बन्दको विरुद्धमा उभिन व्यवसायीको आवहन

काठमाडौं, २४ कात्तिक । कुनै पनि राजनीतिक दल वा संगठनले गर्ने बन्दबाट देशको अर्थतन्त्रमा ठूलो नोक्सानी पर्ने भन्दै नीजि क्षेत्रका व्यवसायीहरूले बन्दको विपक्षमा उभिन अपिल गरेका छन् । बन्दबाट देश पछाडि धकलिने हुनाले बन्द र हड्तालको विपक्षमा उभिन अर्थमन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार डा.चिरञ्जीवी नेपालले सबैलाई अपिल गरेका छन् । कुनै पनि व्यबसाय बन्द गर्न नहुने भन्दै महत्वपूर्ण चाडपर्वका बेलासमेत व्यबसाय बन्द गर्नाले अर्थतन्त्रमा नराम्रो प्रभाव पर्ने मिडिया इन्टरनेसनलले शनिबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् । विभिन्न चार्डपर्वको बेला व्यवसायी आफँैले व्यवसाय बन्द गरेर तास र जुवामा रमाउनुले पनि अर्थतन्त्रलाई प्रभावित पार्ने गरेको भन्दै उनले आफैँले गर्ने बन्द पनि नराम्रो पक्ष रहेको औँल्याउए । ‘बन्द अर्थतन्त्रका लागि डरलाग्दो परिस्थिति हो, यहाँ त व्यवसायीहरूले आफैँ बन्द गरेर पैसा खर्च गर्नबाट रोकिदिन्छन्’ अर्थविद् नेपालले भने– ‘ख्रिस्टमसमा विदेशमा २४ घन्टा व्यवसाय सुचारू हुन्छ, नेपालमा दसैँ र तिहारमा व्यवसायीहरूले आफैँ बन्द गरेर अर्थतन्त्रलाई चलायमान हुनबाट रोके ।’ त्यस्तै कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डेले सबै राजनीतिक पार्टीले बन्दको विकल्प खोज्नुपर्ने भन्दै अबका दिनमा कुनै पनि बन्दकर्ताको बन्द सफल नहुने बताए । बन्दबाट व्यवसायीहरू आजित भएकाले बन्दका कार्यक्रम गर्नेहरूले पराजय भोग्नुपर्ने उनको जोड थियो । हाल बन्द विरोध गर्नेहरू बढेको भन्दै उनले जुनसुकै दल र संगठनको बन्दको विरुद्धमा उभिन सबैलाई अनुरोध गरेका छन् । कार्यक्रममा अर्थविद् चन्द्रमणि अधिकारीले बन्द र हड्ताल नगर्ने प्रतिबद्धता जनाउने राजनीतिक पार्टीलाई भोट दिन अपिल गरे । उनले बन्दका कारण दैनिक ३ अर्ब रूपैयाँ नोक्सान पर्ने भन्दै बन्दका कार्यक्रमले देशलाई पछाडितर्फ धकेल्ने बताए । त्यसैगरी राष्ट्रिय व्यापार संघका अध्यक्ष रमेशचन्द्र बादे श्रेष्ठले बन्द र हड्तालको प्रतिकार सुरु भइसकेको उल्लेख गर्दै बन्दको विरुद्धमा उभिन उनले अनुरोध गरे । समस्या समाधानको उपाय बन्द नभएको भन्दै सहमतिको पहलका लागि वार्ता र सम्बाद नै महत्वपूर्ण रहेको कुरामा उनको जोड थियो ।

प्रतिक्रिया