अस्थायी परिचयपत्र बाँड्ने तयारी

काठमाडौं : निर्वाचन आयोगले संविधानसभा सदस्यको निर्वाचनका लागि तस्बिरसहितको अस्थायी मतदाता परिचयपत्र छपाइ गरी ढुवानी सुरु गरेको छ । आयोगले कात्तिक ९ गते रातिदेखि परिचयपत्र छपाइ सुरु गरेको थियो । सो अस्थायी मतदाता परिचयपत्रमा एकातर्फ मतदाताको नं. र व्यक्तिगत विवरण रहेका छन् अर्कातर्फ मतदानका लागि आयोगबाट गरिएको आमन्त्रण राखिने छ । निर्वाचन शिक्षा तथा मतदाता शिक्षा स्वयंसेवक, २४० निर्वाचन अधिकृत, जिल्ला निर्वाचन कार्यालयबाट सो परिचयपत्र वितरण गरिने व्यवस्था आयोगले मिलाएको छ । निर्वाचनका लागि ६१ लाख ६६ हजार ८ सय २९ महिला, ५९ लाख ८० हजार ८ सय ८१ पुरुष र १५५ तेस्रोलिंगी मतदाता गरी एक करोड २१ लाख ४७ हजार ८६५ जना मतदाता छन् । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि छ हजार १२८ र समानुपातिक निर्वाचन प्रणालीका लागि ११ हजार तीन जना चुनावी प्रतिस्पर्धामा छन् । प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले परिचयपत्र वितरणका लागि सम्बन्धित जिल्लामा पठाउन सुरु गरिसकिएको र पहिले दुर्गम जिल्लामा पुर्‍याउन लागिएको जानकारी दिए । निर्वाचनका लागि १० हजार १३ मतदानस्थल र १८ हजार केन्द्र निर्धारण गरिएको छ । उनले निर्वाचनका अन्य सामग्री पनि सम्बन्धित जिल्लामा पुगी मतदान केन्द्रमा लैजाने तयारी भइरहेको बताए ।

प्रतिक्रिया