साँचो कुरा बुझेर मात्रै भोट दिनुस् : कोइराला

Sushil-Koiralaनेपालगञ्ज, २५ कात्तिक । कांग्रेस सभापति सुशील कोइरालाले संविधानसभा निर्वाचनपछि लोकतान्त्रिक शक्तिको नेतृत्वमा नयाँ संविधान निर्माण हुने दोहर्‍याएका छन् ।

गृह जिल्ला बाँकेको ईन्द्रपुरको जुगनभरियामा आज (सोमवार) आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कोइरालाले कांग्रेसले नयाँ संविधान बनाउने बताए । ‘नेपाली जनता लोकतन्त्रका पक्षधर भएकाले यो निर्वाचनमा कांग्रेसको बहुमत आउँछ,’ उनले भने ।

उनले जनतालाई भ्रममा पार्ने दलहरुका कारण संविधान निर्माण हुन नसकेको बताए । ‘जनतालाई भ्रममा पारेको कुरा जनताले अहिले बुझेका छन्,’ सभापति कोइरालाले भने, ‘अब कांग्रेसको जित निश्चित छ ।’

उनले साँचो कुरा बुझेर मात्रै उम्मेदवार र दललाई भोट दिन आग्रह गरे । ‘कुनै दलका नेता र उम्मेदवारले यो दिन्छु वा यो गर्दिन्छु भन्यो भने त्यो कुरा साँचो हो कि होइन बुझेर मात्र भोट दिनु होला’ उनले भने, ‘साँचो र अर्थपूर्ण लोकतान्त्रिक व्यवस्था त्यही हो, जहाँ जनताको मताधिकारलाई महत्व दिइन्छ ।’

प्रतिक्रिया