एमाले शान्ति, संविधान र समृद्धि दिन तयार छ

pradeep-gawaliनेकपा एमाले नेता एवं गुल्मी क्षेत्र नम्बर २ का उम्मेदवार प्रदीप ज्ञवाली यतिबेला संविधानसभा चुनाव प्रचारका लागि घर–दैलो कार्यक्रम र कार्यकर्ता तथा जनता भेटघाटमा व्यस्त छन् । तीन पटकसम्म त्यस क्षेत्रबाट निर्वाचित भएका ज्ञवालीले नेपालको शान्ति प्रक्रियामा आफ्नो कौशलता प्रस्तुत गरिसकेका छन् । उनको भूमिका गुल्मेली जनताका लागि मात्र होइन नेपालको राष्ट्रिय राजनीतिमा समेत प्रभावकारी सिद्ध भएको छ । सरल स्वाभावका ज्ञवाली सबै जात र समुदायका जनताका बीचमा लोकप्रिय नेता हुन् । सबैप्रति समान व्यवहार गर्ने उनी एमाले मात्र हेइन सम्पूर्ण गुल्मेली जनताको नेताको रूपमा स्थापित छन् । निर्वाचनको सन्दर्भमा सौर्यसँग भएको सम्वाद:
यतिबेला निर्वाचनको प्रचारप्रसारमा व्यस्त छु । गाउँगाउँमा भएको घरदैलो जनतासँगको साक्षात्कार र जनताको भावना सुन्नमा अहिलेको समय बितेको छ । विगतको निर्वाचनमा जसरी यस क्षेत्रका जनताले मलाई विश्वास गरेर निर्वाचित गरे यो पटक त्यो विश्वासमा अझ बढी परिपक्वता आएको पाएको छु । कार्यकर्तामा र जनतामा देखिएको उत्साहले पनि यो कुरा सिद्ध गर्छ । जनता, जनताका लागि सक्रिय पार्टी र नेताप्रति अत्यन्त आस्था र विश्वास गर्छन् भन्ने कुरा प्रष्ट बुझेको छु । जनता सही र गलतको उचित मूल्यांकन गर्न सक्षम छन् र गर्छन् । त्यो म र मेरो पार्टीलाई राम्ररी थाहा छ ।
गुल्मीका जनताले बुझेका छन् मेरो भूमिकका यो जिल्ला र क्षेत्रमा मात्रै होइन मुलुकको शान्ति प्रक्रियामा मेरो कतिको आवश्यकता छ भनेर । मुलुकको शान्ति प्रक्रिया र द्वन्द्व नियन्त्रणमा मैले खेलेको भूमिका र गएको सविधानसभामा गरेको उल्लेखनीय काम यहाँका जनताको स्मरणमा ताजै छ । राजनीतिमा नेताको योग्यता क्षमता र उनीहरूले राष्ट्रप्रति गरेको उल्लेखनीय योगदानको मूल्यांकन जनताले गर्नेछन् । म जनताले गरेको हरेक फैसलालाई सम्मान गर्ने छु ।
यतिबेला सिंगो गुल्मेली जनता सूर्यध्वजाबाहक उम्मेदवारलाई विजयी गराउन आतुर छन् । जसरी देशभर एमालेको पक्षमा अपार जनमत सिर्जना भएको छ त्यसैगरी गुल्मीमा पनि त्यो लहर छ । मैले हिजोको दिनमा जनताले दिएको माया र जिम्मेवारीको सधँै सम्मानका साथ निर्वाह गरे फेरि पनि उनीहरूको त्यो विश्वासको सम्मान गर्ने छु । जनताले आफ्नो नेताले क्षेत्रको विकास निर्माणमा खेलेको भूमिकाको कदर गर्छन् । योपटक पनि त्यसै हुनेछ । म यो क्षेत्रका लागि सधैँ सक्रिय ब्यक्ति हुँ त्यो कुरा जनताले बुझेका छन् । जनता यतिबेला यो मुलुकमा शान्ति, संविधान र समृद्धि चाहन्छन् । त्यो पूरा गर्ने क्षमता नेकपा एमालेबाहेक कसैसँग छैन । हामी जनताको त्यो चाहना पूरा गर्न तयार छौँ । हाम्रो पार्टी जसरी हिजो जनताको जनतमतले स्थापित भयो आज पनि त्यहि अवस्थामा छ ।
यो मुलुक लामो समय संविधानविहीन होस् भन्ने चाहना जनतामा छैन । हामी छिटोभन्दा छिटो यो मुलुको हरेक वर्ग र तहका जनताको आत्मस्वभिमान भएको संविधान दिन चाहन्छौँ । एमाले र यो पार्टीको नेतासँग जनतको पक्षमा काम गरेको लामो अनुभव छ । डर र त्रासले जनताको मन जित्न सकिँदैन । हामी जनताको भावनालाई सम्मान गछौँ ।
विगतमा मैले यस क्षेत्रका लागि विकास निर्माणमा गरेको योगदान यहाँका जनताले भुलेका छैनन् । जनता हाम्रा लागि न्यायाधीश हुन उनीहरू सधैँ सही गलतको मूल्यांकन गरेर फैसला गर्छन् । अर्को कुरा मैले नेपालको शान्तिप्रक्रिया र राष्ट्रिय राजनीतिमा खेलेको भूमिका यहाँका जनताले बुझेका छन् । जसले मलाई विजयी बनाउन प्रमुख भूमिका खेल्ने छ । मैले आफूलाई सधैँ एमाले मात्र होइन यो मुलुकको जिम्मेवार व्यक्ति हुँ भनेर बुझे जनताले पनि मेरो त्यो बुझाइको उचित मूल्यांकन गर्नेमा म विश्वस्त छु । शान्तिप्रक्रियामा पार्टीले दिएको जिम्मेवारी विवेकशील भएर निर्वाह गरेँ । गएको संविधानसभा सदस्यको हैसियतले संविधान निर्माणको प्रक्रियामा उठेका विवादित विषयलाई टुंग्याउन ठूलो भूमिका खेले । हाम्रो पार्टी सानातिना कुरामा अल्झने पक्षमा थिएन । आफूले केही गुमाएर भए पनि संविधान बनोस् भन्ने पक्षमा थियो । हाम्रो भूमिका पनि त्यहि अनुरूप भयो । र्दुभाग्य भन्नु पर्छ संविधान बन्न सकेन ।
मैले विगतको दिनमा शान्तिप्रक्रियाका लागि पाएको जिम्मेवारी पूरा गरेको कुरा जनताको बीचमा छर्लंग छ । त्यतिबेला धेरै नेताहरूको घुर्की र फुर्की सुनेँ । पार्टीको निर्देशनमा सबैलाई मिलाएर शान्तिप्रक्रिया निष्कर्षमा पुर्‍याउने हाम्रो दायित्व थियो । त्यो भूमिका मैले निर्वाह गरेँ । संविधानसभा सदस्य भएको नाताले र पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने क्रममा थुप्रै तीता अनुभूतिहरू भोगेँ । त्यतिबेला एमालेले आफूलाई जिम्मेवार पार्टीको रूपमा उभ्याउनु जरुरी थियो र हामीले त्यो कार्य गर्‍यौँ । त्यति बेला एमालेमाथि धेरै आरोप लाग्यो । आफ्नो निर्णय नभएको पार्टी पनि भने । तर हामी आफ्ना लागिभन्दा यो मुलुकका लागि केही गर्न चाहन्थ्यो त्यहिअनुसार काम गर्‍यौँ । त्यो हाम्रो राजनीतिक इमान्दारिता थियो ।
मुलुकमा चरम द्वन्द्व थियो एमाले र एमालेका नेताका बीचमा मुलुक र जनतालाई शान्ति दिने ठूृलो जिम्मेवारी थियो । पार्टीको तर्फबाट मैले त्यो जिम्मेवारी पाएँ । विभिन्न सोच विचार र संस्कार भएका नेतासँग काम गर्नु सहज थिएन । जे जस्ता असहज अवस्था भए पनि हामीले यो मुलुकमा शान्ति दिने ठूलो दायित्व लिएका थियौँ । हरेकप्रकारका घुर्की र घम्कीहरू पनि सुन्नु पर्ने थियो । कयौँपटक शान्तिप्रक्रिया टुंगोमा पुग्दा नपुग्दै भाँडिने अवस्थामा पुगेको थियो । मैले ठूला ठानेका अन्य दलका नेतालाई त्यतिबेला राम्ररी चिने उनीहरू हामीलाई लतार्न चाहन्थे । धेरै घुर्की सुनियो । तर पनि शान्तिप्रक्रियामा मुलुक पुर्‍यायौँ । त्यतिबेला मेरो पार्टी र मेरो भूमिका के थियो नेपाली जनतालाई थाहा छ । त्यसमा पनि गुल्मेली जनतालाई बढी मात्रामा थाहा छ । यदि हामीले पनि अरुले जस्तै घुर्की लगाउन थालेको भए शान्तिप्रक्रियाले मूर्तरूप पाउने थिएन । एमाले र एमालेका नेताको विवेकले कांग्रेस र माओवादीलाई बीचधारमा तानेर ल्याएको हो । हामीलाई पार्टीभन्दा मुलुकको चिन्ता थियो त्यति बेला । हामीले गरेको त्यागको मूल्यांकन यतिबेला नेपाली जनताले गर्ने छन् भन्नेमा म र मेरो पार्टी विश्वस्त छौँ ।
शान्तिप्रक्रियाको बेला एमालेले मुलुकको राजनीतिमा अभिभावकीय भूमिका खेलेको थियो । तर्कविहीन सानातिना कुरामा निहुँ खोज्नु माओवादीका लागि सामान्य जस्तै थियो । अर्कोतर्फ नेपाली कांग्रेस आफूलाई कम्युनिस्टहरूको पञ्जामा परेको महसुस गर्थे । एउटालाई मनायो अर्को नमान्ने अर्कोलाई मनायो अर्को नमान्ने अवस्था थियो । एमालेले त्यति ठूलो जिम्मेवारी पूरा गरेको थियो । फेरि पनि यो मुलुकमा धेरै समस्या छ । देश र जनताको एमालेको भूमिका सधैँ उत्तिकै सक्रिय हुनु जरुरी । शान्तिप्रक्रियामा निर्वाह गरेको अभिभावकीय भूमिका अझ गर्ने छ । र जनताले एमालेलाई त्यो भूमिका निर्वाह गर्ने ऐतिहासिक जिम्मेवारी दिन्छन् भन्नेमा म विश्वस्त छु । जनताले त्यो भूमिका बिर्सेका छैनन् । मुलुकमा शान्ति भएन भने सबैभन्दा बढी दु:खी नेपाली जनता हुनेछन् ।
मैले त्यतिबेला जे गरे आफ्नो विवेक र अनुभवअनुसार काम गरेँ । अझ यो मुलुकका लागि धेरै गर्नुछ । जुन जुन समितिमा बसेर काम गरेँ ठीक गरेँ भन्ने लाग्छ । किनकि त्यतिबेला हाम्रो कारण कतै समस्या नआएको कुरा सार्वजनिक भएकै हो । मैले ती समितिमा रहेर गरेका कामहरू ऐतिहासिक प्रमाणका रूपमा अहिले पनि संसद भवनमा सुरक्षित छ । ती दस्तावेजले आउने दिनमा संविधानसभालाई काम गर्ने सहज वातावरण निर्माण गर्ने विश्वास मैले गरेको छु । यिनै राष्ट्रियस्तरको काममा बढी समय दिनु परेकाले जिल्ला त्यसमा पनि आफ्नो क्षेत्रलाई गर्नु पर्ने काममा केही कमीकमजोरी रह्यो होला त्यसलाई पूरा गर्नु पनि यो पटक मलाई यस क्षेत्रका जनताले विजयी गराउने छन् किनकि यस क्षेत्रमा मेरो कोही प्रतिद्वन्द्वी छैनन् ।
नेपाली जनतालाई थाहा छ कसका कारण र किन संविधान बनेन भनेर । म आफूले त्यतिबेला पूरा गर्न नसकेको बाँकी जिम्मेवारी यो पटक पूरा गर्न चाहन्छु । नेपाली जनतालाई लिखित संविधान दिएर । जनता चाहँदैनन संविधानविहीन मुलुकको नागरिक हौँ भन्ने । राजनीतिक पार्टी र तिनका नेताहरूको दायित्व हो मुलुकलाई संविधान दिने । जनताले गरेको बलिदानी पूर्णआन्दोलनको सम्मान गर्दै एमाले यो मुलुकका लागि उतकृष्ट संविधान दिन चाहन्छ । त्यो अवसर हामीलाई नेपाली जनताले दिनेमा हामी आशा र विश्वास गर्छौं । जनताले हाम्रो पार्टीलाई त्यो अवसर पक्कै दिने छन् ।
विगतमा तीनपटक यस क्षेत्रका जनताले मलाई निर्वाचित गराए । मैले यो क्षेत्रका जनताको सेवा गर्ने अवसर पाएँ । विगतमा जनताले मप्रति गरेको विश्वासमा कहिल्यै धमिरा लाग्न दिइन । जनताले गरेको विश्वासमा नेताले घात हुने काम गरे भने जनतामा राजनीतिप्रति वितृष्णा आउँछ । म आफू राजनीतिकर्मी भएको कारण राजनीतिप्रति जनतामा वितृष्णा आउने काम गर्नु हुँदैन भन्ने मैले बुझेको छु । नेकपा एमाले जनताको विश्वासमा आधारित पार्टी हो । हामी सधैँभरि जनताको मतमा विश्वास गर्छौं । यहाँका जनताले मुलुकको राजनीति बुझेका छन् । कहाँ कुन नेताले के कति काम गर्‍यो भनेर र मैले गरेको काम उनीहरूका अगाडि भनिरहनु पर्दैन । म जनताको मन दुख्ने कुनै काम गर्न चाहन्न । न त्यो मेरो सिद्धान्तले दिन्छ न स्वभाव नै छ । त्यसैले यो मेरो यस क्षेत्रको जनताको सेवा गर्ने चौँथो अवसर बन्ने छ भन्ने मैले बुझेको छु ।
नेपालका जनता संविधानसँगै विकासप्रेमी नेता चाहन्छन् । म यो क्षेत्रका जनताका लागि हरेक विकास गर्न तयार छु । निर्वाचन जित्नु भनेको क्षेत्र र जनताका लागि काम गर्ने अवसर पाउनु पनि हो । एमालेका हरेक नेता कार्यक्रता जनताका हितमा के गर्न कसरी सकिन्छ भनेर सधैँ चिन्तित छन् । पार्टी सरकारमा भएको बेला होस् वा अरू बेला हामीले जनताका लागि धेरै काम गरेका छौँ । सबै जाति भाषीहरूको साझा पार्टी भएकाले एमाले जनताका बीचमा अनावश्यक आश्वासन बाँडेर हिँड्न चाहँदैन । जनतका लागि जे गर्न सकिन्छ त्यहि कुरा गर्छ । हामी पुष्पलाल, मदन भण्डारी र मनमोहनजस्ता आदर्शवादी नेताले बनाएको पार्टीका कार्यकतौ हौँ । हिजो उनीहरूले जसरी जनतालाई विश्वासिलो विचार दिए आज हामी त्यो विचारलाई जनताका बीचमा पुगेर व्यवहारमा लागू गर्न चाहन्छौँ ।
एमाले किन पनि चुनाव जित्दै छ भने यो पार्टी नेपालको वामआन्दोलनको एउटा कुशल विचार भएको पार्टी हो । यो श्रमजीवी, सर्वहाराको भरपर्दो सहयोगी पार्टी हो । एमाले मुलुकका लागि जे जस्ता त्याग गर्न तयार छ । यति बेला हाम्रा विचारमा प्रभावित धेरै कम्युनिस्ट पार्टीहरू नेपालमा छन् । हामीलाई आफूसँग कुनै कुरामा घमण्ड गर्नु छैन । जनताको हितमा र राष्ट्रका लागि केही गर्न सकियो भने त्यहि हाम्रो उपलब्धि हुनेछ । आफ्ना लागि केही गरौँला भनेर राजनीति गरेको होइन मुलुकका लागि लागियो जे गर्न सकिन्छ यहि मुलुकका लागि गरिन्छ । एमालेसँग विचार र विचारलाई कुशलतापूर्वक लागू गर्न सक्ने नेता कार्यकर्ता छन् । त्यसैले जनता एमालेको पक्षमा खुलेर लागेका छन् । निर्वाचनको परिणाम एमालेको पक्षमा आउने छ । जसको कारण एमालेका नेताहरूले जित्नेछन् र यो पार्टीले मुलुकलाई शान्ति, संविधान र समृद्धि दिने छन् ।
चमिना भट्टराई

प्रतिक्रिया