नेपाल र इजरायल सरकारको सहमति कार्यान्वयनमा अन्योल

काठमाडौ, २३ कात्तिक । नेपाली कामदारका लागि इजरायलमा रोजगारीको अवसर खुलाउने भने पनि इजरायल सरकारले गरेको सहमति कार्यान्वयन नगर्दा रोजगारीका लागि इजरायल जानबाट वन्चित भएका छन् । नेपालका लागि इजरायली राजदूत खनान गोडेरल चाँडै नेपाली कामदारले इजरायलमा रोजगारी पाउने बताए पनि हालसम्म ठोस निर्णय आउन सकेको छैन ।

नेपाल सरकार र इजरायल सरकारबीच कामदार पठाउने सहमति भएको तीन महिनाभन्दा बढी भए पनि हालसम्म कार्यान्वयनमा नआएको वैदेशिक रोजगार विभागका निर्देशक दिवस आचार्यले जानकारी दिए । कामदार पठाउनका लागि प्रक्रियागत कुरा मिलाइदै गरेको इजरायली सरकारले प्रतिक्रिया दिए पनि पछिल्लो समयमा कुनै आधिकारिक धारण नआएको निर्देशक आचार्यले बताए ।
सन् २०१० अप्रिलभन्दा अगाडि नेपाली कामदार इजरायलमा रोजगारीका लागि जाँदा म्यानपावर व्यवसायीमार्फत जाने गरेका थिए । म्यानपावर व्यवसायीले बढी रकम असुलेको भन्दै २०१० अप्रिलदेखि इजरायलले नेपाली कामदार लिन बन्द गरेको थियो । तत्कालीन समयमा करिब १२ हजार नेपाली रोजगारीको शिलशिलामा इजरायल गएका थिए । जसमध्ये करिब १० हजार नेपाली महिला कामदार केयरगिभर (घरेलु कामदार) को रूपमा काम गर्दथे भने केही कामदार कृषि क्षेत्रको कामका लागि इजरायल पुगेका थिए । म्यानपावर व्यावसायीले मनोमानी ढंगले पैसा असुली गर्न थालेपछि म्यानपावर व्यावसायीमार्फत कामदार लिन बन्द गरिएको थियो । अहिले सरकारीस्तर बाटै कामदार पठाउने र लिने प्रक्रिया सुरु गर्ने भएकाले केही समय लागेको आचार्यको भनाइ छ ।
थोरै लगानीमा धेरै कमाई हुनका साथै जोखिम कम भएकाले महिला कामदारका लागि इजरायल लोकप्रिय गन्तब्य मुलुक बन्दै गएको छ । इजरायमा केयरगिभरका साथै केही कामदार कृषिमा पनि आकर्षित देखिएका छन् । इजायलमा कामदार पठाउँदा म्यनपावर व्यबसायीले केयरगिभरका लागि छ लाख रुपियाँसम्म लिने गरेका थिए । उक्त कामका लागि जान कामदारको लागत रकम भने हवाई टिकटका लागि तत्कालीन समयमा लगभग ७५ हजार लाग्ने गर्दथ्यो । व्यवसायीले मनोमानी ढंगले पैसा असुली गरेको, अस्वस्थ प्रतिस्पर्धा भएको, कामदार ठगिएको, अयोग्य कामदार विदेशिएको भन्दै २०१० अप्रिलदेखि कामदार इजरायलमा लैजान रोकेको थियो । म्यानपावर व्यावसायीबाट कामदार लैजाँदा असहज भएको भन्दै अब लगिने कामदार दुई देशका सरकारबीचको सम्झौतामा कामदार इजरायल पठाउन लागिएको हो ।
यसबाट नेपालीले राम्रो आम्दानी गर्न सक्ने छन् भने इजरायल सरकारले राम्रा, योग्य श्रमशक्ति सहजै पाउने छ । कात्तिकको दोस्रो साता साना किसान विकास बैंक र इजरायली दूतावासको सहकार्यमा दुई सय चार नेपाली युवा इजरायलमा कृषि तालिमका लागि गइसकेका छन् । उनीहरुको उक्त तालिमले नेपालमा कृषि क्षेत्रमा नयाँ फड्को मार्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया