दाहाल जहाँ गए पनि झलनाथकै खेदो

काठमाडौं : एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले देश दौडाहाका क्रममा जहाँ गए पनि एमाले अध्यक्ष झलनाथ खनालमाथि आक्रोश पोख्न थालेका छन् । अन्य राजनीतिक दलको आलोचना गरे पनि एमाओवादी अध्यक्ष दाहालले बढीजसो खनालको भने नामै किटेर विरोध गरिरहेका छन् ।
विभिन्न जिल्लामा आयोजित चुनावी सभामा भाषण गर्दा दाहालले एमाले अध्यक्ष खनाललाई निशाना बनाउन थालेका हुन् । उनले कार्यक्रमहरुमा सम्बोधन गर्ने कांग्रेसको रुख ढलिसकेको र एमाले धोकेवाज पार्टी भएकाले अबको नेतृत्व आफूले मात्रै गर्न सक्ने दाबी पनि गरिरहेका छन् ।
मेची–महाकाली राष्ट्रिय जागरण अभियानका क्रममा शुक्रबार सर्लाहीको लालबन्दी पुगेका दाहालले त्यहाँ पनि खनालकै खेदो खने । सर्लाही क्षेत्र नम्बर १ मा पर्ने लालबन्दीमा भएको चुनावी सभामा उनले खनाल संघीयता र मधेसविरोधी मात्रै नभइ एक नम्बरको विश्वासघाती भएको आरोप लगाए । उनले सबैभन्दा बढी संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताको विरोध गर्ने एमालेका झलनाथ र केपी ओली भएको जिकिरसमेत गरे ।
Puspakamal Dahalउनले आफू प्रधानमन्त्री हुँदा तत्कालीन सेनापति रुक्मांगद कट्वाललाई कारबाही गर्न सहमति जनाएका खनालले पछि धोका दिएर राष्ट्रपति डा. रामवरण यादवसमक्ष बिन्तीपत्र हालेको पनि भन्न छुटाएनन् । दाहाल खनालमाथि नै किन खनिन थालेका छन् त ? एक राजनीतिक विश्लेषकको ठम्याइमा दाहालले सेनापति प्रकरणकै तिक्ततामा अहिले रिस फेरिरहेको हुन सक्छ । प्रधानसेनापति प्रकरणकै कारण दाहालले प्रधानमन्त्री पदबाट हट्नुपरेको थियो ।
प्रचण्ड चुनावको विपक्षमा छैनन् : कोइराला
चितवन : कांग्रेस सभापति सुशील कोइरालाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल चुनावको विपक्षमा नरहेको बताएका छन् ।
मोहन वैद्य नेतृत्वको माओवादीलाई देखाएर एमाओवादीले चुनाव भाँड्न खोजेको आरोप कांग्रेसकै केही नेता र एमालेका शीर्ष नेताहरुले लगाइरहेका बेला कोइरालाको यस्तो अभिव्यक्ति आएको हो । चितवन क्षेत्र नम्बर ४ मा कांग्रेस उम्मेदवार रहेका कोइरालाले शुक्रबार चुनाव प्रचारका क्रममा दाहाल मेची–महाकाली अभियानमा जुटिरहेको उल्लेख गरे ।
उनले कांग्रेस लोकतन्त्रका लागि लडेको र प्रजातन्त्रका विषयमा कसैसँग सम्झौता नगरेको पनि स्पष्ट पारे । उनले चुनावमा कांग्रेसको बहुमत आउने दाबीसमेत गरेका थिए । ‘जहाँ म जान्छु, हर ठाउँमा चुनाव र प्रजातन्त्रको पक्षमा एउटा उत्साह छ,’ उनले भने, ‘हाम्रो बहुमत नआउने कुरै छैन ।’ उनले चुनावमा कांग्रेसको बहुमत पनि आउने र अबको संविधानसभाबाट संविधान पनि बन्ने दाबी गरेका थिए ।
उनले बाँकेमा हार्ने डरले चितवनमा उठेको भन्ने प्रचार गलत भएको स्पष्ट पार्दै दुवै क्षेत्रमा आफ्नो जित सुनिश्चित भएको दाबी गरे । चितवन ४ मा कांग्रेसकै पूर्वजिल्ला सभापति विकास कोइरालाले बागी उम्मेदवारी दिएपछि अप्ठेरो भएको भन्ने प्रश्नमा पनि उनले कुनै असजिलो नभएको दाबी गरेका थिए । उनले प्रजातन्त्रमा चुनाव लड्ने सबैको अधिकार हुने उल्लेख गर्दै बागी उम्मेदवारले कुनै असर नगर्ने बताएका थिए । त्यस्तै उनले ४ मंसिरमै जसरी पनि चुनाव हुने दाबी गर्दै वैद्य माओवादीले चुनाव नबिथोल्ने विश्वास व्यक्त गरेका थिए ।
एमाओवादीले नै चुनाव बिथोल्न खोज्दै छ : नेपाल
काठमाडौं : एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पराजयको भयले एमाओवादीले नै चुनाव बिथोल्न अनेक जालझेल गरिरहेको आरोप लगाएका छन् ।
काठमाडौं–२ मा एमाले उम्मेदवारसमेत रहेका नेता नेपालले शुक्रबार कोटेश्वर र गैरीगाउँमा घरदैलो कार्यक्रमपछि पत्रकारसँग एमाओवादीमाथि यस्तो आरोप लगाएका हुन् । एमाओवादी आफैँले चुनाव बिथोलेर आरोप मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीलाई लगाउने रणनीतिमा रहेको दाबी गर्दै नेपालले सचेत बन्न नेकपा–माओवादीको ध्यानाकर्षण गराएका थिए ।
‘संविधानसभा चुनावमा पराजित हुने देखेकाले एमाओवादीले हिंसा मच्चाएर दोष तपाईं (मोहन वैद्य)को थाप्लोमा पार्न सक्छन्,’ उनले भने, ‘त्यसकारण जिम्मेवारपूर्ण ढंगले अघि बढ्न म आग्रह गर्दछु ।’
उनले ४ मंसिरको चुनाव बिथोल्न माओवादीले २५ कात्तिकबाट गर्ने भनेको आमहड्ताल रोक्न आग्रहसमेत गरे । ‘आमहड्ताल र अवरोध नरोक्ने हो भने चुनाव बिथोल्न एमाओवादीबाटै अनेकौ जालझेल र षड्यन्त्र हुन सक्छ,’ उनले भने, ‘त्यसैले ती सबै कार्यक्रम फिर्ता लिएर जिम्मेवार भूमिका खेल्न म आग्रह गर्दछु ।’ उनले चुनाव लोकतान्त्रिक प्रक्रियाको उत्तम विकल्प भएको भन्दै जनतालाई कष्ट हुने बन्द, हड्ताल फिर्ता लिन आग्रह गरेका थिए ।
उनले एमाओवादीले आफूअनुकूल चुनाव गराउन अर्धसैन्य दस्ता वाइसिएल परिचालन गर्न खोजेको दाबीसमेत गर्दै कडाइका साथ नियन्त्रण गर्न सरकार र निर्वाचन आयोगसमक्ष माग गरे । ‘हार्ने देखेर एमाओवादीले अनेक जालझेल र षड्यन्त्रका साथै बितन्डा मच्चाएर आफूअनुकूल निर्वाचन गराउन अर्धसैन्य संरचना (वाइसिएल)लाई पनि उर्तान खोजिरहेको छ,’ उनले भने, ‘म चाहन्छु, राज्यले त्यस्ता गतिविधिलाई कडाइका साथ नियन्त्रण गरोस् ।’

प्रतिक्रिया