विराटनगर, २४ कात्तिक । आगामी मंसिर ४ को संविधानसभा निर्वाचनलाई सक्रिय बहिस्कार गरिरहेको नेकपा–माओबादीका जिल्ला स्तरिय नेताहरु अर्धभुमिगत भएका छन् । प्रहरीले जिल्ला स्तरका नेताहरुलाई घरैबाट पक्राउ गर्न थालेपछि आधा दर्जनभन्दा बढी नेताहरु अर्धभुमिगत भएका हुन् ।
जिल्ला नेताहरु अर्धभुमिगत भए लगत्तै सक्रिय कार्यकर्ताहरुले समेत आफ्नो बासस्थान परिवर्तन गर्न शुरु गरेका छन् । नेकपा–माओबादी मोरङका सेक्रेटरी तथा कोचिला राज्य समिति सचिवालय सदस्य लोचन धमलाले राती सुतिरहेको ठाउबाटै आफ्नो नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले पक्रेर झुठा मुद्धा लगाउन थालेकाले अर्धभुमिगत बन्नु परेको दावी गरे । उनका अनुसार अधिकांश सक्रिय कार्यकर्ताहरुले पनि बसोवास परिवर्तन गर्न थालेका छन् । प्रहरीले गत मंगलबार सो पार्टीका कोचिला राज्य समिति सदस्य लक्ष्मण मण्डललाई सिस्वनी जहदा ५ स्थित आफ्नै घरबाट पक्राउ गरेको थियो ।
त्यस्तै गत कात्तिक १५ गते अर्का कोचिला राज्य समिति सदस्य हृदयलाल थारुलाई कसेनी स्थित आफनै घरबाट पक्राउ गरेको थियो । त्यसअघि धमला सहित पााच जनालाई प्रहरीले पक्राउ गरि सार्वजानिक अपराध ऐन अन्तर्गत मुद्धा दायर गरेको थियो । जनही ५ सय रुपैया धरौटीमा उनीहरु रिहा भएका थिए । त्यस्तै प्रहरीले गत शुक्रबार पनि अनेरास्ववियु केन्द्रिय कमिटिका सचिवालय सदस्य तथा कोचिला राज्य समिति इन्चार्ज जयराम सुन्दासलाई पक्राउ गरेको थियो । प्रहरीले सवैलाई पक्राउ गर्न सक्नेभएपछि ती नेताहरु अर्धभुमिगत भएको उनीहरुको दावी छ । यता मोरङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बिश्वराज पोखरेलले निर्वाचन बहिस्कारको नाममा शान्ती सुरक्षामा खलल पुर्याउ खोज्नेहरुलाई नियन्त्रणमा लिइएको जानकारी दिए । उनले नेकपा–माओबादीका नेताहरु सबैलाई पक्राउ गर्ने उदेश्य नभएपनि विभिन्न हिंशात्मक घटनाको अनुसन्धानका क्रममा दोषी देखिएकालाई भने नियन्त्रणमा लिइने प्रष्ट पारे । नेकपा–माओबादीका कार्यकर्ताले उम्मेदवारहरुको सवारी साधनमा आगो लगाउने, चुनाव प्रचार अभियानमा बलपुर्वक अवरोध गर्ने, अन्य दलका नेता कार्यकर्ताहरु माथि आक्रमण गर्ने, निर्वाचन सामाग्रीहरु खासेर नष्ट गर्ने लगायतका गतिविधि गरेको प्रमुख पोखरलेलले जानकारी दिए ।
प्रतिक्रिया