‘निष्पक्ष पर्यवेक्षण गर’

काठमाडौं, १५ कातिक । प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले आगामी संविधानसभा निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न पर्यवेक्षकको भूमिका पनि महत्वपूर्ण हुने बताए । प्रमुख आयुक्त उप्रेतीले सम्पूर्ण पर्यवेक्षकलाई निष्पक्ष बन्न पनि आग्रह गरे । आमनिर्वाचन पर्यवेक्षण समिति नेपाल(जियोक)द्वारा बिहीबार आयोजित कार्यक्रममा प्रमुख आयुक्त उप्रेतीले यसपटकको निर्वाचनमा देशभरि ७४ हजार पर्यवेक्षक कार्यस्थलमा खटाउने तयारी भएको जानकारी दिए । खटिएका पर्यवेक्षकबाट स्वतन्त्र र निष्पक्ष पर्यवेक्षण भए चुनाव शान्तिपूर्ण र स्वच्छ हुने उप्रेतीले दाबी गरे ।

प्रमुख निर्वाचन आयुक्त उप्रेतीले संविधानसभा निर्वाचको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए । उप्रेतीका अनुसार तिहारलगत्तै दुई लाख १५ हजार कर्मचारी देशभरिका निर्वाचन क्षेत्रमा खटिनेछन् । मतदाता परिचयपत्र वितरण गर्ने तयारी पनि भइरहेको उप्रेतीले जानकारी दिए । नेकपा–माओवादीको बहिष्कारतर्फ इंगित गर्दै प्रमुख निर्वाचन आयुक्त उप्रेतीले सुरक्षालगायत विषयमा केही चुनौती भएको स्विकारे । प्रमुख आयुक्त उप्रेतीले भने, ‘मतदान गर्ने नागरिकको लोकतान्त्रिक अधिकारलाई कसैले वञ्चित गर्न पाउँदैन, त्यसका लागि राज्यले शान्ति–सुरक्षाको प्रत्याभूति दिनुपर्छ ।’ निर्वाचनको विधि र प्रक्रियाअनुसार मतदान भए/नभएको पर्यवेक्षण गर्न पनि पर्यवेक्षकलाई उप्रेतीले आग्रह गरे । ‘विदेशमा निर्वाचनको अवलोकन मात्रै गर्ने प्रावधान रहे पनि हाम्रो देशमा लोकतन्त्र संस्थागत भइनसकेका कारण पर्यवेक्षण गर्नुपर्ने अवस्था विद्यमान छ,’ उप्रेतीले जिकिर गरे । कार्यक्रममा जियोकका अध्यक्ष हिमालयशमशेर राणाले मुलुकमा आचारसंहिता उल्लंघनका घटना बढ्दै गएकोतर्फ निर्वाचन आयोगले विशेष ध्यान दिनुपर्ने बताए । सोही कार्यक्रममा प्रा. चिरञ्जीवी खनालले निष्पक्ष, स्वतन्त्र र भयरहित रूपमा निर्वाचन सम्पन्न गराउन पर्यवेक्षण र मिडियाको भूमिका थप महत्त्वपूर्ण हुने बताए ।

प्रतिक्रिया