नेपाल सम्वतको प्रारम्भ र इतिहास

Dirgha-Raj-Prasai

दीर्घराज प्रसाईं

कात्तिक शुल्क प्रतिपदा अर्थात् गोबर्धन पूजाका दिन नेपाल सम्वत्को उठान भएको हो । नेपाल सम्वत् नेवारको मात्र होइन, नेपालको साझा तथा मौलिक सम्वत् हो । नेपाल सम्वत्को उत्पति र यसका प्रणेता को हुन् भन्ने विषयमा अनेकौँ प्रमाण छन् । तथापि तथ्यहरूलाई बङ्गयाएर नेपाल सम्वत्लाई जातीय सम्वत्को रूपमा परिणत गर्न चाहेकाले नेपाल सम्वत्का प्रणेता राधवदेव हुन् कि शंखधर साख्या हुन् भन्ने कुरामा तानातान् छ । तर एतिहासिक प्रमाणहरूलाई सबैले मान्नु बाहेक कुनै पनि तथ्यविहीन तानातान्को आधारमा सत्यलाइ नकार्न सकिदैन । नेपालको इतिहासमा लगभग विक्रम सम्वत् ७८० देखि ९३५ वर्षसम्म प्रमाणित ऐतिहासिक सामाग्रीहरू भेटिएका छैनन् । इतिहासको त्यो खाली समयलाई कालोयुग भनिन्छ । त्यो डेढ शताब्दिको समयमा नेपालमा मात्र अडमुण्डि नाम गरेका राजाले शासन गरेको र त्यसताका कास्मीरका हिन्दु राजा जयापिडले नेपाललाई आक्रमण गर्दा नेपालका अडमुण्डि नामका राजाले गण्डकी थुनी जयापिडका सेनालाई बगाईदिएका र जयापिडलाई कैद गरेको कुरा मात्र डेडसयभन्दा बढी बर्षभित्रको इतिहासमा उल्लेख छ । त्यसबेला लिच्छविवंशलाई कुनै आक्रमणकारी, भोट वा कुनै अन्य राजबंशले हडपेको हुनसक्छ । तथ्यले भन्छ– भोटमा स्रोङचंङगम्बोका सन्तानहरूको बीचमा आपसी झगडा भएर गडबड मच्चिएको मौकामा लिच्छविवंश कै राजा राघवदेवले लिच्छविवंशलाई स्वतन्त्र गराई आफू राजा भएका बेलादेखि नेपाल संबत् उठान भएको हो । यसहिसाबले नेपाल सम्वत् नेपालको इतिहासको निर्माणमा एउटा प्रमाण मानिन्छ ।
नेपाल सम्वत्को कसरी उत्पति भयो भन्ने बारेमा विभिन्न विद्वानहरूले लेखेका छन्– फ्रान्सेली विद्धान सिल्यान लेभीले नेपाल ईशाको सातौं शताब्दीदेखि नवौं शताब्दीसम्म त्यससमयको वृहत भोटको अधीनमा रहेको र भोटका तत्कालीन राजाको अत्याचारी नीति विरुद्ध त्यहाँका जनताले विद्रोह गरी साम्राज्य कमजोर हुन पुगेको अवस्थामा नेपाल भोट सम्राज्यबाट स्वतन्त्र भएको र त्यसैको संझना स्वरूप इ.सं. ८७९–८८० तिर नेपाल सम्वत् चलेको भनेका छन् । नेपाल सम्वत्को प्रचलनको सम्बन्धमा अर्को एउटा प्रभावशाली देखिने तर्क खोजकर्ता प्रो. वेण्डालको वंशावलीसँग आवद्ध देखिन्छ । वेण्डालले फेला पारेको वा संकलन गरेको वंशावली अनुसार लिच्छवीकालको उत्तरार्धका राजाहरूको नामावली सूचिमा राजा राघवदेवको नाम निकै महत्वपूर्णकासाथ उल्लेखगरेको पाइन्छ । यिनै राजा राघवदेवको पालादेखि नेपाल सम्वत्को सुरु भएको हो भन्ने राय इतिहासकार कलिंधमको छ जो निकै तर्कसंगत देखिन्छ । उनको समय गणनाअनुसार राजा राघवदेवको शासनकाल इ.सं. ८८० तिर पर्दछ र नेपाल सम्वत्को सुरुवात त्यही समयतिर भएको हुनाले विद्धान कलिंघमको भनाईमा कुनै भ्रम रहन्न भन्ने राय इतिहासविद् वालचन्द्र शर्माले पनि व्यक्त गर्नुभएको छ ।
इतिहासकार बाबुराम आचार्यले ‘चीन,तिब्बत र नेपाल’ पुस्तकमा लेखेका छन्– ‘नेपाल सम्वत्को उठान राजा राघवदेवको समयमा भएको हो भन्ने निश्चित भएको,स्मारकस्रूप यिनले नैं ‘पशुपतिभट्टारक–सम्वत्को नामले नयाँ सम्वत्को आरम्भ गराएका, पछि यस सम्वत्सँग शंखधरको नाम जोडिन थालेको पाइन्छ, तर शंखधर संवन्धी अलौकिक र अतिरञ्जित किंवदन्तीहरू मथि भने विश्वास गर्न सकिदैन ।’ इतिहासका अर्का विद्धान धनवज्र वज्राचार्यले पशुपतिमा विभिन्नरूपले सम्मान व्यक्त गर्ने प्राचीन परम्पराअनुसार राजा राघवदेवले पशुपतिको सम्मानमा यो सम्वत् चलाएका हुन् भन्नुभएको छ । त्यसैगरी एकजना इटालियन विद्धान लसियानो पेट्रेकद्वारा प्रकाशित गोपाल वंशावलीमा राजा राघवदेवले पशुपतिलाई संकेत गरेर नै सम्वत् चलाएका हुन् भन्ने उल्लेख गरिएको छ । सम्भवत: यसैकारण गोपाल वंशावलीमा राजा राघवदेवलाई ‘पशुपति भट्टारक सम्वत्सर’ भन्ने उपाधि दिएको पाइन्छ । गोपाल वंशावलीमा उल्लेख छ– ‘राजा श्री राघवदेव वर्ष ६३ श्री पशुपति भट्टारके संवत्सर प्रवृत्ति:कृता:’ । इतिहासकार कृष्णबहादुर उदय लेख्छन् —‘राजालाई ‘नारायण‘ भन्ने प्रचलन र संस्कृति छ । शंखधर,चक्रधर भनेका उनै नारायण अथवा बिष्णु हुन् । त्यसैले शंकखधर भनेकानैं राघवदेव हुन् । २०६४ कार्तिक २७ गतेको गोरखापत्रमा इतिहासकार के.वी. उदय लेखेका छन्– ‘राजा राघवदेवको समयमा शंखधर भन्ने पूँजीवाल काठमाण्डौंमा थिए भन्ने प्रमाण भेटिदैन ।’
नेपाल सम्वत्को उठान सम्बन्धमा अर्का थरीका विद्धानहरूको भनाई छ– ज्योतिषीले भनेको महुर्तमा विष्णुमति नदीको दोभानबाट झिकेर ल्याएको बालुवा सुन हुन्छ भन्ने सुनेर भक्तपुरका राजा आनन्द मल्लले बालुबा बोक्न भरिया पठाए । उता शंखधरले भरियाहरूले झिकेर लगिरहेको बालुवा आफ्नो घरमा लगी खन्याउन लगाएर अर्को बालुवा राजाकोमा लान लगाए । बालुबा सुन भयो । सुन भएको बालुवा बेचेर शंखधरले कान्तिपुर र भक्तपुरका जनताको ऋण तिरीदिएको संझनामा नेपाल सम्वत् प्रचलन भएको हो भनिन्छ । त्योयुगमा राजाले झिकाएको बालुवालाई एउटा शुद्र व्यापारीले राजाको आँखा छलेर काम गर्ने आँट कदापि गर्न सक्तैन र त्यो बेला बालुवा ल्याउने भरियाहरूले राजाको कुरा छोडेर एउटा शुद्र ब्यापारीको कुरा मानेर राजाको आज्ञालाई धोका दिने कुरा आउँंदैन र बालुवा सुनमा परिणत भएको कुरा पत्याउन सकिदैन । इतिहासविद् वैकुण्ठप्रसाद लाकौलले पनि लेख्नुभएको छ– ‘नेपालको इतिहासमा अन्धयुग ठानिएको मध्यकालीन इतिवृत्त बारे– गोपाल वंशावली जति प्रमाणित ग्रन्थ अरु छैन भन्ने कुरा निर्विवाद भइसकेको छ । यी सबै परिवन्दले नेपाल सम्वत् राजा राघवदेवको पालामा प्रचलनमा आएको सिद्धहुन्छ ।’ इतिहासविद् दिनेशराज पन्तले उल्लेख गरेका छन् –‘शक सम्वत्, नेपाल सम्वत् भन्दा नेपालमा अघिपछि चल्दै आएको विक्रम सम्वत्ले नेपालका टुक्रिएका ससाना ५४ बटै राज्यमा जुन ब्यापकता पायो त्यो ब्यापकता माथि उल्लेखित सम्वत्हरू भन्दा निक्कै बढीछ । स्वयंम् काडमाण्डौं, पाटन, भक्तपुरमा पनि यसको निकै प्रयोग भएको पाइन्छ । त्यसमा पनि भक्तपुरमा विक्रम सम्वत्को ज्यादै प्रभाव छ ।’
पशुपतिनाथको दक्षिण ढोका उन्मुक्त भैरवको ठीक पश्चिम तर्फ धेरै राजाहरूको मूर्तिछ र त्यहीं पहिलो, शंख हातमा लिएको शिलामूर्ति छ । त्यसैलाई शंखधर भनिएको छ । तर त्यो शंखधर होइन । पृथ्वीमा पानी नपरेर हाहाकार भएपछि राजा भगीरथले महादेव र गंगा माताको तपस्या गरेर पानी मागेको अवस्थाको चित्रण हो । लिच्छविकालदेखि कतिपय हिन्दु देवी देवताका मन्दिर र मूर्ति र धाराहरूका अगाडि पछाडि शंख धारण गरिएका मूर्तिहरू राख्ने प्रचलन रहिआएको छ– (योगी नरहरिनाथ) । शक सम्वत्को उठान भारत सम्राट कनिष्कबाट भएको हो । भारत स्वतन्त्र भएपछि मुगल सम्राज्यदेखि निष्क्रिय भइसकेको शक सम्वत्लाई भारतका प्रधानमंत्री जवाहरलाल नेहरूले आफ्नो मौलिक सम्वत् भनी सन् १९५७ देखि शुरु गराए । तर, शक सम्वत्मा बर्षमा ३५४ दिनमात्र हुनेहुँदा व्यवहारिक नभएर प्रचलन हुनसकेन र भारतमा इस्वी सम्वत् नैं चलनमा ल्याइयो । नेपाल सम्वत् पनि बर्षमा ३५४ दिन हुने हँदा व्यवहारिक हुन नसकेको हो । जेहोस् विक्रम सम्वत् तथा नेपाल सम्वत् दुबै नेपालमा मौलिक सम्वत् हुन् । यही कार्तिक १८ गतेदेखि नेपाल सम्वत्को ११३४ नयाँबर्ष प्रारम्भ हुँदैछ । कार्तिक शुक्ल प्रतिपदाको दिनमा नेपाल सम्वत्को नयाँबर्ष ११३४ प्रारम्भ हुने र त्यही दिन नेवार जातिको म्ह: पुजा पनि हुनेहँदा नेपाल सम्वत्लाई नेवारहरूले आफ्नै सम्वत्को रूपमा महत्व दिन्छन् । यसरी परम्परागत सांकृतिक चाड–पर्वको अनुशरण र मान्यतामा नेपालमा नेवार जातिको अग्रस्थान छ । नयाँबर्ष ११३४ को उपलक्षमा हामी सबैले सबै नेपालहरूमा सुख–समृिद्ध, एकता तथा सुखशान्तिको लागि हार्दिक शुभकामना साटासाँट गरौं ।

प्रतिक्रिया