२० लाख बढीको केरा बिक्री

महोत्तरी : जिल्लमा यस वर्षको छठ पर्वको अवसरमा २० लाख बढीको केराको बिक्री भएको छ । केरा व्यापारीले छठका अवसरमा जलेश्वरमा बुद्धिजीवी चोकका केरा व्यापारी सत्यनारायण पुर्वेले आफू एक्लैले आठ ट्रक केरा बेचेको बताए ।
त्यस्तै अर्का दुर्गा चोकका व्यापारी ओमप्रकाश साहले आफ्नो गोदामबाट पाँच ट्रक केरा बिक्री भएको जानकारी दिए । शङ्कर चोकका केरा व्यापारी विनय चौधरीले दुई ट्रक, महेन्द्र साहले दुई ट्रक तथा त्यस्ता दर्जनांै व्यापारीले दुईदेखि पाँच ट्रकसम्म केरा बिक्री गरेको बताएका छन् ।
करिब सय ठूलासाना, थोक तथा खुद्रा केरा व्यापारीले जलेश्वरमा २० लाख बढी केराको कारोबार भएको उद्योग वाणिज्य सङ्घ जलेश्वरका महासचिव कृपाशङ्कर साहले बताए । जलेश्वरमा विगत एक सातादेखि करिब दुई सय ट्रक केरा भारतको हाजिपुरबाट बिक्रीका लागि मूल भन्सार भिट्ठामोडबाट आयात भएको थियो । जलेश्वरमा एउटा केराको घरीको तिन सय ५० देखि एक हजारसम्म बिक्री हुने गरेको छ ।
त्यस्तै जिल्लाको मटिहानी, बर्दिवास, गौशाला, बलबा, सरपल्लो, औरही, बथनाहा, मनरा, सम्सीलगायतका सहायक बजारमा पनि लाखांैको केराको बिक्री भएको स्थानीय व्यापारीले बताएका छन् । गतवर्षको तुलनामा यस वर्ष व्यापारीले केराको मूल्य बढाएको भए पनि व्यवसायमा कमी नआएको बताएका छन् । तर, किसानले भने गतवर्षकै हाराकारीमा केरा बिक्री गरेका थिए । (सौस)

प्रतिक्रिया