पर्यवेक्षणमा विदेशी चासो बढ्दै

काठमाडौं, २९ कात्तिक । संविधानसभाको निर्वाचनको पर्यवेक्षणका लागि दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रका अधिकांश प्रमुख निर्वाचन आयुक्तसहित निर्वाचन आयुक्तहरू नेपाल आउने भएका छन् । साथै, जापान, अस्ट्रेलिया, बेलायतबाट संसदीय टोली र सरकारका प्रतिनिधिले पनि निर्वाचन पर्यवेक्षण गर्नुहुने निर्वाचन आयोगका सहसचिव सुरेश अधिकारीले जानकारी दिए ।

अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टर पनि निर्वाचन पर्यवेक्षणका लागि यसै साता नेपाल आउने बताइएको छ । उनी संस्थापक रहेको कार्टर सेन्टरले निर्वाचनको पर्यवेक्षण सुरु गरिसकेको छ । पूर्व राष्ट्रपति कार्टर अधिल्लो संविधानसभाको निर्वाचनको लागि पनि नेपाल आएका थियो । भारतका निर्वाचन आयुक्त, भुटानका प्रमुख निर्वाचन आयुक्तसहित आयुक्त, बङ्गलादेशका प्रमुख निर्वाचन आयुक्त र सहायक, मालदिभ्सका प्रमुख निर्वाचन आयुक्त र सहायक, श्रीलङ्काका प्रमुख निर्वाचन आयुक्त र सहायक पनि नेपाल आउने बताइएको छ । यसैगरी थाइल्याण्डका प्रमुख आयुक्त, जापान सरकारको तर्फबाट दुईजना, व्रिटेनका चार र अष्ट्रेलियाका पााच जना अधिकारी पर्यवेक्षणका लागी नेपाल आउन लागेको बताइएको छ । विभिन्न २७ जना विशिष्ट प्रतिनिधिलाई निर्वाचन आयोगले निमन्त्रणा पठाएको थियो । यसैगरी आयोगले नेपालस्थित विदेशी राजदूतलाई मतदानको दिन निर्वाचन अवलोकन गर्न पनि आमन्त्रण गरेको छ । आगामी निर्वाचनमा तीनवटा अन्तर्राष्ट्रिय संस्थाले निर्वाचन पर्यवेक्षण गर्न आयोगबाट अनुमति लिएका छन् ।
जसमा युरोपेली सङ्घले १००, कार्टर सेन्टरले ८५ र एसियन नेटवर्क फर फ्रि इलेक्सन (एन्फ्रेल)ले ५४ गरी २३९ जना अन्तर्राष्ट्रिय पर्यवेक्षकले निर्वाचनको पर्यवेक्षण गर्नेछन् । निर्वाचन पर्यवेक्षणका लागि ५४ वटा राष्ट्रिय संस्थाले आयोगबाट अनुमति लिएका छन् । अनुमति लिएकामध्ये १३ हजार ७६० जनाले आयोगबाट परिचयपत्र समेत लिइसकेका छन् । अनुमति लिएका सबै आयोगमा परिचयपत्र लिन आएमा निर्वाचनको पर्यवेक्षण गर्नेको सङ्ख्या ७४ हजार पुग्नेछ । राष्ट्रिय पर्यवेक्षकका लागि तराई, हिमाल, पहाड सबै क्षेत्रका निर्वाचन क्षेत्र जानुपर्ने व्यवस्था गरिएको छ । साथै अघिल्लो संविधानसभा निर्वाचनको पर्यवेक्षण गरेको प्रतिवेदन आयोगमा नबुझाएका संस्थालाई आयोगले यसपटकको निर्वाचनमा पर्यवेक्षण गर्न अनुमति दिएको छैन ।

प्रतिक्रिया