नेता–कार्यकर्ताले आफ्ना गाडी नचलाएको प्रजिअको भनाइ

Busधनगढी, २९ कात्तिक । बिगत चार दिनदेखिको बन्द यातायात सेवा अझै सञ्चालन हुनसकेको छैन् । बन्दका कारण ब्यवसायी ठूलो मारमा परेका छन् भने सर्वसाधरणहरु आफ्नो गन्तब्यसम्म जान नपाएर बीच बाटोमा अलपत्र परेका छन् ।

प्रहरी प्रशासनले यातायात सञ्चालन गर्न भरपर्दो शान्तिसुरक्षाको प्रबन्ध मिलाएको बताए पनि यातायात ब्यवसायीले भने शान्तिसुरक्षाका कारण बन्द यातायात सञ्चालन गर्न समस्या भएको बताएका छन् । उनीहरुकाअनुसार सरकारले सडकमा गुड्ने गाडीको सुरक्षा दिने भनेपनि बन्दकर्ताले बन्द अबज्ञा गरे सवारी साधन र ब्यक्तिलाई जे पनि गर्नसक्छौ भन्दै धम्की दिएकोले अबरुद्ध यातायात सञ्चालन गर्न समस्या उत्पन्न भएको छ ।
सरकारी पक्षबाट बन्द यातायात सञ्चालन गर्नुपऱ्यो भनेर निरन्तर दबाब आउने र बन्दकर्ताबाट आफ्नो बन्द अबज्ञा नगर्न भनेर धम्की आउने गरेकोले यातायात ब्यवसायीहरु मारमा परेको सुदूरपश्चिम यातायात ब्यवसायी संघ धनगढीले जनाएको छ । नेकपा–माओवादीसहितको मोर्चाले सोमबारदेखि यातायात बन्द गरेको हो ।
माओवादीसहितको मोर्चाले सोमबार आमहड्तालको घोषणा गरी मंगलबारदेखि सार्वजनिक यातायात सेवा मात्र बन्दको घोषणा गरेको छ । बन्दको समयमा सवारी साधनमा भएको क्षति सरकारले उपलब्ध गराउने बताएपनि व्यवसायीहरुले सवारी साधन चलाउन आलटाल गर्नेगरेको सुरक्षार्थ खटिएका प्रहरीको भनाइ छ ।
सुदूरपश्चिमका सबैजसो जिल्लामा फाट्फुट्टरुपमा सदरमुकाम आसपास छोटो दूरीसम्मका लागि गाडी सञ्चालन हुने गरेपनि लामो दूरीका गाडी सञ्चालन भएका छैनन् । यातायात ब्यवसायीहरुले आफ्ना सवारी साधन बसपार्क तथा घरमा थन्क्याएर राखेका छन् ।
दाहोरो मारमा परेको बताउने ब्यवसायीहरुले आफ्नो र गाडीको भरपर्दो सुरक्षा नभएकोले बाध्य भएर गाडी थन्क्याएर राख्नुपरेको बताएका छन् । माओवादी मोर्चासहितको बन्द आब्हानसागै सवारी साधन नचलेपछि सयौं यात्रुहरु आफ्नो गन्तब्यसम्म जान नपाएर बीच बाटोमा अलपत्र परेका छन् ।
बन्द खुल्ला र घर जाउाला भनेर धनगढीमा बस्दाबस्दा बेखर्ची भएको बझाङका दिलबहादुर भण्डारीले बताए । उनले सरकारले सुरक्षा स्कर्टिङ्मा गाडी पास गराउने र कथंमकदाचित क्षति भएमा क्षतिपूर्ति दिने भन्दाभन्दै पनि यातायात ब्यवसायीहरुले गाडी सञ्चालन नगरी बन्दको समर्थन गरेको आरोप लगाए ।
सरकार र यातायात ब्यवसायीबीच मंगलबार यातायात चलाउने र क्षति भए सरकारले भरणपोषण गर्ने सहमति भएपनि व्यवसायीहरुले सवारी साधन चलाउन आलटाल गरिरहेको सम्बद्ध सरकारी अधिकारीको भनाइ रहेको छ । ‘अन्य जिल्लामा सवारी साधन निधृक्कका साथ सञ्चालन भएका छन् यता पनि चलाउनुस प्रहरी प्रशासन शान्तिसुरक्षा दिन तयार छ’ भन्दा पनि ब्यवसायीहरुले नमानेको कैलालीका प्रमुख जिल्ला अधिकारी बेदप्रकाश लेखकले बताए ।
प्रजिअ लेखकले आफूसागको भेटघाट तथा सम्पर्कमा शान्तिसुरक्षाको अवस्था ठिक रहेको भन्दै गाडी सञ्चालन गर्ने ब्यवसायीहरुले बताएपनि पनि भनाई बमोजिम गाडी सञ्चालन नगरेको उनले बताए ।
शान्तिसुरक्षाको राम्रो प्रबन्ध छ । यदी क्षति भइहाले पनि तत्काल ५० हजार र मूल्यांकनको ९० प्रतिशत क्षतिपूर्ति उपलब्ध गराउने भन्दाभन्दै पनि यातायात नचलाएको प्रजिअ लेखकले आरोप लगाए । कैलालीमा धेरैजसो चुनावमा सहभागी दल आबद्ध नेता तथा कार्यकर्ताहरुले पनि आफ्ना गाडी घरमा लिएर थन्क्याएको उनले बताए । चुनावीमा सहभागी दलका नेता कार्यकर्ताहरुले नै बन्दको अबज्ञा गर्नुपर्नेमा उल्टै आफ्ना सवारी साधन घरमा थन्क्याएर राखेका छन् । यसले गर्दा बन्दकर्ताहरुलाई प्रत्यक्ष फाइदा पुगेको प्रजिअ लेखकले बताए ।
प्रचारप्रसारमा रहेका दलका सवारी साधन भने निर्वाधरुपमा चलेका छन् । तर यातायात ब्यवसायीबाट सञ्चालन हुनने गाडीहरु ठप्प छन् । यस क्षेत्रमा सुदूरपश्चिम, मालिका, कर्णाली रिभर साइड, महाकाली, पवन दूत, उग्रतारा लगायतका यातायात ब्यवसायी संघ मार्फत दैनिक दर्जनौं गाडी चल्ने गर्छन् ।
सुदूरपश्चिम बस व्यवसायी समिति धनगढीका प्रमुख देबीलाल जोशीले पहाडी जिल्लामा रातीको समय पारेर सुरक्षाकर्मीको स्कर्टिङ्मा ३/४ गाडी पठाउने गरेको बताए । सवारी धनीलाई ब्यक्तिगतरुपमा धम्की आएकोले गाडी सञ्चालन गर्न समस्या भएको उनले गुनासो गरे ।
बन्दका कारण ब्यवसायीहरुलाई बैंकको किस्ता तिर्न समस्या भएको छ । दैनिक लाखौं घाटा भइरहेकोले ब्यवसायीहरुलाई बन्दले उठ्न नसक्ने गरी सधैका लागि थला पारेको जोशीको भनाइ छ । यातायात व्यवसायी समितिले त्रासको वातावरण भएकाले घाटा लागे पनि गाडी घरमै थन्क्याएर सञ्चालन गर्न नसेको बताए ।

प्रतिक्रिया