यातायात बन्दबारे ‘जुहारी’

Banda Aamhadtal Ncp-maobadiकाठमाडौं : प्रमुख तीन दलले नेकपा–माओवादीसहित ३३ दलीय मोर्चाले घोषणा गरेको आजदेखि ४ मंसिरसम्मको यातायात बन्द अवज्ञा गर्ने बताएका छन् । माओवादी मोर्चाले भने बन्द अवज्ञाको ‘हर्कत’ नगर्न चेतावनी दिएको छ ।
एमाओवादी, कांग्रेस र एमाले नेताहरूले बन्दको अवज्ञा गर्ने बताएपछि सोमबार माओवादी नेताले अवज्ञा गर्ने हर्कत नगर्न चेतावनी दिएको हो । एमाओवादी नेता देवेन्द्र पौडेलले राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा मंगलबारदेखि बन्द अवज्ञा हुने र यातायात सुचारु हुने दाबी गरे । माओवादीको बन्दमा आफूहरूले पहिलाजस्तै चुनावी प्रचारका गतिविधि जारी राखेको नेता पौडेलले बताए । चुनावको तयारी अन्तिम चरणमा पुगिसकेकाले कुनै पनि हालतमा स्थगित नहुने उनको भनाइ थियो ।
कांग्रेस नेता मीनेन्द्र रिजालले पनि माओवादीको यातायात बन्द तोड्ने बताए । चुनावमा जनताको मत हाल्ने अधिकार रोक्न खोजे जुनसुकै सुरक्षा निकाय परिचालनसमेत हुने नेता रिजालले स्पष्ट पारे ।
एमाले सचिव युवराज ज्ञवालीले पनि जनताले बन्दको अवज्ञा गर्ने भन्दै आफूहरूले पनि चुनाव प्रचारमा सवारी चलाएर बन्दको अवज्ञा गर्ने स्पष्ट पारे । ‘भोलि (मंगलबार)देखि गाडी चल्छ बन्द खुलाउनुपर्छ,’ नेता ज्ञवालीले भने, ‘एमाले बन्द पर्खेर बस्दैन ।’
सोही कार्यक्रममा माओवादी सचिव तथा ३३ दलीय कार्यदलका संयोजक देव गुरुङले भने असहमतिको प्रक्रियाबाट अघि बढे जे पनि हुन सक्ने चेतावनी दिए । ‘यस्तो अवस्थामा जतिसुकै शान्तिका कुरा गरे पनि हिंसा भइहाल्छ,’ नेता गुरुङले भने । असहमतिको प्रक्रिया स्वच्छ हुन नसक्ने स्पष्ट पार्दै गुरुङले चुनाव स्थगन गरी वार्ता प्रारम्भ नभएसम्म आन्दोलनको कुनै पनि कार्यक्रम फिर्ता नहुने अडान लिए ।

प्रतिक्रिया