जैविक फोहोरबाट उर्जा उत्पादन गरिने

बिराटनगर, २४ कात्तिक । मोरङको डंग्राहामा फिनल्यान्ड सरकारको सहयोगमा निर्माण गर्ने भनिएको ल्यान्डफिल्ड साइट विवादका कारण बन्न नसके पनि विराटनगरको जैविक फोहोरको भने व्यस्थापन हुने भएको छ ।

विराटनगर उपमहानगरपालिका क्षेत्रमा उत्पादन हुने जैविक फोहोरबाट उर्जा उत्पादन गर्ने तयारी गरिएपछि फोहोरको व्यवस्थापनसँगै उर्जाको संकट न्यूनीकरणमा पनि सहयोग पुग्ने भएको हो । विराटनगरमा दैनिक उत्पादन हुने फोहोर मध्ये कुहिने अर्थात् जैविक फोहोरबाट ऊर्जा उत्पादन गर्न लागिएको हो । विराटनगरमा दैनिक ७० मेट्रिक टनको हाराहारीमा फोहोर उत्पादन हुने गरेको छ । त्यसमध्ये ५० मेट्रिक टन संकलन गरिने र त्यसको ७० देखि ८० प्रतिशत जैविक फोहोर हुने गरेको विराटनगर उप–महानगरपालिकाकी वातावरण शाखा प्रमुख अनिता न्यौपानेले जानकारी दिइन् । उनले त्यही जैविक फोहोरबाट उर्जा उत्पादन गर्ने सम्बन्धमा सरोकारवाला निकायहरूसँग चरणबद्ध छलफल भइरहेकोसमेत बताइन् ।
उनले नगरपालिकाले उक्त आयोजना सञ्चालनका लागि वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रमा प्रस्ताव पेस गरेको र त्यसको सम्भाव्यता अध्ययनका लागि विभिन्न चरणमा छलफल भइरहेको जानकारी दिइन् । ‘फोहोरबाट उर्जा निकाल्न सकिने प्रविधिका बारेमा थाहा पाएपछि हामीले पनि विराटनगरमा सञ्चालन हुनुपर्छ भनेर प्रस्ताव पेस गर्‍यौँ,’ उनले भनिन्, ‘केन्द्रले पनि चासो देखाएपछि दुई चरणका छलफलहरू भइसकेका छन । ती छलफलहरूमा सरोकारवालाहरूबीच सम्भाव्यता अध्ययन गर्ने बारेमा सहमति भए पनि थप प्रक्रिया अघि बढेको छैन् ।’ उनले यही कात्तिक २६ गते पुन: सरोकारवालाहरूविच बृहत छलफल गरी सम्भाव्यता अध्ययन गरिने जानकारी गराइन् ।
नगरपालिका वातावरण महाशाखा प्रमुख उमेश ओझाका अनुसार यदि सो आयोजना विराटनगरमा सञ्चालन गरिए विराटनगरको जैविक फोहोरको ब्यवथापनमा सहज हुनेछ । उनले नगरक्षेत्रमा उत्पादन हुने जैविक फोहोरबाट उत्पादन हुने मिथेन ग्यासबाट विद्युत् निकाल्न सकिने बताए । त्यसरी निकाल्दा संकलन गरिएका जैविक फोहोरमध्ये ९० प्रतिशत ग्यासका रूपमा परिणत हुन्छ भने बाँकी रहेको करिब १० प्रतिशत फोहोरलाई पुन: ल्यान्डफिल्ड साइटमा लगेर व्यवस्थापन गर्नुपर्ने उनले बताए । उनका अनुसार अन्य क्षेत्रको अनुभवका आधारमा करिब ३५–४० टन फोहोरबाट ५० किलोवाटसम्म विद्युत् उत्पादन गर्न सकिन्छ । यो प्रविधिअन्तर्गत भारतको नयाँदिल्ली १० हजार मेट्रिक टनबाट ६० हजार घरमा विद्युत् सुविधा पुर्‍याएको छ ।
जिल्ला विकास समितिअन्तर्गतको वैकल्पिक उर्जा शाखाका प्रमुख ज्ञानेन्द्र सिंहले विराटनगरमा फोहोरवाट उर्जा उत्पादन गर्ने कार्यक्रम सञ्चालनको सम्भावना रहेको बताए । उनले अहिले विराटनगर उपमहागरपालिकाले दिने भनेको विराटनगर १८ जतुवाको जग्गामा प्लान्ट सञ्चालन गर्न सकिन्छ कि सकिँदैन भन्नेबारेमा छलफल भइरहेको बताए । उनले अहिले प्लान्ट सञ्चालनका बारेमा अध्ययनका लागि विज्ञ तथा परामर्शदाताहरूको माग गरिएको बताउँदै उनीहरूको छनौटपछि चाडै अध्ययन सुरु गरेर आयोजना सञ्चालन
गरिने बताए ।
परामर्शदाताहरूको सुझावका आधारमा पुन: डिटेल फिजिबिलिटी सर्भे गरेर नगरपालिका, वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्र र बिश्व बैक बीच त्रिपक्षीय सम्झौता गरेर आयोजना सञ्चालन हुने उनले बताए । उनले नेपालमा हालसम्म यस प्रकारको आयोजना सञ्चालन नभएकाले लागतका बारेमा भन्न नसकिने बताउँदै डिटेल फिजिबिलिटी सर्भेपछि मात्र खर्चबारे भन्न सकिने बताए । अहिले तत्काल नगरपालिकाले जग्गा र फोहोर दिन्छु भन्ने प्रतिवद्धता गरेपछि आयोजनाको काम अघि बढ्छ उनले भने त्यस विषयमा नगरपालिकाले मौखिक रूपमा प्रतिवद्धता जनाइसकेको छ त्यसलाई औपचारिकता दिन बाँकी छ ।
उर्जा अधिकृत सिंहले केन्द्रले विराटनगर र बुटवलमा एकैसाथ आयोजना सञ्चालनको तयारी गरिरहेको बताए । उनले नगरभित्र उत्पादन हुने मात्र नभई विभिन्न उद्योगहरूले उत्पादन गरेका फोहोरहरूलाई पनि संकलन गर्ने विषयमा छलफल भइरहेको र धेरै फोहोर उत्पादन गर्ने उद्योगहरूलाई पनि छलफलमा बोलाइएको उनले बताए । त्यसबाहेक सिमएन आयोजनासँग पनि यस विषयमा छलफल भइरहेको उनले बताए ।
विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत प्रदीपकुमार निरौलाले आयोजना सञ्चालन भएमा फोहोरको व्यवस्थापन र उर्जाको संकट कम हुने जानकारी गराए । उनले व्यवस्थित ल्यान्डफिल्ड साइटको अभावमा फोहोर व्यवस्थापन गर्न गाह्रो भइरहेको बेला आयोजना सञ्चालन भएमा दोहोरो फाइदा हुने बताए । उनले नगरपालिकाले फोहोर र जग्गा दिने विषयमा सकारात्मक रहेको र यो सम्झौताको चरणमा रहेको पनि जानकारी दिए ।

प्रतिक्रिया