इलाममा एक नजर

kb gurungदोस्रो संविधानसभा चुनावको निर्धारित मिति ४ मंसिर २०७० जति नजिकिँदै छ उति नै चुनावीे पारो चढ्दै छ । चुनावी मतपरिणामका अडकलबाजीहरु बढ्दै गइरहेका छन् । अहिलेका मुख्य राजनीतिक शक्तिहरुले आआफ्नै तालमा बहुमतको दाबी गरिरहेका छन् । तर, अब मुख्य राजनीतिक दल यही बन्छ भन्ने अवस्था देखिन्न । एकीकृत माओवादी, कांग्रेस र एमाले थोरै–थोरै सिटले अघि–पछि हुने अनुमान गर्न सकिन्छ । त्यसमा एकीकृत माओवादीले पहिलो संविधानसभा चुनावको तुलनामा यसपटक प्रत्यक्षतर्फ सिट गुमाउने अवस्था भने देखिँदै छ । हुन त यसअघिको चुनावी परिणामको आँकलन ठीक उल्टो आएको थियो तर अहिले त्यस्तो नहुने धेरै आधार छन् । ती आधारतिर नलागौं । त्यस्तै परिस्थितिबाट गुज्रिरहेको छ पूर्वी जिल्ला इलाम पनि । इलामका दुईवटा क्षेत्र यसपटक सबैको चासोको विषय बनेको छ । एमालेबाट केन्द्रीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्बाङको उम्मेदवारीले होइन कि उनीहरुको प्रतिस्पर्धाको अवस्थाले सबैलाई इलामतिर तानेको छ । यी दुवै नेतालाई दोस्रो संविधानसभामा प्रतिनिधित्व गर्न विगतमा जस्तो सहज नरहेको देखिन्छ ।

इलाममा यसअघिको चुनावमा कांग्रेस र एमालेकै बर्चस्व रह्यो । यसपटक पनि यी दुई पार्टी नै मुख्य प्रतिस्पर्धामा आउने अवस्था देखिन्छ । २०६४ को संविधानसभा चुनावमा क्षेत्र नम्बर १ बाट १७६५५ मतका साथ खनाल, २ बाट १७७४८ मतका साथ एमालेकै नेम्बाङ र ३ बाट १६३८६ मत पाएर कांग्रेसका कुलबहादुर गुरुङ विजयी भएका थिए । खनालले ३८८१ मतअन्तरले कांग्रेसका बेनुपराज प्रसाईं र नेम्बाङले ३७०४ मतअन्तरले कांग्रेसका केशव थापालाई हराए । गुरुङले एमालेका धर्मप्रसाद उप्रेतीलाई १५९१ मतअन्तरले हराएका थिए । माओवादी तेस्रो स्थानमा आएको थियो । संविधानसभा चुनाव सकिएपछि २०६५ जेठ १५ गते कांग्रेस नेता गुरुङको अध्यक्षतामा बसेको संविधानसभाको पहिलो बैठकबाट औपचारिक रूपमा मुलुक गणतन्त्रमा प्रवेश गर्‍यो । गुरुङले ज्येष्ठ सदस्यका हैसियतबाट संविधानसभाको पहिलो बैठकको अध्यक्षता गर्ने अवसर पाएका थिए । त्यसपछि नेम्बाङ संविभासभाका अध्यक्ष तथा सभामुख चयन भए भने खनाल एमाले अध्यक्ष हुदै प्रधानमन्त्रीको कार्यभार सम्हाल्न सफल भए । इलामका जनताले जिताएपछि नै खनालको ‘भाग्य चम्कन’ पुग्यो । यस्ता परिदृष्यले इलामका तीनै क्षेत्रका जनप्रतिनिधि राष्ट्रिय राजनीतिमा दख्खल राख्न सक्ने अवस्थामा पुगेको स्पष्ट पार्छ र सर्वविदितै पनि छ । तीनै नेताको भूमिकाले राष्ट्रिय राजनीति प्रभावित बन्यो नै । तर, उनीहरुले राष्ट्रिय राजनीतिमा जुन उचाइ लिए त्यसअनुरुप जिल्लालाई त के आफ्नो क्षेत्रलाई समेत वास्ता नगरेको अधिकांश मतदाताको गुनासो छ । उनीहरुमाथि संविधान निर्माणमा पनि प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप लाग्दै आएको छ, खास गरी सभाध्यक्षको जिम्मेवारी निर्वाह गरेका नेम्बाङ र प्रधानमन्त्री रहिसकेका खनालमाथि । त्यसो त उनीहरु सम्मिलित राजनीतिक नेतृत्वले संघीयता कार्यान्वयन हुने गरी नयाँ संविधान जारी नगरी संविधानसभाको अवसान गराएको तीतो यथार्थ पनि हामीसामु छ । यी यस्तै कारणहरुले दोस्रो संविधानसभा चुनावमा खनाल र नेम्बाङ अप्ठेरो स्थितिमा देखिएका छन् । गुरुङ समानुपातिक उम्मेदवार बनेका छन् ।
यसपटक ५९८१६ मतदाता रहेको क्षेत्र नम्बर १ मा खनाललाई कांग्रेसका पूर्वजिल्ला सभापति हिमालय कर्माचार्य र ५१७४७ मतदाता संख्या रहेको क्षेत्र नम्बर २ मा नेम्बाङलाई इलाम कांग्रेसका बौद्धिक तथा प्रखर नेताका रुपमा छवि बनाएका भेषराज आचार्यले कडा टक्कर दिने अनुमान गरिएको छ । त्यही भएर खनाल र नेम्बाङले चुनावी अभियानको धेरै समय घरदैलोमै खर्चिएका छन् । खनालले त इलाममा जित सुनिश्चित नभएपछि सर्लाही क्षेत्र नम्बर १ बाट समेत उम्मेदवारी दिएको चर्चा छ । नेम्बाङ ‘गान्धीवादी’ नीतिका साथ चुनावी क्षेत्रमा खटिरहेका छन् । नेम्बाङनिकट एक स्थानीय नेताले आफूहरु गान्धीको लाइन समातेर चुनावी प्रचारमा रहेको खुलाए । ती नेताको बुझाइमा गान्धी लाइन भन्नाले ‘सात्विक’ तवरबाट चुनाव प्रचार गर्नु अर्थात् विपक्षीको खेदो नखन्नु, पार्टीको यस्तो लाइन बुझाउँदै जनतासँग मत माग्नु । त्यस्तै ५१९९१ मतदाता रहेको क्षेत्र नम्बर ३ मा कांग्रेसबाट पार्टी जिल्ला सभापति केशव थापा र एमालेबाट टेकबहादुर राईबीच मुख्य प्रतिस्पर्धा हुँदै छ । एकीकृत माओवादीबाट क्षेत्र नम्बर १, २ र ३ मा क्रमश: युवकुमार पौडेल, रमेशकुमार लिङ्देन र धीरेन्द्र शर्मा चुनावी मैदानमा छन् । संघीय समाजवादीबाट क्रमश: देवेन्द्रकुमार राई, विनोदकुमार नेम्बाङ, ढालबहादुर गुरुङले कांग्रेस–एमाले नेताहरुलाई चुनौती थपिदिएका छन् ।
खास गरी, पहिचानको मुद्दाका कारण पनि आदिवासी जनजाति बाहुल्य यस क्षेत्रमा खनाल र नेम्बाङलाई चुनौती थपिएको हो । कांग्रेस र एमालेले राज्य पुन:संरचनाअन्तर्गत प्रदेशहरुको निर्माणमा एकै खालको बहुपहिचान र सामथ्र्यलाई आधारका रुपमा प्रस्तुत गरेका छन् । तर, विगतको संविधानसभामा रहेर पहिचानसहित संघीयता आउने गरी संविधान निर्माणमा भूमिका निर्वाह गर्न नसकेको भन्दै यस क्षेत्रका पहिचान पक्षधरले खनाल र नेम्बाङको आलोचना गरेका छन् । पहिचानसहितको संघीयता पक्षधर संघीय समाजवादीलाई समर्थन गर्ने मनस्थितिमा देखिन्छन् । एमाओवादीले पनि पहिचानसहितको संघीयताको मुद्दालाई नै अघि बढाएको भए पनि इलाममा यो पार्टी पहिलो स्थानमै आउने अवस्थामा देखिन्न । इलामका तीनवटै क्षेत्रको चुनावी परिणाम संघीय समाजवादीको उपस्थितिले निक्कै प्रभावित बन्ने देखिन्छ । एकल पहिचानको मुद्दालाई अघि सारेको संघीय समाजवादी मजबुत अवस्थामा रहेको एक नेताको दाबी छ । संघीय समाजवादीका एक नेताले आफूहरुले क्षेत्र नम्बर २ मा कांग्रेसभन्दा एमालेको बढी भोट काट्ने दाबी गरे ।
विभिन्न राजनीतिक दलका गरी क्षेत्र नम्बर १ मा १२, २ मा १३ र ३ मा १४ गरी इलाममा कुल ३९ जना उम्मेदवार चुनावी मैदानमा खडा छन् । जनजाति बाहुल्य यस जिल्लामा साना तथा क्षेत्रीय पार्टीहरुको उपस्थितिले पनि चुनावी परिणामलाई प्रभावित पार्ने अवस्था छ । क्षेत्र नम्बर २ मा धर्मगुरुहरुको ‘आशीर्वाद’ निर्णायक रहदै आएको छ । विगतका चुनावहरुदेखि नै यस क्षेत्रको मतले परिणामलाई प्रभावित पार्दै आएको छ । बाँझो गाविसमा यसपटक ४८८८ मतदाता छन् । त्यसमध्ये गुरु आश्रमस्थल र आसपासका वडा ८ मा ८१३ र ९ मा १३६४ स्थानीयवासी फोटोसहितको मतदाता नामावलीमा समावेश छन् । जिल्लाको कुल मतदाता संख्या १६३५५४ छ भने कुल जनसंख्या २९०२५४ छ ।
[email protected]

प्रतिक्रिया