काठमाडौं, २२ कात्तिक । कांग्रेसले चुनावी आचार संहिता विपरितका गतिविधि गरेको भन्दै एमाओवादी, एबीसी टेलिभिजन, टिभिफिल्मी तथा राष्ट्रिय खेलकुद परिषद् बिरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको छ ।
मेची–महाकाली राष्ट्रिय जागरण अभियानको नाममा एमाओवादीले आचारसंहिता पालना नगरेको आरोप उजुरीमा लगाएको छ । कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, राजन पन्तलगायतको टोलीले आज (शुक्रबार) प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती र आयुक्त दोलखबहादुर गुरुङलाई उजुरी दिएको हो ।
समितिका सदस्य सचिव केशव रिजालले एमाओवादीको जागरण अभियान, एबीसी टिभीको प्रत्यक्ष प्रशारण, टिभी फिल्मीद्वारा राप्रपा नेपालका उम्मेदवार उद्धव पौडेलको प्रचार, राष्ट्रिय खेलकुद परिषदका विरुद्ध उजुरी दिएको बताए ।
‘केन्द्रमा भएका आचार संहिता उल्लंघनबारे आयोगको ध्यानाकर्षण गराएका छौं,’ रिजालले भने, ‘एमाओवादीको मेची–महाकाली अभियानको नाममा भैरहेका गतिविधिले आचार संहिता उल्लंघन गरेको छ ।’
झापाको काँकडभिट्टाबाट गत बुधबारदेखि एमाओवादीले सुरु गरेको जागरण अभियानमा सवारी साधन र झण्डा ब्यानरको अत्यधिक प्रयोग, कार्यकर्तालाई भोजभतेर गरेको कांग्रेसको आरोप छ ।
एमाओवादी निकट एबीसी टेलिभिजनले अभियानको प्रत्यक्ष प्रसारण गरेर आचार संहिता उल्लंघन गरेको कांग्रेसको उजुरीमा उल्लेख छ । कांग्रेसले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले एमाओवादी निकटका क्लबलाई खेलकुदका सामग्री बाँडेको पनि आरोप लगाएको छ ।
प्रमुख आयुक्त उप्रेतीले आयोगले आचार संहिता उलंघनका विषयमा आफूहरुले ध्यान दिइरहेको बताए । कांग्रेसले चुनाव अनुगमन गर्न केन्द्र र जिल्ला तहमा ‘संविधानसभा सदस्य निर्वाचन २०७० आचार संहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति’ गठन गरेको छ । समितिका संयोजकमा केन्द्रीय सदस्य मानबहादुर विश्वकर्मा छन् ।
प्रतिक्रिया