वैदेशिक रोजगारमा आर्थिक चलखेल

वैदेशिक रोजगार विभागका व्यक्तिगत अन्तिम श्रम स्वीकृत शाखामा मध्यस्तकर्ताले कर्मचारीसँग मिलेर काम छिटो गरिदिने भन्दै पैसाको चलखेल बढाएको खबर सुन्नमा आएको छ । विदेशमा रहेका नेपाली कामदार विभिन्न देशबाट दसँै मनाउन आउँदा श्रम गर्न विदेश फर्कने भएकाले विभागमा भिड बढेसँगै आर्थिक चलखेल बढेको बुझिन्छ ।
विभागमा बिहान ६ बजेदेखि लाइनमा बसेपछि खटिएका नेपाल प्रहरीले आफ्नो चिनजानका सेवाग्राहीलाई नै नराखी काम सकिदिने र मध्यस्तकर्ताले पैसा लिएर दर्जन पासपोर्टको काम एकै पटक गरेका कारण सेवाग्रहीले समयमा काम नसकेको गुनासो आइरहेको छ । विभागमा व्यक्तिगत अन्तिम श्रम स्वीकृति लिन जाँदा सम्बन्धित मानिसले नै जानुपर्ने भए पनि अहिले विभागका कर्मचारीले त्यसको कुनै वास्ता नगरेको सेवाग्राहीको आरोप छ ।
एक वर्ष युएईमा काम गरेर एकमहिने छुट्टी मनाउन स्वदेश फर्किएका एक व्यक्तिले भने, ‘बिहान ६ बजेदेखि लाइनमा बसेको, नौ बजे एक जना आएर १५ सय दिने भए १ बजेसम्म सबै काम सकिन्छ, तपार्इं लाइनमा बसे बेलुका ५ बजेसम्म पनि सकिँदैन भने मैले पैसा दिइनँ ।’ अरू केही सेवाग्राहीसँग १५ बाट सुरु गरेर ५ सयसम्म लिएर काम गरेका छन् । मध्यस्तकर्ताबाट काम गराए छिटो हुने र आफँै लाइनमा बस्दा समयमा काम नसकिने त्यहाँको नियमित प्रक्रिया बनेको छ ।
यस्तै मर्कामा परेका श्रमका लागि विदेश जाने अन्य व्यक्ति पनि बिहान साढे ६ बजेदेखि लाइनमा बसेको ११ बजे प्रहरीले हातमा भएको कुपन खोस्ने, सम्बन्धित व्यक्तिले कुपन माग्दा अब कुपन चाहिँदैन लाइनमा बसेर आइज भन्ने जवाफ दिने गरेको, अरूको हातमा कुपन छ, आफ्नो कुपनचाहिँ किन खोसेको ? मेरो बेलुका ७ बजे कतारको टिकट छ, भन्दा उल्टै अपशब्द बोलेर ढाड र पिँडुलामा लाठी चार्ज गरेका घटनासमेत सेवाग्राहीले व्यक्त गर्न थालेका छन् । प्रहरीले कुपन आफ्नो मान्छेलाई दिएर लाइनमै नराखी कुपन देखाएर काम सकेर पठाएको पनि थाहा हुन आएको छ । प्रहरीका सिपाहीदेखि असइसम्मले व्यक्तिगत शाखामा बसेर आफ्ना मान्छेको काम चाँडो सकेर पठाउने र पैसा लिएर दर्जनभन्दा बढी पासपोर्ट बोकेर जाने मध्यस्तकर्तालाई अगाडि जान दिएर लाइनमा बस्नेको काम ढिलो भएका गुनासा
प्रशस्त मात्रामा आउन थालेका छन् ।
विभागमा सेवाग्रहीको चाप बढेपछि विभागको वरिपरि रहेकाले समस्या परेको छ । विभागमा आउने सेवाग्राहीको समस्यालाई ध्यान दिँदै टोकनबाट काम गर्न सुरु गरे पनि त्यसले समस्याको समाधान हुन सकेको छैन । बैंकमा १ बजेसम्म मात्र रसिद काट्ने र काटेको रसिदको काम त्यही दिनमा सक्ने व्यवस्था मिलाउने पहल भएको थाहा भएको छ । कर्मचारीको कमजोरीका कारण सेवाग्रहीले सर्वसुलभ सेवा नपाएमा त्यसको छानबिन गरी समस्याको समाधान गर्ने भनिए पनि अहिलेसम्म त्यसो हुन सकेको पाइँदैन । विभागमा आएका सेवाग्रहीले विभागमा कार्यरत कर्मचारी प्रहरी प्रशासनले आफ्नो आचारण सुधार्नुपर्ने, विभागमा हुने ढिलासुस्ती हटाउने, विभागमा रहेका प्रहरीले अपशब्द नबोल्नु, बडापत्रअनुसार काम गर्न तथा प्रशासनिक सुधारमा सरकारले ध्यान दिएमा सेवाग्राहीलाई मर्कामा पर्नुपर्ने थिएन । हाम्रो जस्तो युवा बेरोजगारी फस्टाइरहेको मुलुकबाट श्रमका लागि विदेश जानेलाई सर्वसुलभ र सहज तरिकाले पठाउने प्रक्रियाको थालनी गर्नुपर्छ । रेमिटेन्सको भरमा चलेको नेपालको अर्थव्यवस्थालाई धान्ने श्रमिकलाई दु:ख दिने प्रक्रिया तुरुन्तै बन्द गरिनुपर्छ । अन्यथा यसमा विकृति आउन सक्छ ।

प्रतिक्रिया