चुनाव होइन, खाद्यान्न देऊ

मुलुक चुनावमय बन्दै गएको छ । यही अवस्थामा चुनावमा गए सशक्त प्रतिकार गर्ने नेकपा–माओवादीलगायत ३३ दलीय मोर्चाले पर्चा छर्ने र अनुरोध गर्ने काम मात्र गरेमा निर्वाचन हुन्छ । नेताहरू सबै र खाना पाउने मतदातालाई समेत चुनाव लागेको छ । दसैँ–तिहारजस्ता चाडलाई बिर्सिएर चुनावी चर्चामा रमाउनेहरू पनि प्रशस्त छन् । तर, भोकमरीको सामना गरिरहेका जनताले भने चुनाव होइन, चामल देऊ भनेर आन्दोलन गरिरहेका छन् । उपत्यकामा दसैँका लागि खसी–बोका भित्र्याउन आतुर वर्तमान सरकार र जसरी पनि चुनाव हुन्छ भन्ने चार दलका नेताले बाजुराका भोका जनतालाई दसैँमा किनेर खानका लागि चामलसमेत दिएनन् । एकातिर भोका जनता, अर्कातिर दसैँ र चुनाव । अनौठो अवस्था देखिँदै छ । बाजुरा र डोटीका खाद्य गोदाममा चामल छैन । दसैँ–तिहार आइसकेको छ । चामल देऊ भनेर भोका जनता कराइरहेका छन् । सरकार कानमा तेल हालेर बसेको छ भने नेता चुनावमा रंगिएका छन् । बाजुरा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, डोटीलगायत जिल्लामा समयमै चामल पुर्‍याउने र अभाव हुन नदिने सोचमा सरकारले कहिल्यै देखिएन । जसले गर्दा ती जिल्लामा जहिले पनि खाद्यान्न अभावले सताइरहेको हुन्छ । दुर्भाग्य नै मान्नुपर्छ त्यस क्षेत्रको विकासबारे अहिलेसम्मका सरकारले ठोस रूपमा नीतिगत निर्णय लिन सकेको छैन । भाषण गर्दा कर्णाली अञ्चललाई विशेष योजनाभित्र पारेको विषय उठाउने तर, काम भने वरको सिन्को पर नसार्ने गरिएको छ । यही कारणले त्यहाँका जनता दसैँमा पनि भोकै बस्नुपर्ने अवस्था आएको हो ।
नेपाली नेताले संविधानसभाको दोस्रो निर्वाचनका लागि हल्ला गरिरहँदा बाजुराका जनता चामलका लागि धर्ना बसेका छन् । त्यहाँका जनताले आफूहरूले पहिला जिल्लामा खाद्यान्न भित्र्याउ त्यस पछि मात्र भोट माग्न आउ भन्ने आवाज वुलन्द पारेका छन् । कस्तो विडम्वना एकातिर दसैँमा भोका जनता अर्कातिर भोट माग्न जानुपर्ने नेता खाद्यान्न नभित्र्याई भोट माग्न नआउनू भनेर भोकाहरूले अनुरोध गरिरहेका छन् । यदि, त्यहाँका गोदाममा चामल पुर्‍याउन काम नगर्ने हो भने निर्वाचन प्रचारका लागि नेता नगए पनि हुन्छ । भोकाएर आक्रोशित बनेका जनताले नेतालाई सहज रूपमा स्वीकार गर्न सक्ने अवस्था बन्दैन । अहिले कुनै पनि दलका नेताले दसैँअगावै बाजुरामा खाद्यान्न पुर्‍याऊ भनेर माग गर्न सकिरहेका छैनन् । जनताका समस्याभन्दा पनि सरकार र दलका लागि आफ्नै समस्या ठूला बनेका छन् जसले गर्दा जनता भोकै बस्न र दु:ख पाउन बाध्य भएका छन् । बाजुरालगायत जिल्लामा चामल अभावकै कारण दसैँ खल्लो भयो । तर, यसले भोट माग्न बाजुरा प्रवेश गर्ने नेतालाई पनि असर पुर्‍याउनेछ । त्यहाँ किन खाद्यान्न पुर्‍याउन कन्जुस्याइँ गरिँदै छ ? किन त्यहाँका जनताको मागप्रति वेवास्ता गरिँदै छ, के यो मुलुक सामन्तवादी सोच भएका नवधनाढ्य दलालहरूको मात्र हो ? होइन भने, जनता बचाउन नेताहरूले पनि पहल गर्नुपर्छ । अन्यथा त्यहाँका जनतामा सरकार र दलहरूप्रति चरम वितृष्णा जाग्नेछ । र, त्यसको फाइदा अर्कैले उठाउनेछ ।
अहिले बाजुरामा भएको खाद्यान्न अभाव सामान्यजस्तो देखिएको छ । यसप्रति राज्यले बेलैमा चासो नदिएकोप्रति पनि त्यति गम्भीरतापूर्वक सोचिएको छैन । तर, जब देशका नागरिकले राज्यले समेत आफूहरूलाई बेवास्ता गरेको ठान्छ तब त्यहाँ विद्रोहको बीजारोपण हुन्छ । राज्यबाट कुनै सुविधा प्राप्त हँुदैन र राज्यले जनताप्रतिको दायित्व पूरा गर्दैन भने त्यहाँ जनताले राज्यप्रति दूराग्रह राख्नु स्वाभाविक हुन्छ । भोकमरीका सवालमा मात्र होइन, अन्य विषयमा पनि हुने यही हो । यस्तो अवस्थामा राज्य र व्यवस्थाप्रति विद्रोहको बीजारोपण गर्न सहज हुन्छ । तसर्थ कुनै पनि जिल्लाका जनता खाद्यान्न अभावमा भोकै बस्नु हँुदैन । सरकारले तुरुन्त खाद्यान्न उपलब्ध गराउनुपर्छ ।

प्रतिक्रिया