काठमाडौं, २३ कात्तिक । कांग्रेस महामन्त्री प्रकाशमान सिंहले जातीय राजनीतिले गर्दा अघिल्लो संविधानसभा नयाँ संविधान दिन नसकी अन्त्य भएको स्मरण गरेका छन् ।
काठमाडौं क्षेत्र नम्बर एकमा आफ्ना मतदातासँग आज (शनिबार) भएको अन्तरक्रिया कार्यक्रममा महामन्त्री सिंहले जातीय राजनीतिले नयाँ संविधान बन्न नदिएको बताए । ‘अघिल्लो संविधान सभा जातीय राजनीति र मुद्दाले गर्दा त्यत्तिकै समाप्त भयो,’ उनले भने, ‘जातीय राजनीतिले कसैलाई पनि फाईद गर्दैन ।’
जातीय कुराले मुलुकमा राजनीतिक उथलपुथल ल्याउने उनको भनाई थियो । उनले जातीय राजनीतिमा नलाग्न पनि आग्रह गरे ।
जातीय राजनीतिको नराम्रो अनुभव सुनाएका कांग्रेस महामन्त्री सिंहले राजनीतिमा धर्मलाई पनि जोड्न नहुने बताए ।
‘जात र धर्मलाई राजनीतिसँग कहिल्यै जोड्नु हुँदैन,’ उनले भने, ‘दलहरु आफ्ना राजनीतिक एजेण्डाका साथ जनता समक्ष जानु पर्छ ।’
सिंहले जनतासँग डराउनेहरुले जात र धर्मलाई राजनीतिमा ल्याउने गरेको आरोप लगाए । उनले धर्म परिवर्तनका विरुद्ध कांग्रेसले कडा कानूनी प्रावधानका लागि ध्यान दिने बताए ।
‘धार्मिक स्वतन्त्रता सबैलाई हुनु पर्छ,’ उनले भने, ‘धर्म परिवर्तन गर्न लगाउनु पनि हुँदैन ।’ महामन्त्री सिंहले कांग्रेसले सबै धर्मलाई समान रुपमा लिएको दोहर्याए ।
यसैबीच, महामन्त्री सिंहले सरकारले मनोनयन गर्ने २६ सिट जथाभावी बाँड्ने अधिकार कुनै नेतालाई नहरेको बताएका छन् । ‘मन्त्रिपरिषद्बाट मनोनयन गर्ने २६ सभासद्को सिट बाँड्ने अधिकार कसैलाई छैन,’ उनले, ‘निर्वाचन पछि आउने सरकारले त्यसका बारेमा आफै निर्णय गर्छ ।’
एकीकृत माओवादीले मन्त्रिपरिषद्ले मनोनयन गर्ने २६ सिट नेकपा–माओवादीलाई दिन सकिने धारणा सार्वजनिक गरे लगत्तै कांग्रेस महामन्त्री सिंहले बिरोध जनाएका हुन् । नेकपा–माओवादीका मागलाई सम्बोधन गर्न कांग्रेस तयार रहे पनि बिधि र प्रक्रिया मिच्ने विषयमा आफूहरु सर्तक रहेको उनले बताए ।
प्रतिक्रिया