व्यवसायीद्वारा बन्दको विरोध

बुटवल, २३ कात्तिक । आसन्न चुनाव बिथोल्ने उद्देश्यले गर्ने भनिएको आमहड्तालको रुपन्देहीका औद्योगिक, व्यापारिक तथा व्यवसायिक संघसंगठनहरूले विरोध जनाएका छन् । उनीहरूले भरपर्दो सुरक्षा व्यवस्थामा मात्र आ–आफ्नो व्यवसाय सञ्चालन गर्न सकिने भएकाले त्यसको व्यवस्था गर्न मागसमेत गरेका छन् ।

जिल्ला सुरक्षा समितिले शुक्रबार भैरहवामा गरेको निर्वाचन सुरक्षासम्बन्धी छलफलमा उद्योगी व्यवसायीहरूले चुनाव बिथोल्ने कुनै पनि गतिविधिको विरोध गर्दै बन्दको अवज्ञा गर्ने र संविधानसभा निर्वाचन सफल पार्ने वातावरण सिर्जना गर्न आफूहरू प्रतिबद्ध रहेको बताएका हुन् ।
नेकपा–माओवादीसहितको मोर्चाले २५ कात्तिकदेखि गर्ने भनिएको बन्दको अवज्ञा गर्दै अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति सहज बनाउन यातायात, उद्योग, बजारजस्ता क्षेत्रहरू पूर्ववत् रूपमा सञ्चालन गर्ने र त्यसका लागि सुरक्षा समिति तथा स्थानीय प्रशासनले भरपर्दो र त्रुटिरहित ढंगबाट सुरक्षाको प्रबन्ध गर्ने निर्णय पनि भेलाले गरेको छ । रुपन्देही उद्योग संघ, पश्चिम नेपाल बस व्यवसायी समिति, सिद्धार्थनगर यातायात व्यवसायी समिति, लुम्बिनी ट्रक व्यवसायी समिति, पश्चिम नेपाल यातायात व्यवसायी समिति, सिद्धार्थनगर उद्योग वाणिज्य संघ, बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही व्यापार संघ, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन, सिद्धार्थ होटल एसोसिएसन, होटल व्यवसायी संघ रुपन्देही, पश्चिमाञ्चल टयांकर व्यवसायी समितिलगायत दर्जनौँ व्यवसायिक संघसंगठनका प्रतिनिधिले सुरक्षाको पूर्णप्रत्याभूति भए बन्दको सशक्त अवज्ञा गर्न आफूहरू प्रतिबद्ध रहेको बताए ।
छलफलमा रुपन्देही उद्योग संघका अध्यक्ष तेजकुमार पाठकले राज्यका तर्फबाट सुरक्षाको भरपर्दो र पूर्णप्रत्याभूति गर्न सके उद्योगीहरूले आफ्ना उद्योगहरू सञ्चालन गर्न सक्ने बताए । १० दिनसम्म गर्ने भनिएको आमहड्तालका बेला कुनै घटना भए तत्काल छनबिन, कारबाही तथा क्षतिपूर्तिका लागि स्थानीय तहबाटै व्यवस्था गर्नुपर्ने उनको माग थियो । नेपाल ट्रक तथा टयांकर परिवहन महासंघका अध्यक्ष अर्जुन रानाभाटले निर्वाचन सफल बनाउने अभियानलाई ढुवानी व्यवसायीहरूको पनि पूर्णसाथ रहने बताउँदै अन्तर जिल्ला सुरक्षा समन्वयलाई पनि सशक्त र चुस्त बनाउनुपर्ने सुझाव दिए ।
त्यसैगरी पश्चिम नेपाल बस व्यवसायी समितिका अध्यक्ष दधिराम खरेलले लामो तथा छोटो दूरीको यातायातका लागि साधनस्रोतसहितको सुरक्षाकर्मीको टोलीले स्कर्टिङ गर्ने व्यवस्था गर्नुपर्ने बताए । सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु शर्मा, महेन्द्र श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्णकुमार श्रेष्ठ, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका अध्यक्ष मनिष जोशी, सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठलगायतले संविधानसभाको चुनाव अत्यावश्यक र आमजनताको चाहना भएकाले निर्वाचन बिथोल्ने उद्देश्यले गरिने बन्दको अवज्ञा गर्न आफूहरू एक भएर लाग्ने बताए ।
त्यस अवसरमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले निर्वाचनलाई असफल बनाउने उद्देश्यले गर्ने भनिएको आमहड्ताललाई असफल पार्न र निर्वाचन शान्तिपूर्ण तथा भयरहित ढंगले सम्पन्न गराउन सुरक्षा समितिले विशेष सुरक्षाको प्रबन्ध गरेको जानकारी द्रिए । त्यस्तै जिल्ला सुरक्षा समितिका संयोजकसमेत रहेका प्रजिअ पन्थीले २४ गतेदेखि नै राष्ट्रिय तथा सहायक राजमार्ग, व्यापारिक, औद्योगिक क्षेत्रहरूलाई सुरक्षा घेराबन्दी गरिने, ठाउँठाउँमा साधनस्रोतसहितका नेपाल प्रहरी, सशस्त्र तथा नेपाली सेनासमेत परिचालन गरी सुरक्षा प्रदान गरिने योजना बनाइएको जानकारी दिए ।

प्रतिक्रिया