आमहड्ताल फिर्ता लिन रेग्मीको आह्वान

Khilraj-Regmiकाठमाडौं, २३ कात्तिक । अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले नेकपा–माओवादीलगायत असन्तुष्ट राजनीतिक दलहरुलाई आमहड्ताल फिर्ता लिन आह्वान गरेका छन् ।

अध्यक्ष रेग्मीले दोस्रो संविधानसभा चुनाव बिथोल्ने लाइनमा रहेका मोहन वैद्य नेतृत्वको माओवादीसहित ३३ दलले २५ कात्तिकदेखि गर्ने भनी घोषणा गरेको आमहड्तालको कार्यक्रम फिर्ता लिन तथा चुनावविरोधी गतिविधि नगर्न आह्वान गरेका हुन् । ४ मंसिरको चुनाव बिथोल्न ३३ दलले २५ कात्तिकदेखि ५ मंसिरसम्म १० दिन आमहड्ताल गर्ने घोषणा गरिसकेका छन् ।
राजधानीमा शुक्रबार नेपाल प्रज्ञा–प्रतिष्ठानको २८ औँ प्राज्ञसभालाई सम्बोधन गर्दै रेग्मीले नागरिकको मतदान गर्ने नैसर्गिक अधिकार कुण्ठित गर्ने वा अवरोध गर्ने कार्य राजनीतिक चरित्र भएको कुनै दल वा पक्षलाई नसुहाउँने स्पष्ट पारे । उनले नागरिकको मताधिकार कुण्ठित गर्ने, अवरोध खडा गर्ने, हिंसात्मक गतिविधि गरी शान्ति सुरक्षामा खलल पुर्‍याउनेलगायत समाजविरोधी एवं कानुन प्रतिकूल कार्य गरिए त्यसमा सरकार कडाइका साथ प्रस्तुत भई कानुनी कारबाही गरिने बताए । कुनै प्रकारको बाधा वा अवरोध होला भन्ने भ्रम वा त्रासमा नपरी पूर्ण सुरक्षित महसुस गर्दै चुनावको महाअभियानमा सहभागी हुन सबैसँग उनले आग्रह गरे ।
बन्द फिर्ता लिनुपर्‍यो : उद्योगी
नेपाल उद्योग वाणिज्य महासंघले पनि नेकपा–माओवादीलाई आमहडताल फिर्ता लिन आग्रह गरेको छ ।
महासंघका अध्यक्ष सुरज वैद्य नेतृत्वको टोलीले शुक्रबार माओवादी अध्यक्ष वैद्यलाई भेटी २५ कात्तिकदेखि गर्ने भनेको आमहड्तालको कार्यक्रम फिर्ता लिन आग्रह गरेको हो । महासंघको टोली माओवादी नेतृत्वसँगको भेटका लागि पार्टी केन्द्रीय कार्यालय बुद्धनगर पुगेको थियो । भेटपछि महासंघका अध्यक्ष वैद्यले देशको आर्थिक अवस्था कमजोर भइरहेको बेला आमहड्तालले आर्थिक अवस्था झन् विकराल हुने भएकाले फिर्ता लिन आग्रह गरेको जानकारी दिए ।
माओवादी सचिव देव गुरुङले आफूहरु शान्तिपूर्ण तवरबाट समस्या समाधानको पक्षमा रहेको उल्लेख गर्दै सहमतिबाट समस्या समाधान भए बन्दलगायतका कार्यक्रम फिर्ता लिन सकिने जवाफ दिएको उल्लेख गरे । सहमतिमा चुनाव गर्नुपर्ने र त्यसका लागि महासंघका तर्फबाट पहल गरिदिन आग्रह गरेको गुरुङको भनाइ थियो ।

प्रतिक्रिया