राष्ट्रसंघको भूमिकाप्रति माओवादी असन्तुष्ट

maobadisकाठमाडौं, २२ कात्तिक । दोस्रो संविधानसभा चुनाव बहिष्कारको लाइनमा रहेको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी संयुक्त राष्ट्रसंघको भूमिकाप्रति असन्तुष्ट देखिएको छ । प्रधानन्यायाधीश पदबाट अन्तरिम चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको राजीनामा तथा चुनावमा सेना परिचालन रोक्नका लागि पहल गरिदिन गुहार मागे पनि राष्ट्रसंघले उल्टै चुनावविरोधी कदम नचाल्न दबाब दिएपछि माओवादी रुष्ट बन्न पुगेको हो ।

भारत, चीन, अमेरिकालगायत अन्तर्राष्ट्रिय समुदायका तर्फबाट राष्ट्रसंघका आवासीय प्रतिनिधि जिमी म्याकगोल्डरिकले बुधबार विज्ञप्तिमार्फत शान्तिपूर्ण चुनावी अभियान रोक्ने कार्य गैरकानुनी भएको उल्लेख गर्दै चुनावविरोधी ३३ दलको १० दिने आमहडताल फिर्ता लिन दबाब बढाएको थियो । अन्तर्राष्ट्रिय समुदायको नेतृत्व गर्दै राष्ट्रसंघका आवासीय समन्वयकर्ता गोल्डरिकले चुनावविरोधी गतिविधि नगर्न दबाब बढाएपछि राष्ट्रसंघसँग माओवादी रुष्ट भएको हो ।
यसअघि संसारभरकै शक्ति पृथकीकरणको सिद्धान्तविपरीत प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाएको भन्दै माओवादीले रेग्मीलाई प्रधानन्यायाधीश पदबाट राजीनामा गराउन दबाबका लागि राष्ट्रसंघ गुहार्दै आएको थियो । त्यसैगरी, सरकारले चुनावको सुरक्षाका लागि नेपाली सेना खटाउने निर्णय गरेपछि त्यसविरुद्ध पनि माओवादीले राष्ट्रसंघ गुहारको थियो ।
माओवादीले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न तथा कूटनीतिक मर्यादाविपरीत अभिव्यक्ति नदिन राष्ट्रसंघलाई भनेको छ । पार्टी उपाध्यक्ष तथा पार्टी विदेश विभाग प्रमुख सिपी गजुरेल बिहीबार विज्ञप्तिमार्फत अन्तर्राष्ट्रिय समुदायले भनेजस्तो हिंसाको धम्कीबाट कसैले चुनाव रोक्ने प्रयास गरेको आफूहरूलाई थाहा नभएको भन्दै हुँदै नभएको स्थितिको परिकल्पना गरेर विज्ञप्ति जारी गरिनु गलत भएको आरोप लगाएका छन् ।
नेपालको आन्तरिक मामिलामा अन्तर्राष्ट्रिय समुदायको हस्तक्षेपको नीति उदांगो भएको टिप्पणी गर्दै उपाध्यक्ष गजुरेलले राष्ट्रिय सहमतिबाट सबै पक्षलाई समावेश गराएर संविधानसभा चुनाव गरिनुपर्छ भन्ने राष्ट्रिय/अन्तर्राष्ट्रियतर्फबाट भइरहेको पहलको उक्त कूटनीतिक विज्ञप्तिले उपहास गरेको जनाएका छन् ।
चुनावमा भाग लिनुलाई लोकतान्त्रिक र बहिष्कार गर्नुलाई लोकतन्त्रविरोधी भन्ने किसिमको विचार व्यक्त गरिएको भन्दै उक्त विचार नै लोकतान्त्रिक मान्यताविपरीत रहेको माओवादीको ठहर छ । ‘कुनै पनि निर्वाचनमा भाग लिने वा बहिष्कार गर्ने दुवै जनताका राजनीतिक अधिकारभित्र पर्छन्,’ उपाध्यक्ष गजुरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कूटनीतिक निकायको विज्ञप्तिको आºनै भनाइ अलोकतान्त्रिक छ ।’
राष्ट्रसंघको अभिव्यक्तिप्रति ३३ दलीय मोर्चाको समेत नेतृत्व गरिरहेका माओवादी सचिव देव गुरुङले पनि आन्तरिक मामिलामा विदेशीले हस्तक्षेप गरेको भन्दै त्यसप्रति विरोध जनाएका छन् । नेपाल सम्वत् ११३४ को अवसरमा कीर्तिपुरको पाँगामा बिहीबार आयोजित चियापान कार्यक्रममा सचिव गुरुङले चुनाव नेपालको आन्तरिक मामिला भएको स्पष्ट पार्दै त्यो ठीक र बेठिक भन्ने अधिकार अन्तर्राष्ट्रिय जगतलाई नभएको प्रतिक्रिया दिए ।

आमहडताल यथावत्
दोस्रो संविधानसभा चुनाव बिथोल्ने गरी चुनावी प्रक्रियाप्रति असन्तुष्ट ३३ दलले घोषणा गरेको आमहडताल यथावत् रहेको माओवादीले जनाएको छ ।
यसअघि चुनावको दिनलाई ध्यानमा राखेर शक्ति सञ्चय गर्ने सोचमा पुगेको माओवादीले २५ कात्तिकदेखि ५ मंसिरसम्म घोषित बन्द यथावत् नै रहेको जनाएको हो । पार्टी प्रवक्ता पम्फा भुसालले बिहीबार विज्ञप्ति जारी गर्दै पार्टीसहित ३३ दलीय मोर्चाले आह्वान गरेको कार्यक्रम यथावत् रहेको उल्लेख गरेकी छन् ।
पार्टी उपाध्यक्ष सिपी गजुरेलले २५ गतेको बन्दपछि पनि सरकार चुनाव सार्न तयार नभए त्यसैदिन ३३ दलको बैठक बसेर थप आन्दोलनको कार्यक्रम ल्याउने बताएका छन् । २५ गते हुने नेपाल बन्दले नै सरकारलाई चुनाव सार्न बाध्य पार्ने ठोकुवा उपाध्यक्ष गजुरेलले गरे । २५ गते नै चुनावको मिति सारिए थप अगाडि बन्द गर्न आवश्यक नै नपर्ने उनको भनाइ छ ।
जनताले १९ दिने जनआन्दोलनका बेला १९ दिनसम्मको बन्द स्विकारेको उल्लेख गर्दै उनले अहिलेको १० दिन स्विकार्दैनन् कि भन्ने आशंका नगर्न आग्रह गरे । ‘हामी हतियार उठाउँदैनौँ र बन्द हिंसात्मक बनाउँदैनौँ,’ उनले भने, ‘मतदानका दिन मतदातालाई कुनै पनि हालतमा मतदान केन्द्रसम्म आउन भने दिँदैनौँ ।’

प्रतिक्रिया