वैद्यहरूलाई ल्याउने हो : प्रचण्ड

Puspakamal-Dahal-10काठमाडौं, १६ कात्तिक । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मोहन वैद्यसहितका माओवादी नेताहरूलाई आगामी संविधानसभामा मनोनित गर्न सकिने बताएका छन् । शुक्रबार पोखरामा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले भने ‘मन्त्रिपरिषद्ले समझदारीमा मनोनित गर्ने २६ सिट विपक्षमा रहेका दलहरूलाई दिन सकिन्छ,’ उनले भने, ‘उनीहरूले उठाएका एजेण्डा सम्बोधन गर्न यो मात्रै विकल्प छ ।’ निर्वाचनका विषयमा कुनै शंका नगर्न आग्रह गर्दै अध्यक्ष दाहालले मंसिर–४ को संविधानसभा निर्वाचन कुनै हालतमा नरोकिने जीकिर गरे ।

पोखरामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले नेकपा–माओवादीको बहिष्कारले निर्वाचनमा कुनै असर नपर्ने दाबी गरे । ‘निर्वाचन सार्न सम्भव छैन,’ उनले भने । उनले नयाँ संविधान बनाउन अब बन्ने संविधानसभामा ६ महिना मात्रै सहमतिका निम्ति प्रयास गर्ने बताए । सो अवधिमा सहमती नभएमा मतदान प्रक्रियाबाट संविधान जारी गर्ने आफ्नो योजना रहेको उल्लेख गरे ।
एमाओवादी अध्यक्ष दाहालले आफूलाई हराउन अधिकांश पार्टीहरूले मोर्चाबन्दी गरेको दाबी गरे । ‘मलाई हराउन गरिएको मोर्चा बन्दीले कसैलाई फाइदा हुँदैन,’ उनले भने, ‘अरु दलका ठूला नेताहरू हार्दै छन् भन्ने सूचना पाएको छु ।’ दाहालले आचारसंहिता पालना गर्न आफू प्रतिवद्ध रहेको बताए । ‘मिल्दासम्म गाडी प्रयोग गरेको छु,’ उनले भने, ‘नमिल्ने ठाउँमा मात्रै हेलिकप्टर प्रयोग भएको छ ।’ आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले बिहीबार दाहाललाई पत्र पठाई त्यसो नगर्न सचेत गराएको थियो ।

प्रतिक्रिया