व्यवस्थापन र निर्वाचन रणनीतिमा सरकार

sarkar logoकाठमाडौं, २२ कात्तिक । मन्त्रिपरिषद् आवश्यक सेवा संचालन तथा व्यवस्थापन समितिले निर्वाचन सम्बन्धी काममा स्रोत, साधन तथा सेवा अभाव हुन नदिन सरोकारवाला मन्त्रालयहरुलाई निर्देशन दिएको छ ।

समितिको आज (शुक्रबार) सिंहदरबारमा बसेको पहिलो बैठकले निर्वाचन सम्पन्न नहुँदा सम्मका लागि आवश्यक पर्ने सबै स्रोत र साधनका विषयमा तयार रहने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । सम्बन्धित मन्त्रालयका जिम्मेवारी सम्पादन गरे वा नगरेका विषयमा पनि अर्को दिन लेखेर पठाउन निर्देशन दिइएको मन्त्रिपरिषदको कार्यालयका सचिव कृष्णहरि वास्कोटाले जानकारी दिए ।

निर्वाचन सम्बन्धी काममा स्रोत, उद्योगधन्दा, कल कारखानालाई नियमित संचालनमा ल्याउने, विद्युत सेवा अवरुद्ध हुन नदिने, खानेपानी सेवालाई निरन्तरता, हरियो तरकारी, दुध, माछा, मासु र फलफूलको नियमित आपूर्तिलगायतका व्यवस्थापन गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन समितिले दिएको छ ।

शान्ति सुरक्षाको विश्वसनीय वातावरण तयार गर्ने, चामल, दाल, चिनी जस्ता अत्यावश्यक दैनिक उपभोगका सामग्री एवं पेट्रोल, डिजेल, ग्यास, हवाई इन्धनलगायत वस्तुहरुको आपूर्ति, एकीकृत वजार अनुगमनको व्यवस्था, हवाई उडानहरुलाई नियमित गराउने र विमानस्थलहरुलाई अतिरिक्त समयमा पनि संचालन गर्ने, आकस्मिक उपचार सेवा, अक्सिजनको आपूर्ति, एम्वुलेन्स र औषधिको विक्री, शैक्षिक संस्थाहरुलाई नियमित रुपमा संचालन गर्ने लगायतका कार्य गर्ने सूची तयारी गरी सम्बन्धित मन्त्रालयलाई लेखी पठाएको विज्ञप्तिमा जनाईएको छ ।

समिति संयोजकमा गृहमन्त्री माधव घिमिरे छन् । सरकारले निर्वाचनको काममा सघाउन सो समिति गठन गरेको हो ।

प्रतिक्रिया