लोकतन्त्रवादीको पक्षमा लहर : कोइराला

Sushil-Koiralaकाठमाडौं, २० कात्तिक । कांग्रेसका सभापति सुशील कोइरालाले लोकतन्त्रवादी शक्तिको पक्षमा चुनावी लहर बढ्दै आएको बताएका छन् ।

महाराजगञ्जस्थित आफ्नै निवासमा आज (आयोजित) कार्यक्रममा सभापति कोइरालाले आगामी चुनावमा लोकतन्त्रवादीको विजयी हुने बताए । उनले चुनावलाई असर पर्ने कुनै पनि कार्य नगर्न एमाओवादीलाई आग्रह पनि गरे ।

‘निर्वाचनको माहोल हेर्दा अहिले लोकतन्त्रवादीको पक्षमा लहर आएको छ,’ उलने भने, ‘गाउँगाउँमा जनतामा चेतना आएका कारण यसपटक लोकतन्त्र र लोकतन्त्रवादीको पक्षमा लहर आएको हुनुपर्छ ।’

उनले लामो समयदेखि स्थानीय तहको निर्वाचन हुँन नसक्दा विकास निर्माणका काममा असर परेको बताए । ‘संविधानसभा निर्वाचनपछि स्थानीय निकायको पनि निर्वाचन हुन्छ,’ उनले भने ।

सभापति कोइरालाले नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य त्यागी नेता भएको बताए । ‘नेकपा–माओवादी अन्तर्राष्ट्रिय समुदायसमक्ष शान्तिपूर्ण बहिष्कारको पक्षमा उभिने भनेकाले सोहीअनुरुप क्रियाकलाप गर्नु पर्छ,’ उनले भने, ‘कुनै किसिमको द्वन्द्व निम्त्याउने काम गर्नु हुँदैन ।’

उनले जनता जागेर देशव्यापी ‘इलेक्सन फिभर’ आएको पनि बताए । बहिष्कारको कुरा गर्नेलाई जनताले नै बहिष्कार गर्ने कोइरालाको भनाई छ ।

‘चुनाव चाहियो भनेर जनता जागेका छन्,’ उनले भने, ‘जनतामा आएको उत्साहले देशव्यापी ‘इलेक्सन फिभर’ छ ।’ उनले चुनाव नसर्ने दोहर्‍याए ।

प्रतिक्रिया