वार्ताबाट समाधान खोज्न आयोगको आग्रह

काठमाडौ, २५ कात्तिक । राष्ट्रिय मानवअधिकार आयोगले संविधानसभाको चुनाव नजिकिदै गएको बेला नेकपा माओवादीलगायत ३३ दलद्वारा आह्वान गरिएको नेपाल बन्दप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउादै समस्याको समाधान वार्ताको माध्यमबाट खोज्न आग्रह गरेको छ । बन्दजस्तो सर्वसाधारणमाथि अनावश्यक दबाब पार्ने कदम नउठाउन र चित्त नबुझेका कुरा वार्ता र संवादबाटै समाधान गर्न आयोगले बन्दकर्ता, सरकार र सम्बद्ध सबै पक्षसाग आग्रह पनि गरेको छ । “नेपाली नागरिकले मताधिकार प्रयोग गरेर देशको राजनीतिक प्रक्रियामा सहभागी हुन लागेको घडीमा बन्द आह्वान गरिनाले नागरिक तथा राजनीतिक अधिकारलगायत मौलिक अधिकारको उपभोगमा गम्भीर धक्का पुग्ने तथा त्यसबाट संविधानसभामार्फत मानवअधिकारमैत्री संविधान निर्माण गर्नेे सिङ्गो राजनीतिक प्रक्रियामा नकारात्मक असर पर्नेछ”– आयोगले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ । आयोगले बन्दबाट मूल रूपमा बिरामी, श्रमजीवी, जनस्तरका नागरिक र समग्रमा सबैको मानवअधिकारमा ठेस लाग्ने भएकाले संयमित भएर शान्तिपूर्ण र रचनात्मक रूपमा विरोधका कार्यक्रम अघि सार्दै बन्दको संस्कृति अन्त्य गर्ने दिशामा सहयोग गर्न आयोग सरोकार भएका पक्षसाग अनुरोध गरेको छ ।

प्रतिक्रिया