ ।
यसैबीच, ओखलढुङगामा एमाओवादीका कार्यकर्ता रामकृष्ण ढुङगेल नेतृत्वको हतियारधारी समूहले ग्राम ज्योति निमाविमा एमाले कार्यकर्तालाई आक्रमण गरेको जनाएको छ । एमाओवादीले आफ्ना केही कार्यकर्तालाई बन्दी बनाएको आरोप पनि लगाएको छ ।
उता, रुकुममा एमाओवादीका कार्यकर्ताले वीरकोट–८ मा आफ्नो सभामा आक्रमण गरेको आरोप लगाएको छ । आक्रमणमा वीरबहादुर शाही र जुद्धबहादुर सार्की गम्भीर घाईते भएको जनाएको छ ।
यता, सिन्धुलीमा पनि एमाओवादीले एमालेका कार्यकर्ता माथि आक्रमण गरेको जनाएको छ । एमाओवादीका उम्मेदवार लेखनाथ दाहालले आफनै नेतृत्वमा एमालेका कार्यकर्ता माथि कुटपिट गरेको विज्ञप्तिमा जनाईएको छ ।
वाइसीएलको आक्रमणमा परेका आफ्ना कार्यकर्ताको टाउको, शरीर लगायतका भागमा गम्भीर चोट लागेको एमालेको भनाई छ ।
प्रतिक्रिया