जनता विकास प्रेमी नेतालाई जिताउन आतुर छन्

purushotam_poudalबाराको ६ वटै निर्वाचन क्षेत्रको गाउँबस्ती यति बेला निर्वाचनको माहौलले तातेको छ । ६ नम्वरबाट एमाले उम्मेदवार बनेका पुरुषोत्तम पौडेललाई जनता र कार्यकर्तासँग भेटघाट र छलफलमा भ्याइ–नभ्याइ छ । विद्यार्थी जीवनबाट राजनीतिमा होमीएका उनी सानै उमेरमा जनपक्षीय प्रधानपञ्च बनेर जनताबीचमा लोकप्रिय बनेका थिए । पञ्चायतकालमा राजनीति गरेवापत पटक–पटक जेल गएका उनी जस्तोसुकै कठिन अवस्थामा पनि राजनीतिबाट बिचलित भएनन् । ०४८ सालयता भएका सबै संसदीय निर्वाचन लडेका उनले परिस्थितिअनुसार हार र जित दुबै व्योहोरे । निर्वाचनमा हार व्यहोरे पनि सधै बाराका जनताबीचमा रहेका उनी जीतलाई मात्र राजनीति मान्दैनन् । यति बेला पुन: निर्वाचनको मैदानमा रहेका पौडेलसँग सौर्यले गरेको साक्षातकार :
यति बेला बाराको सबै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार अग्रभागमा छन् । जनतामा निर्वाचनप्रति आकर्षण बढेको छ । सबै जनता उत्साहका साथ निर्वाचनमा होमिएका छन् । बाराली आमजनताको चासो यति बेला निर्वाचनमा केन्द्रित छ । हरेक ठाउँमा जनता निर्वाचनको चर्चा गर्दै छन् । विगतको निर्वाचन यहाँका जनताले भूलेका छैनन् । आफूले जिताएको उम्मेदवारले क्षेत्रमा के–कति योगदान गरे यहाँका जनता यति बेला समीक्षा गर्दैछन् । उनीहरुको त्यो समीक्षाले एमालेलाई सकारात्मक परिणाम दिनेमा म विस्वस्त छु । जनता यहाँको विकासप्रेमी नेताको खोजीमा छन् । म उनीहरुको त्यो भावना पूरा गर्न चाहन्छु ।
बारा जिल्ला त्यसमा पनि यस क्षेत्रका जनता राजनीीतक रुपले सचेत र वौद्धिक छन् । उनीहरुले निर्वाचनमा भाग लिएका उम्मेदवार र पार्टीको भूमिकाबारे विगत र वर्तमानको समेत बहस गर्दैछन् । विगतका दिनमा कसले के–कति भूमिका निर्वाह गरेको छ भनेर । म आज मात्र होइन, पार्टीको कामको सिलसिलामा होस् वा अरु बेला यहाँको नेताको हैसियतले सधैजसो गाउँगाउँ घुम्ने गर्छु । यति बेला त घर दैलो, कार्यकर्ता भेटघाट, जनतासँगको छलफलमा व्यस्त छु । जनता पर्खेर बसेका छन् नेतासाग गर्ने प्रश्नको पोको बोकेर भन्छन्– खै के गर्नुभयो ? पहिलेको उम्मेदवारले जस्तो जितेपछि फर्केर आउनु हुन्छ कि आउनु हुन्न ? जस्ता प्रश्न को ओइरो लाग्छ । जनता आफ्ना व्यक्तिगत समस्या भन्दैनन् । घरदैलोमा जाने नेतालाई दर्जनौँ सामाजिक समस्या देखाउँछन् । यो जनतामा आएको चेतना हो । यहाँका जनता सचेत एवं चिन्तित छन् कसरी समाजिक समस्याको अन्त्य गर्न सकिन्छ भनेर । जनता सचेत भएको ठाउँमा इमान्दार राजनीतिक कार्यकर्तालाई काम गर्न सहज हुन्छ । को कुन वर्ग र समुदायबाट आएको हो उनीहरु आफै मूल्यांकन गर्छन् । आफ्नो क्षेत्रका लागि कस्तो उम्मेदवार चाहिन्छ विगतमा उसको भूमिका के–कस्तो थियो, सामाजिक र राजनीतिक काममा कस्तो योग्यता छ आफै छुटयाएर मूल्यांकन गर्छन् । हामीले जनताबीचमा आफूले गर्ने र गर्न सक्ने काम मात्र भन्ने हुँदा कुनै समस्या छैन ।
बाराका जनता विगतमा जितेर गएका उमेदवारसँग एकरती पनि सन्तुष्ट छैनन् । उनीहरुले नेपाली जनतालाई न त संविधान दिए न त आफ्नो क्षेत्रका जनतालाई विकास दिए । विगतको संविधानसभाको निर्वाचनमा जनतालाई हुने नहुने आश्वासन दिएर जित्नेहरुले जनतालाई केहि दिन सकेनन् । जसले यहाँका जनता खोक्रा र सस्ता आश्वासन दिने पार्टी र तिनको नेता होइन, जनताबीचमा काम गरेको र गर्न सक्ने पार्टी र नेता रोज्दै छन् । हामी विगत र वर्तमानमा जनताको त्यो रोजाई पूरा गर्न आफूमा पूरा क्षमता छ भनेर सिद्ध गर्न चाहन्छौँ । एमाले जनतालाई नयाँ संविधान र विकास दिन सक्ने दाबी गर्छ । जति–जति बेला एमालेले अल्पमतको सरकार चलायो जनतालाई प्रत्यक्ष लाभ हुने गरी काम गरेको छ । विगतको कामको आधारमा जनताले एमालेलाई साथ र समर्थन दिनेमा म ढुक्क छु । हामी जनताको स्थानीय समस्यालाई नारा मात्र बनाउदैनौँ । व्यवहारमा पूरा गरेर देखाउछौँ । जुन काम गर्न सक्दैनौँ त्यो समस्या भोटका लागि नारा बनाउदैन एमालेले । हामीलाई थाहा छ जनताले ढाट र छलको कहिल्यै विश्वास गर्दैनन् । एमाले ढाटको पछि लाग्दैन, झुठ बोल्दैन र जनतालाई धोका दिदैन भनेर हाम्रो विगतदेखिको व्यवहारले पुष्टि गरेको छ । झुठको सहारामा जित्नुभन्दा सहि बोलेर पराजित हुनु हामीलाई स्वीकार्य हुन्छ ।
बाराका जनतालाई थाहा छ मैले विगतमा जितेको अवस्थामा होस् वा हारेको अवस्थामा जनताको साथ कहिल्यै छोडिनँ । आफ्नो तर्फबाट जे सके गरेको छु । जनप्रतिनिधि नभएको अवस्थामा पनि यहाँको विकास निर्णमा म सधै जनताको साथमा थिएँ । यो क्षेत्रका जनतालाई स्मरण छ यहाँको शिक्षा, स्वास्थ, यातायाता, नदी नियन्त्रणजस्ता जे–जति काम भएका छन् हाम्रो पार्टी र पार्टीको नेताको अगुवाइमा भएको छ । यो कुरा यहाँका जनतालाई थाहा छ । हामीलाई एउटा निर्वाचनमा ढाटेर जित्नु छैन सधै यहीका जनताबीचमा राजनीति गर्ने हो । यहीको जनताको दु:ख सुखमा हाम्रो सामिप्यता थियो र रहिरहनेछ ।
मैले राजनीतिको क..ख..रा.. यही जिल्लाबाट सिकेँ । जे गर्न सकेँ यहीको जनताका लागि गरेँ । विगतदेखि मैले यहाँका जनताको माया र संरक्षण पाएको छु । म आफूले पाएको त्यो माया र राजनीतिक जिम्मेवारी सधै पूरा गर्न चाहन्छु । विश्वास छ, जनताले मलाई त्यो जिम्मा दिने छन् । यस क्षेत्रका लागि मात्र होइन, जिल्लाभरिका जनताका लागि म नौलो व्यक्ति होइन । जनताको लागि जनपक्षीय प्रधानपञ्च भएर कामको सुरु गरे । उतिबेला मैले गरेका धेरै काम जनतालाई थाहा छ । बारा मेरो राजनीतिक कर्मभूमि हो । यहाँको जनतालाई झुक्काएर केही गर्नु छैन । सके भने इमान्दारिताले केही गरेर देखाउने छु ।
मेरो पेशा व्यवसाय जे हो यही राजनीति हो । जीवनमा राजनीतिबाहेक अरु केही गर्न जानिएन सिकेको पनि यही हो । यो क्षेत्रमा काम गर्न पाएकोमा गर्व गर्छु । यहीको जनप्रतिनिधि हुँदा जेल गएँ, जनताको सेवामा काम गर्दा अनेकौँ समस्या झेले । तर मलाई यहाँका जनताको समस्यामा मल्हम लगाउन पाउँदा गौरव लाग्छ । जहाँबाट राजनीति सिकेँ त्यहीका लागि सेवा गर्दै छु भनेर । विगतमा कयौँ पटक यहाँको जनताका प्रतिनिधी भएर काम गरेँ । फेरि पनि मलाई यहाँका जनताले बिजयी बनाएर यस जिल्लाको सेवा गर्ने र राष्ट्रका लागि गरिमामय संविधान बनाउने अवसर दिन्छन् भन्ने मलाई पूर्णविश्वास छ ।
जनताले धेरै बुझेका छन् । र देशको अवस्था पनि फेरिएको छ । पछिल्लो पटक भएको परिवर्तनसँगै मुलुक शान्ति प्रकृयामा गएपछि जनताको सोच र विचारमा धेरै परिवर्तन आएको छ । धेरै कारणले यो पटकको निर्वाचन गएको निर्वाचकोजस्तो हुँदैन । यति बेलाका जनता कसैको आस र त्रासमा प्रभावित हुँदैनन् भन्ने मलाई लागेको छ । पहिलो संविधानसभा निर्वाचनमा त्रसित नभएर स्वतन्त्र रुपमा मत दिन पाएको भए परिणाम अर्कै हुने थियो । सायद त्यसो भएको भए यो मुलुक र जनताले संविधान पाउने थिए । तर, त्यसो भएन जसको परिणाम यति बेला हामी दोस्रो संविधानसभाको निर्वाचनमा छौँ । त्यती बेला सामान्य जनतामा आस र त्रासले ठूलो प्रभाव पारेको थियो । त्यस्तै भोगाई यो पटक जनता भोग्न चाहँदैनन् । अब मुलुक अन्यौलमा रहनु हुँदैन मुलुकले निकास पाउनुपर्छ भन्ने आम जनताको मनोभावना छ । मुलुकको सबै प्रकारका अन्यौल अन्त्य गर्न जनता एमालेको प्रतिनिधिलाई बिजयी गराउन हतारमा छन् । जनताले बुझेका छन्, मुलुकको धेरै संकटहरुमा एमालेले आफ्नो भूमिका प्रस्तुत गरेको छ । एमाले नेताहरुमा रहेको यो मुलुकप्रतिको संवेदनशिलता र क्षमताले मात्र मुलुक जोगिनेछ । र, यो मुलुकको लोकतान्त्रिक संविधान लेख्ने अगुवाई एमालेवाहेक कसैले गर्न सक्दैन । यो कुरा जनतालाई थाहा छ त्यसैले मेरो जीत सुनिश्चित छ ।
हामीले बुझेका छौँ, यो क्षेत्रका जनताका प्रमुख समस्या के–के हुन् भनेर । सुकुम्बासी हुनु, लालपुर्जा पाउन नसक्नु, भूमिहीन हुनु, नदी कटानको पीडा भोग्नु, सबै स्थानमा यातायात उपलब्ध हुन नसक्नुजस्ता प्रमुख समस्या यहाँका जनताले झेलेका छन् । मलाई थाहा छ, जनताको आधारभूत समस्या के–के हुन् भन्ने । ति समस्या सामाधान कसरी गर्नुपर्छ एमालेवाहेक कसैलाई थाहा छैन । हामी जे गर्न सक्छौँ अरु कसैले गर्न सक्दैन । मैले बारामा के गरेँ वा के गर्नुपर्छ भनिरहनु पर्दैन गरेर देखाउने हो । पञ्चायतकालमा जनप्रतिनिधि हुँदा पनि पञ्चहरुसँग जुधेर जनताबीचमा काम गरेको थिएँ । फेरि पनि जे–जस्ता समस्या आए पनि म यहाँका जनताको साथ छाड्न सक्दिनँ । त्यो यहाँका जनतालाई थाहा छ । विगतमा मेरो भूमिका र वर्तमानमा मेरो आवश्यकता यहाँका जनताले बुझेका छन् । त्यसैले यो पटक मलाई जिताउन यहाँका जनतालाई हतारो भएको छ । उनीहरुले सबैको मूल्यांकन गरेका छन् । यहाँका जनता कुरा होइन, काम गरेर देखाउन सक्ने नेतालाई जिताउनु पर्छ भन्नेमा ढुक्क छन् ।
गएको निर्वाचन के कस्ता समस्याबीच भयो यहाँका जनतालाई मात्र होइन, सिंगै देशका जनतालाई थाहा छ । आफूले जिताएको प्रतिनिधिको भूमिका क्षेत्रमा के–कस्तो रह्यो मैले भन्नु पर्दैन जनताले भोगेका छन् । चिनी कारखानाको खाली जमीनमा घरैघर बने । चुनाव प्रचारमा नारा लाग्यो घर नहुनेलाई घर, जमीन नहुनेलाई जमीन भनेर । एमाओवादीले जनतालाई सरकारी जमीनमा बसाउँदै लालपुर्जा दिन्छौँ भन्ने खोक्रा नारा भटयायो । जमीन नभएकालाई जमीन दिन्छौँ भन्दै जनताबीचमा धेरै भ्रमको खेती गरे । जनता अनेकन समस्यामा अल्झेका छन् । केही होला भन्ने आस उनीहरुमा हुनु स्वाभाविकै हो । बेरोजगार युवालाई रोजगारीको आश्वासन दिइयो । तर, जनताको अवस्था हिजो र आजमा केही फेरिएको छैन । सबैको समस्या जस्ताको तस्तै छ । अब जनता त्यस्ता सस्ता आश्वासनको पछि लाग्दैनन् । त्यसै कारणले मलाई बिजयी गराउन कटिवद्ध छन् ।
सबैले बुझेका छन्, एमालेको नेतृत्वमा केन्द्रीयस्तरको बजेट होस् वा स्थानीय बजेटबाट होस् बाराको गाउँगाउँमा विकास भएको छ । त्यसको अनुभूति यहाँका जनताले गरेका छन् । हामीलाई जनतासँग काम गरेको लामो अनुभव छ । यहाँका समस्या के–के छन् र समाधानको बाटो के हो हामीले बुझेका छौँ । र, हामी हरेक अवस्थामा यहाँका जनताको जिम्मेवार नेता र पार्टी हौँ । एमालेको आफ्नै पहिचान छ । हाम्रो घोषणापत्रले पनि धेरै कुराको पुष्टि गरेको छ । भोलिको दिनमा यो मुलुकको संविधान कस्तो बनाउने, संघीयता कुन प्रकारको बनाउने जनताको समस्या कसरी सम्बोधन गर्ने भनेर । त्यसैले हाम्रो जिम्मेवारी र जनताको एमालेप्रतिको भरोसाको कारण पनि यति बेला हामी सबैतिर बिजयको नजिक छौँ । जतना विगतको गल्ती दोहोराउन चाहँदैनन् । हामी यस जिल्लामा चरसिटभन्दा बढी जित्ने छौँ । जति–जति निर्वाचन नजिकिदै छ, एमालेप्रतिको जनताको आकर्षण पनि बढ्दो छ ।
जनतामा रहेको हिजोका केही भ्रम आज तोडिएको छ । जनताले बुझेका छन् बारामा केही गरे एमालेले गर्ने छ अरुले सक्दैनन् भनेर । हामी जनताको त्यो बुझाइलाई सार्थक बनाउन चाहन्छौँ । जनताबीचमा गएर उनीहरुको समस्यामा साथ दिएर । आफ्नो प्रतिनिधि देशको विकास गर्ने र संविधान बनाउने अभिभारा पूरा गर्न सक्ने क्षमतावान होस् भन्ने बाराली जनताको चाहना हो । हामी जनताको त्यो चाहना पूरा गरेर देखाउन चाहन्छौँ । एमालेसँग यो राष्ट्रको समस्या सामाधान गर्न सक्ने क्षमता भएका नेता कार्यकर्ताको ठूलो पंति छ । हाम्रो पार्टीसँग देश सम्वृद्ध बनाउने योजना छ । त्यसैले मेरो जीत सुनिश्चित छ ।
यहाँका जनताले महसुस गरिरहेका छन्– विगतको निर्वाचनमा एमालेले मात्र होइन, यहाँका जनताले पनि हारेका थिए । हामी विगतको हार यो पटक जितेर जनतालाई संविधान र विकास दिन चाहन्छौँ । विगतमा जस्तै यहाँको योजनाहरु अलपत्र परोस् भनेर यहाँको जनता चाँहदैनन् । यति बेला बारा त्यसमा पनि यो क्षेत्रमा देशभरिको जनताको ध्यान गएको छ । कारण हो, निजगढमा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय विमानस्थल र फास्टट्रयाक । हामी त्यो योजनालाई कुशलतापूर्वक पूरा गर्न चाहन्छौँ । जनताको पहिलो प्रश्न पनि त्यही दुईवटा योजनामा केन्द्रित भएको छ । यहाँका जनता विगतमा निर्वाचन जितेर गएको नेताजस्तै म पनि भाषण र उद्घाटन गर्न मात्र आएको हेर्न चाहँदैनन् । उनीहरु गाउँ–गाउँमा जनताको समस्या छ त्यो समस्या बुझ्ने र सामाधन गर्ने नेता चाहन्छन् । मैले पाका बुवा–आमाको आखाँमा एमालेप्रतिको आशा र विश्वास देखेको छु । उहाँरुले भोट माग्न मात्र आउने नेतालाई होइन, गाउँको विकास गर्ने पार्टीको नेता जिताउनुपर्छ भन्ने गरेको सुनेको छु । म उनीहरुको त्यो आशा र विश्वास पूरा गर्न सबै प्रकारको त्याग गर्न तयार छु ।
प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया