४० लाख घर जोखिममा

Bhukampaकाठमाडौं, १५ कात्तिक । नेपालका कति घरहरु भूकम्पको जोखिममा होलान् ? ५० हजार, एक लाख, दुई लाख वा पाच लाख । तर शहरी विकास तथा भवन निर्माण विभागको तथ्यांक भन्छ, नेपालका ४० लाख भन्दा बढि घर भूकम्पको खतरामा छन् ।

हाल नेपालमा करिव ४५ लाख घरधुरी रहेको अनुमान गरिएकोमा विभागले त्यसको ९० प्रतिशत भन्दा बढि घर इन्जिनियरिङ प्रविधिको प्रयोग र डिजाइन विनै बनेको जनाएको छ । इन्जिनियरिङ प्रविधिको प्रयोग र डिजाइन विनै बनेका घर पूर्णतया:असुरक्षित हुन्छन् र कुनै पनि बेलाको भूकम्पले ती घर तहसनहस हुन सक्छन् । ‘नेपालका ९० प्रतिशत भन्दा बढि घर इन्जिनियरीङ प्रविधि विनै बनेका छन् त्यसैले तीनिहरु भूकम्पको सबैभन्दा बढि जोखिममा छन्’ विभागका एक कर्मचारीले भने ‘यस्तो बेला आठ रेक्टर स्केल बराबरको भूकम्प आयो भने पनि विनास निश्चित छ । सन् २०११को जापानको जत्रो नौं रेक्टर स्केल बढि त टाढाको कुरा ।’ विभागले पछिल्लो पटक सन् २००३ मा गरेको हाउजिङ सर्भे अनुसार काठमाडौं उपत्यका ९० प्रतिशत र उपत्यका बाहिरका ९५ प्रतिशत घर इन्जिनियरिङ प्रविधि विना बनेका छन् ।
मुलुकका ९० प्रतिशत भन्दा बढि घर इन्जिनियरिङ प्रविधि विनै बनिरहेको यथार्थ आईरहादा हालसालै बनेका भवन समेत यता राष्ट्रिय भूकम्प संहिता २०६० को राष्ट्रिय भवन संहिता २०५ अनुसार नबनेको विभागको दावी छ । जसले गर्दा भूकम्प आइहालेमा हुने क्षति बढ्न सक्छ ।
प्रावधान हेर्दा राष्ट्रिय भूकम्प संहिता २०६० को राष्ट्रिय भवन संहिता २०५ अनुसार भूकम्पको संभावित जोखिमबाट बच्न पिलरवाला घर बढिमा तीन तला(११ मिटर अग्लो) सम्म बनाउन सकिन्छ । जसमा पिलरहरु दुबै दिशामा लाईनमा हुनुपर्ने, झ्याल र ढोकाको तल पट्टि डन्डीको सिल ब्याण्ड र माथी पट्टि डन्डीकै लिन्टल ब्याण्ड अनिवार्य राख्नुपर्ने लगायतका प्रावधान छन् ।
त्यसैगरि गारोवाला भवन निर्माण गर्दा सिमेन्ट मसलाको गारो भएमा बढिमा तीन तला, अधिकतम नौ मिटर अग्लो र सिमेन्ट मसलामा ढुङ्गा वा माटो मसलामा इट्टाको गारो भएमा बढिमा दुई तला र अधिकतम घरको उचाई ६ दशमलव २ मीटर अग्लो मात्रै बनाउन पाइने लगायतका विभिन्न प्राविधिक शर्तहरु छन् । ती भन्दा अग्ला अस्पताल वा कोलोनीहरु बनाउन परेमा प्राविधिकबाट अनिवार्य डिजाइन गराउन पर्ने व्यवस्था छ ।
यति धेरै भवन जोखिममा रहेको अवस्थामा नेपालमा जुनसुकै बेला अहिले सम्मकै सबैभन्दा ठूलो महाभूकम्प आउन सक्ने राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रकाअनुसार नेपालको गोरखा देखि भारतको देहरादुन बीचको क्षेत्रमा पछिल्लो पााच सय वर्षमा कुनै पनि भूकम्प गएको छैन र त्यसको तल जमिन मूनी ८ रेक्टर स्केल बराबरको शक्ति संचय भैसकेको छ ।
गोरखा र देहरादुन बीचमा ८ रेक्टर स्केल भन्दा बढिको शक्ति संचित रहेको र त्यो कुनै पनि बेला निस्कन सक्ने बताइएको छ । केन्द्रले पृथ्वीको माथील्लो एक सय किलोमिटर तल सम्मको इन्डियन प्लेट करोडौं वर्षदेखि वार्षिक चार सेन्टिमिटरका दरले उत्तर तिर सरिरहेकोले हिमाली क्षेत्रमा दबाब परे पनि लामो समय सम्म ठूलो भूकम्प नजाादा कुनै पनि बेला हाल सम्मकै सबैभन्दा ठूलो भूकम्प जान सक्ने संभावना औंल्याएको छ ।
नेपालमा वि.स. १२१८ मा राजा अभय मल्लको पालादेखि यता अहिले सम्म १० ओटा महाभूकम्प आईसकेका छन् भने नेपालमा प्रत्येक ७५ देखि ८० वर्षमा एउटा महाभूकम्प जाने गरेको छ । नेपालमा एक पटक महाभूकम्प आए पछि ढिलोमा त्यसको ८० वर्ष भित्र अर्को महाभूकम्प आउने गरेको रेकर्ड छ । नेपालमा २ माघ १९९० मा संखुवासभाको चैनपुर केन्द्र गरेर गएको ८ दशमलव ३ रेक्टर स्केलको भूकम्पले काठमाडौं उपत्यकाका चार हजार दुई सय ९६ सहित नेपालभरका आठ हजार पााच सय १९ जनाको ज्यान लिएको थियो । त्यसबेला बचेखुचेका घर सहित अहिले सम्म बनेका ९० प्रतिशत बढि घर तथा भवन कुनै निश्चित मापदण्ड नभइ मनोमानी ढंगले बनेका छन् ।
हाल काठमाडौं उपत्यकामा सात लाख सम्म भवन रहेको अनुमान गरिरहादा राष्ट्रिय भूकम्प संहिता २०६०, काठमाडौं महानगरपालीका, ललितपुर उपमहानगरपालीका र धरान नगरपालीकामा लागु गरेको बताइएपनि यहाका सबैजसो भवन असुरक्षित रहेको भवन निर्माण विभागले जनाएको छ ।
महाभूकम्प आएमा उपत्यकामा हुने अनुमानित क्षती हाल देशभर ४५ लाख भवन अनुमानित रहेकोमा ९० प्रतिशत अर्थात् ४० लाख ५० हजार भत्कन सक्ने । काठमाडौं उपत्यकामा मात्रै सात लाख भवन रहेकोमा ९० प्रतिशत अर्थात् ६ लाख ३० हजार भत्कन सक्ने । मुलुकभरका ६० प्रतिशत घर पूर्ण रुपमा क्षतीग्रस्त हुनेछन् । रातीको बेलामा भूकम्प आएमा पाच लाख भन्दा बढि मानिस मर्न सक्ने र अरु जुनसुकै बेला भूकम्प आएमा तीन लाख भन्दा धेरै मर्न सक्ने । तत्काल उद्दार अपनाएर र महामारीका कारण झण्डै एक लाख थप मर्न सक्ने ।
भूकम्प किन जान्छ ?
पृथ्वीको माथिल्लो भाग (करिब ८० देखि १०० किलोमिटर मोटाइ भएको) धेरै टुक्रामा विभाजित छ । यी टुक्राहरुलाई टेक्टोनिक प्लेट भन्दछन् । यी टेक्टोनिक प्लेटहरु मुनि रहेको एस्थेनोस्फेयरमा समुद्रमा डुंगा तैरे जस्तै तैरिरहेका छन् र निश्चित दिशामा हिाडीरहेका छन् । यसरी हिड्ने क्रममा यस्ता प्लेटहरु कही एक अर्काबाट टाढा गइरहेका छन्, कहि नजिक आएर ठोक्किएका छन् वा एक प्लेट अर्कोको मुनि घुसिरहेको छ भने कहि एक अर्कोमा घोटिन्छन् ।
यसरी प्लेटहरु ठोकिने, एक प्लेट अर्कोको मुनि घुस्ने वा प्लेटहरु घोटिने क्षेत्रहरुमा दवाब सृजना हुनपुग्छ । केहि समय सम्म यस्तो दवाब सञ्चीत भएर रहन्छ तर जब यस्तो दवाब उक्त क्षेत्रमा रहेका चट्टानको इलास्टिक लिमिट भन्दा बढी हुन पुग्छ तव पृथ्बीको माथिल्लो तहमा रहेका चट्टानहरुमा नया चिराको सृजना हुन्छ अथवा पुराना चिराहरुमा विस्थापन हुन्छ ।
यसरी चिराहरुको सृजना वा पुराना चिराहरुमा हुने विस्थापनको क्रममा सयौ बर्षदेखि संचित उर्जा भूकम्पका तरंगहरुको रुपमा प्रसारण भएर तथा केन्द्रबिन्दुको क्षेत्रमा तापशक्ति उत्पन्न भई नास हुन पुग्छ । साधारण शब्दमा भन्नुपर्दा टेक्टोनिक प्लेटहरुको बिचमा हुने घर्षणको कारणले संचित उर्जा एक्कासी विसर्जन हुदा भूकम्पको उत्पत्ती हुन्छ ।

प्रतिक्रिया