राजधानीको फोहोर व्यवस्थापनमा कठिनाइ

foharकाठमाडौं, २८ कात्तिक । सरकारले नुवाकोटको सिस्डोलबाहेक अन्यत्र वैकल्पिक ‘डम्पिङसाइट’को व्यवस्था गर्न नसक्दा राजधानीको फोहर नियमित रूपमा उठ्न सकेको छैन । जसका कारण सहरका कतिपय चोक, मूल सडक, गल्ली र भित्री गल्ली कहिल्यै फोहोरबाट मुक्त हुन सकेका छैनन् ।

८ वर्षदेखि काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापन गरिदै आएको सिस्डोलमा सुरुदेखि नै बारम्बार अवरोध आइरहेको छ । त्यसैले दिनहँु फोहोर उठ्न नसक्दा राजधानीका बागबजार, पुतलीसडक, नयाँबानेश्वर, कालिमाटी, कुलेश्वर, टंकेश्वर, चक्रपथको सामाखुसीलगायत क्षेत्रको सडक बाह्रैमासजसो फोहोरबाट खाली रहन्न । काठमाडौं महानगरपालिका कार्यालयका अनुसार सिस्डोलमा फोहर फाल्न थालेदेखि अहिलेसम्म ६० पटकभन्दा बढि र दुई सयभन्दा धेरै दिन राजधानीको फोहोर उठ्न सकेको छैन । यस अवधिमा कहिले सिस्डोलका बासिन्दाको विरोध, कहिले स्थानीय निकायका कर्मचारीको आन्दोलन र वर्षायामको बेला पहिरोले फोहर सिस्डोलसम्म पुर्‍याउन अवरोध पुर्‍याएको छ । महानगरबाट निस्कने धेरै परिमाणको फोहोर ºयाँकिने एक मात्र र टाढाको डम्पिङसाइट हुनु र वैकल्पिक व्यवस्था नहुनुले बाह्रैमासजसो फोहोर रोकिने समस्या भइरहेको महानगरपालिकाको वातावरण व्यवस्थापन महाशाखा टेकुका प्रमुख एवं वरिष्ठ इन्जिनियर रविनमान श्रेष्ठले बताए ।
‘एउटा मात्रै टाढाको डम्पिङसाइट, केही परेर अवरोध आए फोहोर सडकमै थुप्रेर रहने अवस्था छ । अन्त लैजाने वैकल्पिक व्यवस्था छैन,’ महाशाखा प्रमुख श्रेष्ठले भने, ‘त्यसैले पटकपटक थरी–थरीको अवरोध हँुदा फोहोर सधैजसो सडकमै अलपत्र हुने गरेको छ ।’ अवरोध भएका बेला उपत्यकामै फोहोर व्यवस्थापन गर्न सकियोस् भनेर दुई वर्षदेखि वैकल्पिक डम्पिङसाइटको खोजी गरे पनि त्यसको व्यवस्था हुन नसकेको श्रेष्ठले बताए । महानगरपालीकाले सिस्डोलजस्तो धेरै टाढा र कुनै पनि किसिमको अवरोध नहुने स्थान भन्दै उपत्यकाकै कीर्तिपुर र जितपुरफेदीमा वैकल्पिक डम्पिङसाइट बनाउन अवलोकन गरेको थियो । तर, उपत्यकाभित्रै डम्पिङसाइट बनाउन उपयुक्त जग्गा नपाइएको महाशाखाले जनाएको छ ।
वातावरण व्यवस्थापन विभाग टेकुदेखि २६ किलोमिटर टाढा रहेको सिस्डोलमा महानगरपालिकाले वातावरण दिवसको अवसर पारेर २२ जेठ ०६२ देखि फोहोर फाल्न सुरु गरेको थियो । वैकल्पिक डम्पिङसाइट नहँुदा गत जेठ अन्तिम सातादेखि दुई महिनासम्म रोकिएर उठ्न नसकेको फोहर मंगलबारसम्म राजधानीका बागबजार, पुतलीसडक, नयाँबानेश्वर, कालिमाटी, कुलेश्वर, टंकेश्वर, चक्रपथको सामाखुसीलगायत क्षेत्रको सडकमा यत्रतत्र छरपष्ट छ । ती क्षेत्रमा सवारीसाधन फोहोर उछिट्याउँदै कुदिरहेका छन् भने पैदलयात्री फोहोरको डंगुरबाटै हिँड्नुपर्ने अवस्था छ ।

प्रतिक्रिया